भर्खरै :

१६ हजारलाई भेरोसेलको दोस्रो मात्रा

भक्तपुर, १८ जेठ । भक्तपुर नगरपालिकाले कोभिड – १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ । सबै वडामा अलग्ग जनशक्ति तथा स्वयम्सेवकहरू परिचालन गरी जेठ ५ गतेबाट उक्त खोपको दोस्रो मात्रा दिन थालेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दिनभरि नै खोप लगाउनेहरू आएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा. रत्नसुन्दर लासिवाले बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत वैशाख ४ गतेबाट वैशाख १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको हो ।
जेठ ५ देखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरूमा खोप लगाइएको थियो । डा. लासिवाले भन्नुभयो, “जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा नं. १० कार्यालय भवन पछाडि नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौँ ।”
डा. लासिवाले खोपको पहिलो मात्रा लगाएर कोभिड सङ्क्रमण भई स्वास्थ्यलाभ गरिरहेकाहरूलाई एक महिना पूरा नभई दोस्रो मात्रा दिन नहुने प्रस्ट पार्दै उहाँहरूको लागि अलग्ग बन्दोबस्त गरिने जानकारी दिनुभयो । त्यस्तै यसअघि भारतीय खोप कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन बाँकी महानुभावहरूलाई दोस्रो मात्रा खोपको सूचना नआएकोले केही समय धैर्य गर्न आग्रह गर्नुभयो ।
नगरपालिकाले भेरोसेलको पहिलो मात्रा २१ हजार ७२१ जनालाई र कोभिसिल्डको दोस्रो मात्रा २ हजार ४३९ जनालाई दिइसकेको जनस्वास्थ्य स्रोतले बताएको छ । भक्तपुर नगरवासीसंगै छिमेकी नगरपालिका र छिमेकी जिल्लाका बासिन्दाहरूले समेत भेरोसेलको पहिलो मात्रा खोप लगाएको र उहाँहरूमध्ये अधिकांशले आप्mनो नजिक परेको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लिएको डा. लासिवाको भनाइ थियो । खोपको पहिलो मात्रा लिएका सबैले दोस्रो मात्रा अनिवार्य लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुरमा १८ वर्ष नाघेका अझै पनि धेरैको कोभिडविरुद्धको खोप लगाउन बाँकी नै छ । ६० वर्षदेखि ६५ वर्ष उमेर समूहका कसैले पनि हालसम्म खोप लगाउन पाएका छैनन् । खोप लगाउन नपाएका सबैले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको वेभसाइट www.vaccine.mohp.gov.np मा गई अनलाइन माध्यमबाट फाराम भर्न सार्वजनिक आह्वान गरिएको छ । फाराम भर्नेहरूलाई खोपको पहिलो मात्रा दिने सम्बन्धमा छिट्टै नै अर्को सूचना प्रकाशित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *