भर्खरै :

जनहितका लागि सबैले पहल गर्नु जरुरी

कोभिड – १९ विरुद्ध लगाउने खोपको लागि राष्ट्रपतिको पहललाई समारोही राष्ट्रपति सक्रिय भएको समाचार आयो । नेपाली काङ्ग्रेसले पनि खोपको लागि गरिएको राष्ट्रपतिको पहलको विरोध गर्यो ।
जनता खोप नपाएर इन्तु न चिन्तु भएको बेला, कोभिड १९ सङ्क्रमितहरूको मृत्यु बढिरहेको बेला काङ्ग्रेस आफैले पहल गरी खोप ल्याएर जनताको सेवा गर्ने सोच ल्याउनुपर्ने हो । शेरबहादुर देउवाको अमेरिकासँगको सम्बन्ध राम्रै मानिन्छ । कथित ‘जनयुद्धमा’ प्रचण्डले भारतबाट हतियार ल्याएर सशस्त्र आन्दोलन गरेको चर्चा गलत होइन । उनीहरू दुवै ती देशहरूबाट सञ्चालित छन् भन्ने कुरा बरोबर प्रकाशमा आएकै हो । अमेरिकामा शेरबहादुर र भारतमा प्रचण्डले खोपको लागि थप पहल गरे जनताले समयमै राहत पाउने थिए ।
देश र जनताको सेवामा समर्पित हुनुपर्ने नेताहरू राजनीतिलाई फोहर बनाउन कुनीतिमा लागे दलीय झगडामा जनतालाई मुछेर राजनीति गर्ने काम सुहाउने होइन । यसले सरकारविरोधी जनतालाई समेत चसक हुने गरी सत्तालिप्सा, पदको मोलमोलाइ, चुनावी राजनीतिले जनतालाई दुःख हुने अभिव्यक्ति दिनु जनताको नजरमा आफ्नो कद घटाउने हुन्छ ।
जनताको मत पाउने भन्दा तिरस्कार हुने काम गर्नु शासक दलहरूलाई सुहाउँदैन । दलहरूको आआफ्नो राजनीतिक सिद्धान्त होला । जनताको सुख सुविधा सबै पार्टीहरूको प्राथमिकतामा पर्नुपर्छ । त्यसैले सरकारको र राष्ट्रपतिको विरोध गर्ने नाममा अराजनैतिक क्रियाकलापमा संलग्न हुनुहुन्न । विभिन्न देशहरूसँग विभिन्न पार्टीहरूले कूटनीतिक सम्बन्ध राखी खोप ल्याउन सबैले पहल गरौँ । यसले सबै पार्टी, देश र जनताको हित हुन्छ । खोप पायो भने काङ्ग्रेस, माओवादीलगायत सबै जनताले खोप लगाउन पाउनेछन् । कोभिड १९ विरुद्धको युद्धमा विजय हासिल गर्नसक्ने छ । सरकार र राष्ट्रपतिको विरोधै गर्नुपरे अरू विषय वा देश र जनताको अहित हुने गरी ल्याएको नागरिकता अध्यादेश, एमसीसीलगायत विषयमा विरोध गर्दा जनताले पनि समर्थन गर्लान् कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *