कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
संसारभर नर्सहरू आज सङ्कटमा छन् । कोभिड–१९ को आँधी सामना गरिरहेको भारतमा होस् अथवा आफ्नो तलबमा १ प्रतिशत वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका बेलायतका नर्स होऊन् अथवा केन्याका । सबैतिरका नर्सहरूले आफ्नो कामअनुसारको तलब पाएका छैनन्, उनीहरू महिनौंदेखि तलबबाट वञ्चित छन् ।
कम तलब, कम इज्जत र कम सहायताः नर्सहरू हिजोआज यसअघिको कुनै पनि समत्र्न्दा बढी तनाव र पीडामा बाँचिरहेका छन् । अन्तर्राष्ट्रिय नर्स परिषद्ले भनेको छ, “कोभिड–१९ प्रभावस्वरूप संसारभर आज ६० लाख नर्सको अभाव भएको छ । विशेषतः न्यून र मध्यम आयका देशहरूमा त्यस्तो अभाव सघन बनेको छ ।”
यसमा परिवर्तनको आवश्यकता छ । यदि हामी यो अवस्थाबाट उम्किने हो र भविष्यमा आउन सक्ने महामारी, नसर्ने रोग र मानसिक बिरामीको बढ्दो बोझ समाल्ने प्रयास गर्ने हो भने सशक्त र उत्साहित नर्सहरूको जनशक्ति त्यो प्रयासको लागि मेरुदण्ड हुन सक्छ ।
आजको पुस्तालाई यस्तो काम गर्ने अवसर छ । गत साता सम्पन्न विश्व स्वास्थ्य सभामा स्वास्थ्य मन्त्रीहरूले नर्सिङ पेशामा रूपान्तरणको लागि नयाँ पञ्चवर्षीय रणनीति लागु गर्न स्वास्थ्य मन्त्रीहरूले कुरा उठाएका छन् । त्यसको निम्ति नर्सहरूको काम गर्ने अवस्था, नियमन, शिक्षा, तालिम र नेतृत्व विकासमा सुधार गर्नुपर्ने उनीहरूको मत छ ।
स्वास्थ्यकर्मीहरूमा पनि सङ्ख्यामा सबभन्दा बढी भएका, समाजमा पनि सबभन्दा धेरै पहुँच भएका र जनताले उच्च विश्वास गर्ने नर्सहरूको कुनै पनि रोगविरुद्ध लड्न अहम् भूमिका हुन्छ । साथै सर्वसुलभ स्वास्थ्य सेवाको लागि उनीहरूको ठूलो भूमिका हुन्छ । धेरै नर्स पाल्न सक्दैनौँ भन्ने सरकारहरूले सोच्नुपर्छः नर्सहरूमा लगानी बढाउनाले स्वास्थ्य क्षेत्रमा सुधार भएको मात्र होइन, लैङ्गिक समानता र आर्थिक वृद्धिमा पनि टेवा पुगेको देखिएको छ ।
अहिले संसारभर फैलिएको महामारीले त नर्स र अन्य स्वास्थ्यकर्मीहरू खासमा के हुन् भन्ने कुरा अझ प्रस्टरूपमा उजागर गरेको छ । आफ्नो व्यक्तिगत स्वास्थ्यलाई जोखिममा राखेर पनि नर्सहरू घण्टौँ घण्टा अथक काम गरिरहेका छन् । तर, अझै नर्सहरूलाई ‘दयाकी देवी’ को रूपमा मात्र हेर्ने सोचाइ बाँकी छ । सधैँभरि आफ्ना बिरामीलाई हेरचाह गर्नमै मन लगाउने गरेका नर्सहरूलाई जटिल परिस्थिति र समस्याको बेला समाधान निकाल्न सक्ने भावनात्मक बौद्धिकता भएका उच्च दक्षता भएका पेशाकर्मीको रूपमा हेर्ने मानिस कमै छन् ।
यस्ता सोचाइको मूल भनेको लामो समयदेखि स्थापित सांस्कृतिक सोचाइ हो । अधिकांश नर्सहरू महिला भएकाले पनि यस्ता सोचाइ समाजमा व्याप्त छ । स्वास्थ्य प्रणालीभित्र नर्सहरूको न्यून हैसियतको अर्थ धेरै पहिलेबाट नै स्वास्थ्य नीति वा उच्च तहको नेतृत्वदायी जिम्मेवारीमा उनीहरू नपुग्नु वा उनीहरूसँग कुनै परामर्श लिन आवश्यक नठान्नु हो ।
विश्व स्वास्थ्य सङ्गठनले नर्सिङ क्षेत्रबाट पनि अधिकारी नियुक्ति गर्ने उत्कृष्ट दृष्टान्त स्थापित गरेको छ । सबै देशले यो उदाहरण पछ्याउन जरुरी छ ।
नर्सहरू आफै पनि आफ्नो पेशाको लागि नयाँ दृष्टिकोणको पक्षमा वकालत गरिरहेका छन् । ‘द नर्सिङ नाउ अभियान’ संसारका १२६ वटा देशका नर्सहरूको समूह आबद्ध अभियान हो । यो अभियानले नर्सहरूले गर्ने कामको सम्मान र स्वास्थ्य क्षेत्रका नीति निर्माण तहमा नर्सहरूको आवाज समेट्न जोड दिँदै आएको छ ।
आफ्नो दैनिक काममा नर्सहरूले नेता र अध्येताको भूमिका खेल्दै आएका छन् । पाकिस्तानको उत्तर–पश्चिम सीमावर्ती क्षेत्रमा दूरसञ्चारमार्फत मानसिक स्वास्थ्यको उपचार गर्दै आएका पाकिस्तानकी साना होस् वा ह्वाट्सएपमार्फत हृदयघातका बिरामीलाई दिमागी पुनः स्थापनाको नयाँ प्रयोग गर्दै आएकी घानाकी स्टेफान हुन् वा महामारीको समयमा पनि किशोरीहरूलाई गर्भावस्था र शिशुको जन्मको क्षेत्रमा अथकरूपमा काम गर्दै आएकी युगान्डाकी हेरियत होऊन्, सबैले नयाँ–नयाँ प्रयोगमा नेतृत्वको भूमिका खेल्दै आएका छन् ।
महामारी एक दिन सकिनेछ । महामारीपछि हामी स्वास्थ्य प्रणाली पुनःनिर्माणतिर लाग्नेछौं । त्यत्तिबेला कुनै पनि काम नर्सबिना भने गर्न सकिने छैन । नर्सहरू फेरि पनि नेतृत्वमै रहनेछन् । आफ्नो पेशाबारे नकारात्मक बुझाई तोड्ने र अन्धविश्वास तथा दुरवस्थालाई कमजोर बनाउनेमा नर्सहरूले नेतृत्व गरिरहनेछन् । तर, यो काम उनीहरू एक्लैले भने गर्न सक्नेछैनन् । त्यसको निम्ति हरेक क्षेत्रका आफ्ना हरेक नागरिकलाई स्वस्थ देख्न चाहने सरकारहरूले नर्सिङ क्षेत्रमा लगानी गर्न अग्रसर हुनुपर्छ र नर्सहरूलाई आफ्नो पूर्ण क्षमताअनुसार काम गर्ने वातावरण बनाइदिनुपर्छ ।
यसको अर्थ नर्सहरूले जनताको सेवा र त्यसको योजना निर्माणमा खेल्न सक्ने भूमिका स्वीकार्नु हो । त्यस्तै नर्सको नेतृत्वमा गरिने स्याहारका अवसर सिर्जना गर्नु हो । विशेषतः नसर्ने रोगका बिरामीको स्याहार र प्राथमिक एवम् सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा यस्ता अवसर सिर्जना हुनसक्छ ।
नर्सहरू सबै नीति निर्माण, योजना तर्जुमा र निर्णायक अङ्गको हिस्सा हुन जरूरी छ । त्यसले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नीति निर्माणमा अझ फराकिलो दृष्टिकोण र अनुभव सामेल हुन सम्भव हुन्छ । महामारी उकालो लागिरहेको छ । यस्तो अवस्थामा नर्सहरूलाई टिकाउने र नयाँ नर्सहरूलाई पेशामा आकर्षित गर्ने हो भने सरकारले नर्सहरूलाई काम गर्ने उपयुक्त अवस्था, आवश्यक तालिम र शिक्षा, नियमन, शिक्षा र रोजगारीमा मनग्य लगानी गर्न आवश्यक छ ।
नर्सहरूले धेरै कुरा दिइरहेका छन् । त्यसकारण हामीले उनीहरूलाई सहयोग, सम्मान, सुरक्षा, उत्प्रेरणा र सुरक्षाका आवश्यक सामनाबाट सुसज्जित गरेर पूर्ण क्षमतामा काम गर्न सक्ने वातावरण बनाइदिन जरुरी छ ।
(शैला तो नर्सिङ नाउका उपाध्यक्ष र बारबारा स्टिलवेल कार्यकारी निर्देशक हुनुहुन्छ ।)
स्रोतः अल जजिरा
नेपाली अनुवादः सुशिला
Leave a Reply