भर्खरै :

सिरियामा अस्सदको पुनः विजय : पश्चिमाहरूको गालामा थप्पड

काठमाडौँ, १६ जेठ । पश्चिम एसियाली राष्ट्र सिरियामा भर्खरै सम्पन्न राष्ट्रपति निर्वाचनमा त्यहाँका राष्ट्रपति बशर अल अस्सद अत्यधिक बहुमतकासाथ पुनः सात वर्षका लागि चौथोपटक निर्वाचित हुनुभएको छ । गएको बुधबार सम्पन्न निर्वाचनमा अस्सदलाई खसेको कुल मतको ९५.१ प्रतिशत मत मिलेको थियो । उहाँलाई निर्वाचनमा चुनौती दिएका दुईजना उम्मेदवारहरू महमुद अहमद मारीलाई ३.३ प्रतिशत र अब्दुल्लाह सालोम अब्दुल्लाहलाई १.५ प्रतिशत मत प्राप्त भएको थियो ।
सिरियामा वैधानिकरूपमा १२ वटा राजनीतिक पार्टीको अस्तित्व रहे पनि सिरियाको सत्ता त्यस देशको स्वाधीनतापछि देखि नै सिरयाली अरब बाथ पार्टीको कब्जामा रहँदै आएको छ । बाथ पार्टीले सिरियाली संसद्मा प्रतिनिधित्व गर्ने अरू राजनीतिक पार्टीहरूलाई पनि सरकारमा भागिदार बनाउँदै आएको छ । अरब स्प्रिङ्गका नाममा अरू अरब देशहरूमा जस्तै सिरियामा पनि बाथ पार्टीको सरकार हटाएर आफ्ना कठपुतलीहरूलाई स्थापित गर्न १० वर्ष अगाडि पश्चिमाहरूले गर्न लगाएको तथाकथित आन्दोलन र गृहयुद्ध लगभग असफल भइसकेको छ । सिरियामा सत्ता परिवर्तनको खेलमा असफल भएका संरा अमेरिका र पश्चिमा राष्ट्रका शासकहरू सिरियाको सफल निर्वाचन र अस्सदको शानदार जीतपछि झन् बढी छटपटीमा परेका छन् ।
पश्चिमा देशहरूको शरणमा रहेका तथाकथित सिरियाली विपक्षीहरूले निर्वाचनलाई पाखण्ड भनेका छन् । संरा अमेरिका र युरोपेली देशहरूले निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको दावी गरेका छन् । तर, अरब लिग र स्वतन्त्र निर्वाचन पर्यवेक्षण संस्थाहरूले निर्वाचन अत्यन्त शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रजातान्त्रिक ढङ्गले भएको र सिरियाली जनताले अत्यन्त उत्साहपूर्वक मतदान गरेको जनाएका छन् ।
सिरियाली सरकार र निर्वाचन आयोगले मतदान भन्दा अगाडि नै पश्चिमा शासकहरूका प्रतिक्रिया आफूहरूका लागि शून्य सरह भएको र सिरियाली आफ्नै देशको विशेषतासहितको प्रजातन्त्र बढी महत्वको भएको बताएका थिए ।

सिरियाली राष्ट्रपति निर्वाचनमा सरकारको नियन्त्रण भएको क्षेत्र तथा विभिन्न देशमा भएका सिरयाली राजदूतावासमा मतदान केन्द्र निर्धारण गरी गराइएको थियो । निर्वाचनमा एक करोड ८० लाख मतदाताको नाम दर्ता थियो । तीमध्ये सिरिया भित्र र बाहिरबाट गरी १ करोड ४० लाख मतदाताले मतदान गरेका थिए । यसको अर्थ निर्वाचनमा ७८.६४ प्रतिशत मत खसेको पुष्टि हुन्छ । सिरियामा निर्वाचन हुनु, एकभन्दा बढी उम्मेदवार हुनु र खुला प्रचारप्रसार हुनु, ७८ प्रतिशतभन्दा बढी मतदाताले निर्वाचनमा भाग लिनुले सिरिया सामान्य अवस्थातिर फर्कन लागेको सङ्केत गरेको छ ।
निर्वाचनलाई लिएर पश्चिमाहरूमा छटपटी
सिरियाली शासन व्यवस्थाको आलोचना गर्नेहरूले राष्ट्रपति बशर अल अस्सद र बाथ पार्टी जनताबाट निर्वाचित नभएको दुष्प्रचार गर्ने गर्थे । सिरियाका राष्ट्रनायक तथा बशर अल अस्सदका पिता हाफेज अल अस्सद पटक–पटक राष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए । बशर अल अस्सद पनि पहिलो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको थियो । २०१२ मा गठन भएको संविधानसभाले नयाँ संविधान जारी गरेपछि उक्त संविधान बमोजिम २०१४ मा सम्पन्न निर्वाचनमा जितेरै पदमा रहिरहनुभएको हो । आफ्नो औँलामा ननाच्ने राजनीतिक दल र नेताहरू जस्तै स्वतन्त्र र धाँधलीरहित निर्वाचनबाट जतिसुकै प्रतिशत मतका साथ निर्वाचित भएपनि पश्चिमा शासकहरू त्यसलाई प्रजातान्त्रिक देख्दैनन् । आफ्ना विरोधीहरूले हासिल गरेको जनमतलाई सधैं अवैध र फर्जी देख्ने तिनीहरूमा सधैंको दृष्टिदोष वा धुर्तपन रहँदै आएको छ । त्यसैले सिरियामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेपछि फ्रान्स, जर्मनी, इटाली, बेलायत र संरा अमेरिकाले एक संयुक्त वक्तव्य जारी गर्दै निर्वाचनलाई –अवैध– भनेको थियो । उनीहरूका अनुसार संयुक्त राष्ट्र सङ्घको नाममा आफूहरूको निगरानीबिना गरिने निर्वाचन– न स्वतन्त्र हुन्छ न निष्पक्ष– । वास्तवमा संयुक्त राष्ट्र सङ्घको निगरानीको नाममा पश्चिमाहरूले सके चलखेल गरेर आफ्ना कठपुतलीहरूलाई जिताउने र नसके निर्वाचन परिणामलाई विवादित बनाउने कार्य गर्दै आएका छन् । सिरियामा सम्पन्न सफल निर्वाचनले सिरियामा प्रजातन्त्र छैन भनी बदख्वाइँ गर्ने पश्चिमाहरूको गालामा थप्पडसरह भएको छ ।
यसैबीच पुनः निर्वाचित राष्ट्रपति अस्सदलाई रसिया, चीन, इरान, भेनेजुयला, क्युवा, बोलिभिया, निकारागुवा, अर्जेन्टिना, प्रजग कोरिया, प्यालेस्टिनलगायत देशका राष्ट्रप्मुख र सरकार प्रमुखहरूले बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अस्सदलाई बधाईज्ञापन गर्दै निर्वाचनको मत परिणामले राष्ट्रपति अस्सदप्रतिको अटुट जनविश्वास तथा राजनीतिक प्रतिष्ठा दर्शाएको उल्लेख गर्दै उहाँको स्थिर नेतृत्वमा सिरयिाली जनताको हितका नीतिहरू लागू हुँदै जाने र सिरयिाको अवस्था शान्तितिर फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यस्तै भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले पनि आफ्ना समकक्षीलाई एक सन्देश पठाउँदै आफ्नो वैधता पुनः साबित गरेर देखाएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
क्युवाका राष्ट्रपति एवम् क्युवाली कम्युनिष्ट पार्टीका प्रथम सचिव मिग्वेल डियाज कानेलले सिरयाको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएकोमा बशर अल अस्सदलाई हार्दिक बधाई ज्ञापन गर्दै दुई देशका जनता र सरकारबचिको गहिरो मित्रता र ऐक्यवद्धता अझ बढी सुदृढ हुँदै जाने बताउनुभएको छ ।
चिनियाँ विदेशमन्त्री एवम् राज्य परिषद्का सदस्य वाङ्यीले राष्ट्रपति अस्सदलाई बधाईसन्देश पठाउँदै उहाँको नेतृत्वमा सिरिया शान्ति, स्थिरता र विकासको बाटोमा अग्रसर हुने विश्वास चीनले लिएको बताउनुभएको छ ।
इरानको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनताको व्यापक सहभागिताबीच सिरियामा निर्वाचन सम्पन्न हुनु र अस्सद पुनः निर्वाचित हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उक्त घटना सिरियामा शान्ति, स्थिरता, अमनचयन, पुनःनिर्माण र समृद्धिको पुनःस्थापनातर्फको महत्वपूर्ण कदम भएको बताएको छ ।

3 responses to “सिरियामा अस्सदको पुनः विजय : पश्चिमाहरूको गालामा थप्पड”

  1. napit gomishdas says:

    उत्तर कोरियाको राजा जस्तै कट्टर सिरिया को राजा बसर अल असाद ।

  2. napit gomishdas says:

    उत्तर कोरियाको राजा जस्तै कट्टर सिरिया को राजा बसर अल असाद ।

  3. Prakash says:

    कट्टर त हुनैपर्यो नि, देशभक्ति र अडान नभएकाहरूले आफ्नो त देश नै गुमाउनुपर्ने हुन्छ । त्यति नभए नेपालजस्तै अरूको पिछलग्गु हुनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *