भर्खरै :

गोली र बारूदको आवाजसँगै शल्यक्रिया गर्ने डा. नर्मन बेथुन

(नर्मन बेथुनको जन्मभूमि क्यानडा हो । बेथुनले चिनियाँ क्रान्तिको निम्ति आफ्नो जीवन अर्पण गर्नुभयो । उहाँ एक महान् अन्तर्राष्ट्रवादी कम्युनिस्ट हुनुहुन्थ्यो । क्यानाडा कम्युनिस्ट पार्टीको एक सदस्यको नाताले पार्टीको निर्देशनमा उहाँ चीनको जापानविरोधी सङ्घर्षमा घाइते सिपाहीको उपचारको निम्ति चीन पुग्नुभएको थियो । नर्मन बेथुनलाई सन् १९३७ मा पार्टीले चीन जाने निर्देशन दिएको थियो । त्यसअनुसार उहाँ सन् १९३८ को सुरुमै चीन पुग्नुभयो । त्यही वर्षको सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङलाई भेट्न उहाँ येनान पुग्नुभयो । त्यसपछि उहाँ चिकित्सकीय सल्लाहकारको रूपमा शान्सीको हुपेइस्थित सैनिक आधारक्षेत्रमा पुग्नुभयो । ती कठिनतम युद्धको समयमा उहाँले जनता र सैनिक जवानहरूसँग दुःखसुख साट्नुभयो । बन्दुकको आवाजबीच घाइते सिपाहीहरूको उपचारको निम्ति उहाँ कसरी काम गर्नुहुन्थ्यो र आफू बिरामी एवम् अशक्त हुँदा पनि कस्तो जोश र जाँगरका साथ काम गर्नुहुन्थ्यो भन्ने विषयमा यहाँ एक मार्मिक चित्रण प्रस्तुत गर्न खोजिएको छ – सं.)
बेथुनले केही समयको लागि क्यानडा जाने निर्णय गर्नुभयोे । चिनियाँ जनताले जापानी उपनिवेशविरुद्ध लडिरहेको बहादुरीपूर्ण प्रतिरोध आन्दोलनबारे विश्वका जनतालाई बताउनुु र पैसा, औषधी उपचारको निम्ति उनीहरूसँग सहयोगको आह्वान गर्नु उहाँको त्यस भ्रमणको उद्देश्य थियो ।
बेथुन सन् १९३९ को अक्टोबर २० को दिन क्यानाडा प्रस्थान गर्ने तय भइसकेको थियो । तर, त्यही बेला हुपेई प्रान्तमा जापानी सैनिकहरूले चर्को आक्रमण गर्न थाले । बेथुनले अकस्मात् आफ्नो भ्रमणको कार्यक्रम स्थगित गर्नुभयो र उहाँ लडाइँ चलिरहेको क्षेत्रतर्फ जानुभयो । बाटोमै घाइते सिपाही भेटिए र खाना खाने समय नै ननिकाली घाइतेहरूको उपचारको निम्ति लाग्नुभयो बेथुन । उहाँले बाटोको एक सानो मन्दिरमा ‘अपरेसन कोठा’ बनाउनुभयो र काम थाल्नुभयो ।
भोलिपल्ट बिहानै एक पहरेदार सिपाहीले शत्रु पारि डाँडोमा पुगेको जानकारी दिन आयो । डा. बेथुन काममै व्यस्त हुनुहुन्थ्यो । उहाँले शान्तपूर्वक सोध्नुभयो, “कति घाइतेहरूको चिरफार बाँकी छ ?” “दस”, कामरेडहरूले जवाफ दिए । डा. बेथुनले तत्कालै निर्देशन दिनुभयो, “तुरुन्तै अर्को दुई चिरफार गर्ने टेबल मिलाउनू ¤ जति सक्यो चाँडो चिरफारको काम सिध्याऔँ !”
उहाँहरूले एकैबाजी तीन बिरामीको शल्यक्रिया गर्न थाल्नुभयो । केही मिनेटपछि सिपाहीले फेरि खबर ग¥यो– “शत्रु सेना डाँडोमुनि पुगिसके ।” । तर, डा. बेथुन शल्यक्रियामा उत्तिकै व्यस्त रहनुभयोे, मानौँ उहाँले केही सुन्नुभएकै छैन ।”
अकस्मात् तल गाउँबाट राइफल चलेको आवाज सुनिन थाल्यो । पहरेदार आएर भने, “हाम्रा सेना शत्रुसँग लड्दै छन् ।” जब द्वैभाषीले डा. बेथुनलाई तुरुन्तै त्यस ठाउँ छोड्नुपर्ने कुरा गरे तब डा. बेथुनले दृढ स्वरमा भन्नुभयो, “एक सैनिक डाक्टरको कर्तव्य घाइते सैनिकहरूसँगै रहनु हो । उसले कहिल्यै घाइते सेना छोड्नुहुन्न । ऊ यदि आफ्नो काममै मर्छ भने त्यो सबभन्दा महान् मृत्यु हुन्छ ।”
यसैबीच खुट्टामा घाउ लागेको एक बिरामीलाई डा. बेथुनले शल्यक्रिया गर्ने टेबुलमा पल्टिन लगाउनुभयो । त्यो सबभन्दा अन्तिम घाइते थियो । राइफलको आवाज अत्यन्तै नजिकबाट आउँदै थियो । सूचकले खतराको सूचना दिँदै भन्यो, “शत्रु सेना गाउँ पुग्दै छन् ।”
एक डाक्टरले डा. बेथुनको पाखुरा समाउँदै भने, “तपार्इँको काम मलाई दिनुस्, तपाईँले छिट्टै काम छोड्नुपर्छ ।” डा. बेथुनले डाक्टरको हात एकापट्टि पन्छाउँदै एनेस्थेटिस्टलाई भने – “लोकल एनेस्थेसिया !” घाइते सिपाहीले टाउको उठाउँदै अनुरोध ग¥यो, “कृपया डा. बेथुन ! यो त्यति सा¥हो घाउ होइन । कृपया शत्रु आइपुग्नुअघि तपार्इँ जानुस् ¤” डा. बेथुन तीव्रगतिमा काम गर्दै हुनुहुन्थ्यो । त्यति नै बेला उहाँले आफैसँग कुरा गरेझैँ भन्नुभयो धत् ¤ सबैजनाले उहाँको बायाँ हातको बीचको औँलाबाट रगत निस्किएको देखे । “केही होइन” उहाँले भन्नुभयो, “स्कालपेलले काटिएछ ।” उहाँले काटिएको औँला टिङ्क्चर आयोडिनमा डुबाउनुभयो र कामलाई जारी राख्नुभयो ।
डा. बेथुनले अन्तिम टाँका लगाउँदै गर्दा त्यहाँ बन्दुकको आवाज अझै नजिकबाट आएको सुनियो । उहाँले लामो सास तान्दै भन्नुभयो, “उहाँलाई बाहिर लैजानुस् !” एकै छिनमा उहाँ घोडा चढेर डाँडोतिर लाग्नुभयो ।
बाटोमा अन्य कामरेडहरूले प्रतिक्रिया जनाए, “मुश्किलले बच्यौँ !” तर, डा. बेथुनले मुस्कानका साथ भन्नुभयो, “आज हामीले एउटा ठूलो विजय प्राप्त ग¥यौँ । हामी घाइते भए पनि गोलीदेखि डराएर मोर्चा छोडी भाग्दैनौँ ।”
त्यस चिकित्सा टोली कानहोचिङ्गस्थित एक अस्पताल नपुगेसम्म रातभर घोडसवार ग¥यो । डा. बेथुनको औँलाको घाउ पाकेको थियो त्यसैले साथीहरूले उहाँलाई आराम गर्न अनुरोध गर्नुभयो । तर उहाँले भन्नुभयो, “मेरो ख्याल गर्नुभएकोमा धन्यवाद कामरेडहरू ¤ तर, यहाँ उपचार गर्नुपर्ने यति धेरै घाइते हुनुहुन्छ । म कसरी चुप लागेर बस्न सक्छु ?” उहाँले अरू दुई दिन निकै व्यस्ततापूर्वक काम गर्नुभयो ।
दुर्भाग्यबस्, एक घाइते सिपाहीको उपचार गर्दागर्दै डा. बेथुनको औँला सङ्क्रमित भयो । केही दिनपछि औँला सुन्नियो । ज्वरो बढ्यो । सबै साथीहरू चिन्तित भए । “यो केही पनि होइन”, उहाँले भन्नुभयो, “तपाईँहरूले चिन्ता गर्नुपर्दैन । मसँग दुईटामात्र औँला बाँकी भएपनि म काम गरिरहन सक्छु ।”
डा. बेथुन निद्रामा हुनुहुन्थ्यो, उहाँले बन्दुकको आवाज सुन्नुभयो । उहाँले लडाइँ भइरहेको बुझ्नुभयो र कोठाबाट छिटो निस्केर मोर्चामा जानैपर्ने ढिपि कस्नुभयो । कार्यकर्ताहरूले बस्न आग्रह गर्दा अलि उत्तेजित भई उहाँले भन्नुभयो – “मसँग सङ्क्रमित औँला छ । त्यसभन्दा बढी होइन । यसले के फरक पार्दछ ? तपाईँहरूले मलाई मेसिनगनजस्तै उपयोग गर्नुस् ¤” उहाँलाई कसैले रोक्न सकेनन् र उहाँ आफ्नो टोलीका साथ मोर्चातिर लाग्नुभयो । उहाँ कमजोर भइसक्नुभएको थियो ।
बन्दुकको गड्गडाहटको आवाज नजिकैबाट आउन थालेको थियो । चिकित्सा टोलीले बाटोमै घाइते सैनिक भेट्टायो । डा. बेथुनले हतारिँदै माफी माग्नुभयो, “ढिलो भएकोमा माफ गर्नुहोला ¤”
तिनीहरू एक चिकित्सा टोलीसहित सैनिक पल्टन बसेको ठाउँ वागचिताइमा पुगे । का. बेथुनको औँलामा कीटाणुको सङ्क्रमण फैलिँदै थियो र कुइनोसम्म नै पीप जम्न थालेको थियो । यद्यपि, उहाँले टाउको, छाती अथवा पेटमा घाउ भएका घाइतेहरूको उपचार गर्ने काम छोड्नुभएन । यदि काम गर्दागर्दै झकाएँ भने पनि सतर्क पार्नू भनी उहाँले साथीहरूलाई अनुरोध गर्नुभयो ।
उहाँले आफू कमजोर हुँदाहुँदै पनि अर्को १६ घण्टा लगातार काम गरिरहनुभयो । साथीहरूले समयसमयमा आराम गर्न अनुरोध गर्नुभयो तर पनि उहाँले पर्याप्त आराम गर्न मान्नुभएन । उहाँको काम र अवस्था देखेर कार्यकर्ताहरू आँसु झार्थे ।
नोभेम्बर ९ सम्ममा डा. बेथुनको अवस्था झन् खराब भयो । उहाँको ज्वरो ४० डिग्री सेल्सियससम्म पुग्यो । सत्रुले वागचिताइमा निरन्तर हमला गर्दै थियो । त्यसैले सेनाले पछि हट्ने निर्णय ग¥यो । सेनाका नेतृत्व गरिरहेका कामरेडहरूले डा. बेथुनको अवस्थालाई राम्ररी बुझेर उपचारको निम्ति अस्पताल जानुपर्ने जोड गर्नुभयो र डा. बेथुनले अन्तमा अनिच्छापूर्वक त्यसलाई स्वीकार्नुभयो ।
बाटोमा डा. बेथुन जाडोले कठ्याङ्ग्रिनुभयो । समयसमयमा उल्टि पनि हुनथाल्यो । यद्यपि, उहाँ युद्धमोर्चातिर फर्कँदै भन्दै हुनुहुन्थ्यो – “युद्धको मोर्चामा रगत बगाइरहेका लडाकुहरूको सबभन्दा बढी चिन्ता लाग्दछ । यदि मसँग केही शक्तिमात्र भएको भए पनि म त्यहीँ रहन्थेँ ।”
टाँगसेइ प्रान्तको ‘पहँेलो ढुङ्गोको गाउँ’ मा डा. बेथुन नोभेम्बर १० मा पुग्नुभयो । उहाँको अवस्था अझ गम्भीर भइसकेको थियो । जब त्यस सैनिक क्षेत्रको नेतृत्वले यो कुरो सुन्यो, एउटा जरुरी निर्देशन जारी ग¥यो, “डा. बेथुनलाई जसरी भए पनि बचाउनुपर्दछ ।”
डा. बेथुनको उपचारका निम्ति डाक्टरहरू आए । डा. बेथुनको अवस्था झन्झन् खबर भइरहेको बुझेर खबर सुन्न गाउँलेहरू जम्मा हुन थाले, उनीहरूले राति पनि डा. बेथुनको सेवा गरिरहे ।
एक सैनिक टोली ‘पहेँलो ढुङ्गाको गाउँ’ हुँदै गएको थियो । जब डा. बेथुन रोगी भएको तिनीहरूले सुने, तिनीहरू उहाँसँग भेट्न आए । “कृपया जुनसुकै उपाय अपनाएर भए पनि उहाँको उपचार गर्नुहोस् ! हामी उहाँको सुस्वास्थ्यको निम्ति मेहनतपूर्वक लडेर सहयोग गर्छौँ । विजयको समाचार सुनेर उहाँ खुशी हुनुहुनेछ ।” सबै सैनिक जोसका साथ भन्दै थिए ।
डाक्टरहरूले सकेजति आकस्मिक उपायहरू गरे तर डा. बेथुनको अवस्थामा कुनै सुधार आएन । डाक्टरहरूले सङ्क्रमित पाखुरा नै काट्ने सल्लाह दिए । डा. बेथुनले भन्नुभयो – “म तपार्इँहरूको विश्वास गर्छु । तर, तपाईँहरूले यसलाई छोड्नु राम्रो हुन्छ । किनभने, यो मेरो आशा नै नभएको रोग हो । यो पाखुराको कुरामात्र रहेन, कुरा रगतको हो । मलाई सेप्टिसेमिय भएको छ । कुनै उपायले मलाई सहयोग गर्दैन ।”
नोभेम्बर ११ को रात डा. बेथुन आफ्नो सम्पूर्ण शक्ति बटुलेर बेडमा बस्नुभयोे र सैनिक क्षेत्र प्रमुखलाई एउटा चिठी लेख्नुभयो । त्यस्तै क्यानाडाको कम्युनिस्ट पार्टी र अमेरिकी जनताको नाममा एक सन्देश लेख्नुभयो – “म धेरै खुसी छु । मेरो दुःख यही छ कि म अब अरू बढी काम गर्न सक्दिनँ । विगतका दुई वर्ष अत्यन्त महत्वपूर्ण रहे, मेरो जीवनका सबभन्दा अर्थपूर्ण वर्षहरू ।”
अबेर राती आफू वरिपरि जम्मा भएका कामरेडहरूमा दृष्टि लगाउँदै का. बेथुनले उत्तेजित हुँदै भन्नुभयो, “अध्यक्ष माओ र चिनियाँ कम्युनिस्टहरूले मलाई दिएको शिक्षाको निम्ति अध्यक्ष माओलाई सन्देश पु¥याइदिनुहोस् ! चिनियाँ जनताले आफ्नो स्वतन्त्रता जित्नेछन् भन्ने कुरामा म पूर्णरूपले विश्वस्त छु । दुःखलाग्दो यो छ कि म नयाँ चीन जन्मिएको हेर्न पाउँदिनँ ।”
एक डाक्टरको हात समाउँदै बेथुनले बलपूर्वक भन्नुभयो, “एउटा चिकित्सा टोली खडा गर्नू, मोर्चा नजिक जानू र घाइतेहरूलाई लिनू !” गहभरि आँशु पार्दै डाक्टरहरूले सम्पूर्ण बन्दोवस्त भइसकेको र तपाईँ मात्र आराम गर्नूस् भने ।
डा. बेथुनले आफ्नो टाउको उठाउँदै अन्तिम शब्द दृढतापूर्वक उच्चारण गर्नुभयो, “लडाइँ जारी राख ! महान् बाटोमा लागिरहनू र क्रान्तिको झन्डा अझ अघि बढाऊ !”
सन् १९३९ नोभेम्बर १२ को बिहान सबेरै महान् अन्तर्राष्ट्रवादी लडाकु डा. बेथुनले चिनियाँ जनताको निम्ति आफ्नो महत्वपूर्ण जीवन अर्पण गरी सदाको निम्ति बिदा हुनुभयो । तर, डा. बेथुनको मृत्युको बदला लिन लडाकुहरू अझ जोसका सथा अघि बढे ।
स्रोत : नौलो आयाम,
२०५५ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *