जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले एउटा अनलाइन छलफलमा शिक्षक, व्यवसायी, सहकारीका साथीहरूमाझ भनपाले पनि अक्सिजन प्लान्ट बनाउने कुरा राख्नुभयो । त्यही अक्सिजन प्लान्ट स्थापनाको लागि भक्तपुरका व्यापारी, शिक्षक, सहकारी, किसान, मजदुर, बुद्धिजीवीलगायत सबै तप्का र समुदायले सक्दो सहयोग गरेको जानकारी पत्रपत्रिकामा प्रकाशित भयो । सबैले नगरपालिकाको कामप्रति प्रफूल्ल भएर सहयोग गरेको पाइयो ।
भक्तपुर नगरपालिकाले गरिरहेको क्रियाकलाप भक्तपुरलगायत सारा जनताले मूल्याङ्कन गरिरहेका छन् । नगरपालिकाका जनप्रतिनिधिहरूलाई जनताले भनिरहेका छन्, “तपार्इँहरू विनाहिच्किचाहट अगाडि बढनूस् । तपाईँको पछाडि हामी छौँ । जनताको अभिभावकको रुपमा भूमिका निभाउनुहोस् । जनताको स्वास्थ्य शिक्षामा गर्नुभएको योगदान खेर जाने छैन । भवन, विभिन्न किसिमको योजना मात्रै भएर पुग्दैन । सञ्चालन गर्न प्राविधिकविज्ञ, डाक्टर, नर्स र व्यवहारिक प्रशासकको बन्दोवस्त गरी पूरा योजना बनाएर अगाडि बढ्नुहोस् । तपार्इँको इच्छा–चाहनाअनुसार भक्तपुरलगायतका जनताहरूले सहयोग गर्ने छन् ।”
ठीक समयमा तुरून्त उपचार गर्न नसके तुरुन्तै मृत्यु हुने, त्यस्तो बिरामीलाई तुरून्तै अक्सिजन दिनुपर्ने रहेछ । हाम्रो देशमा जम्मा आठ हजार वटा अक्सिजनको सिलिन्डर मात्रै रहेछ भने समाचार सञ्चारमाध्यममार्फत् जानकारी भयो । बिरामी १५ देखि १८ हजार भए कसरी भ्याउँंछ ? यसरी अक्सिजनको कमीले गर्दा दैनिक दुई सय ३० देखि दुई सय ४० जनासम्मको ज्यान गइरहेको छ ।
कति परिवार होम आइसोलेसनमा छन् । कोरोनाको कारण जीवन गुमाउनेको परिवारले लाससमेत हेर्न पाएन । यस्तो किसिमको दुःखदायी घटनालाई रतिभर पनि नआँटिकन हिम्मतका साथ भक्तपुर नगरपालिकाले रातदिन नभनी नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी नथाकिकन अनवरत रूपमा लागिरहेको छ ।
आफनै लगानीमा भक्तपुर नगरपालिकाले एक सय शय्याको ख्वप अस्पतालको भवन निर्माण भइरहेको छ । अस्पतालको काम तीव्र रूपमा अगाडि बढिरहेको छ । आफ्नो क्षमताअनुसार जनस्वास्थ्य सञ्चालन गरी सबै सर्वसाधारणदेखि सबैलाई स्वास्थ्य सुविधा दिइरहेको छ ।
यति गर्दागर्दै कोभिड–१९ का बिरामीहरूको स्वास्थ्य उपचार गर्नको लागि ब्रह्मायणीस्थित आफनै भवनमा २५ शय्याको एचडीयू र ५० शय्याको आइसोलेसनसहित ख्वप अस्पताल कोभिड एकाइ सञ्चालन गरिरहेको छ । उक्त आइसोलेसनमा भर्ना भएका बिरामीहरूको खाना–खाजासमेत सम्पूर्ण खर्च निःशुल्क रूपमा सेवा गरिरहेको छ ।
अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभावले गर्दा मलाई बचाईदेउ भनी अकालमै ज्यान गुमाएका विभिन्न जिल्ला र अस्पतालमा भर्ना हुन नपाएका बिरामीहरू जस्तै भक्तपुरमा पनि भोलि त्यस्तो आवाज सुन्नुपर्ला । यो आँखाले हेर्नुपर्ला भनी भक्तपुर नगरपालिकाले समयमै अक्सिजन प्लान्ट, भेन्टिलेटर, आईसीयूको बन्दोबस्त गर्नको लागि ख्वप अस्पताललाई सहयोग गरिदिनको लागि केन्द्रीय सरकार, प्रदेश सरकारसँग बारम्बार ताकेता गर्दा पनि सुने नि नसुनेझैँ, देखे नि नदेखेझै गरेको छ । नगरपालिकाको बिमाको रकम साढे पाँच करोडसमेत सरकारले नदिएपछि जनतामा गयो – भक्तपुर नगरपालिका । जनता सहायताको लागि अग्रसर भए । जनताको पहलमा अब आईसीयू, भेन्टिलेटर आइसोलेसन विशेष डाक्टरहरूको व्यवस्था हुने क्रममा छ । यसकारण यो अभियानमा लाग्ने सबैको प्रशंसा किन नगर्ने ?
Leave a Reply