गर्मी र आगोबिच पाकिस्तानी इँटा मजदुर
- श्रावण २५, २०८३
विश्व राजनीति र सामरिक इतिहासमा केही यस्ता संवेदनशील मोडहरू आउँछन्, जब कुनै युद्ध दुई देशबिचको सीमा वा सैन्य सङ्घर्षमा मात्र सीमित रहँदैन । त्यसले एउटा सिङ्गो युगको शक्ति–सन्तुलन, स्थापित विश्व व्यवस्थाको चरित्र र स्वघोषित ‘अजेय’ महाशक्तिको वास्तविक सामथ्र्यमाथि नै अस्तित्वगत प्रश्न खडा गरिदिन्छ । अहिले इरानसँगको भयङ्कर युद्धमा फसेको संयुक्त राज्य अमेरिकाको सामु ठ्याक्कै यस्तै नियति र गम्भीर सङ्कट खडा भएको छ । इतिहासमै पहिलोपटक अमेरिका आफ्नो साम्राज्यवादी प्रतिष्ठा गुमाउँदै रक्षात्मक र लाचार स्थितिमा धकेलिएको छ ।
पछिल्ला दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पिट हेगसेथबिच इरान युद्धका क्रममा अमेरिकी क्षेप्यास्त्र तथा अत्याधुनिक हतियारको भण्डारमा परेको अभूतपूर्व दबाबबारे चर्को मतभेद सतहमा आएको छ । द वासिङटन पोस्टका अनुसार ट्रम्पले क्याम्प डेभिडमा हतियार अभावसम्बन्धी गोप्य रिपोर्टबारे रक्षामन्त्रीसँग कडा जवाफ मागेका थिए । त्यसपछि क्रुद्ध बनेका ट्रम्पले सूचना बाहिर ल्याउनेहरूलाई ‘लीकर’ भन्दै कारबाहीको चेतावनी दिए । यस घटनाले के स्पष्ट पार्छ भने, इरानसँगको युद्धमा अमेरिकाले भोग्नुपरेको वास्तविक क्षति र असफलताको आँकडा सञ्चार जगत्बाट पूर्ण रूपमा लुकाउने असफल प्रयास भइरहेको छ ।
अमेरिकी सैन्य इतिहासमै सम्भवतः अहिले पहिलो घटना बनेको छ, जहाँ पेन्टागन, गुप्तचर संस्था सीआईए र कमान्डर अफ चिफ अफ स्टाफका शीर्ष सैन्य अधिकारीहरूले नै राष्ट्रपतिलाई इरानविरुद्धको युद्ध जित्न असम्भव रहेको स्पष्ट र लिखित सुझाव दिन थालेका छन् । इरानको अभेद्य भूगोल, रणनीतिक धैर्य, भूमिगत ‘मिसाइल सिटी’ र जनस्तरको प्रतिरोधका अगाडि अमेरिकी हमलाको उद्देश्य आंशिक रूपमा पनि हासिल हुन सकेको छैन । पेन्टागनका शीर्ष रणनीतिकारहरूले ‘इरानलाई सैन्य बलका आधारमा पराजित गर्न नसकिने’ र युद्ध लम्बिँदै गए अमेरिकाको आफ्नै सामरिक पतन तीव्र हुने चेतावनी दिइरहेका छन् । हिजोसम्म विश्वलाई धम्काउने अमेरिका आज आफैँ इरानबाट धम्की र चेतावनी सहनुपर्ने निरीह अवस्थामा आइपुगेको छ ।
इरान युद्धले अमेरिकी उच्च प्रविधिको घमण्डलाई पनि धुलिसात् बनाइदिएको छ । विश्वकै शक्तिशाली मानिएका अमेरिकी हवाई सुरक्षा प्रणाली ‘थाड’ र ‘पेट्रोइट’ इरानी ब्यालिस्टिक क्षेप्यास्त्र र सस्ता ‘आत्मघाती’ ड्रोनहरूको भारी वर्षाअगाडि पूर्ण रूपमा असफलसिद्ध भएका छन् । त्यति मात्र होइन, अमेरिकी श्रेष्ठताका प्रतीक मानिने अत्याधुनिक एफ–१६, एफ–३५ स्टेल्थ फाइटर जेटहरू र अपाचे युद्धक हेलिकोप्टरहरू इरानी क्षेप्यास्त्र र क्षेप्यास्त्र रक्षा प्रणालीबाट खस्ने क्रम तीव्र रूपमा बढेको छ । अरबौँ डलरका यी युद्धक विमान र प्रतिरक्षा प्रणालीहरू क्षणभरमै खरानी हुनुले अमेरिकी सामरिक प्रविधि अजेय हुनुको भ्रम सधैँका लागि तोडिदिएको छ ।
आधुनिक युद्धको कठोर सत्य के हो भने, अत्यन्त महँगो हतियारले सस्तो हतियारलाई रोक्न खोज्दा आर्थिक गणित उल्टिन्छ । एउटा अमेरिकी थाड वा प्याट्रोइट इन्टरसेप्टर क्षेप्यास्त्रको मूल्य ३० देखि ५० लाख डलरसम्म पर्छ, जबकि त्यसलाई छेड्न इरानले प्रयोग गर्ने सस्तो ड्रोन वा क्षेप्यास्त्रको मूल्य केही हजार डलर मात्र हुन्छ ।
सीएसआइएस र अन्य रणनीतिक विश्लेषणहरूका अनुसार अमेरिका र उसका सहयोगीहरूले इरानी आक्रमण रोक्न आफ्ना बहुमूल्य र सीमित इन्टरसेप्टरहरूको ठुलो हिस्सा खर्च गरिसकेका छन् । अमेरिकी प्रशासनले हतियार भण्डार खाली हुँदै गएको स्वीकार्दै हतियार पुनःपूर्तिका लागि अतिरिक्त बजेट माग्न बाध्य भएको छ । वाल स्ट्रिट जर्नलका अनुसार, युद्ध लम्बिँदै जाँदा युक्रेन र इजरायललाई दिइने हतियार आपूर्ति ठप्प प्रायः भएको छ । यसले के प्रमाणित गर्छ भने आधुनिक युद्ध केवल प्रविधिको होइन, औद्योगिक उत्पादनको गति र भण्डारणको क्षमताको पनि हो, जहाँ अमेरिका पूर्ण रूपमा पछाडि परेको छ ।
अरबी देशहरूबाट अमेरिकी बहिर्गमन र खाडीमा फेरिएको समीकरण यसको अर्को पक्ष छ । अर्थात्, युद्धको सबैभन्दा ठुलो धक्का खाडी क्षेत्रमा अमेरिकी उपस्थितिमा परेको छ । दशकौँदेखि अमेरिकी सुरक्षा छातामा सुतिरहेका साउदी अरब, युएई, कतार र बहराइनजस्ता अरबी मुलुकहरूले अब अमेरिकालाई आफ्नै सुरक्षाका लागि ‘बोझ’ र ‘खतरा’ मान्न थालेका छन् । इरानले स्पष्ट सन्देश दिएको छ – आफ्नो भूमिमाथि आक्रमण गर्न प्रयोग हुने कुनै पनि देशमा अवस्थित अमेरिकी सैन्य बेसलाई छाडिने छैन ।
यसको परिणामस्वरूप, अरबी देशहरूमा जनस्तरबाटै अमेरिकी सैनिक र बेसहरू हटाउन तीव्र दबाब बढेको छ । साउदी अरब र यूएईजस्ता देशहरूले अमेरिकी वायुसेनालाई आफ्नो भूभाग प्रयोग गर्न रोक लगाउन थालेपछि अमेरिकाले बाध्य भएर आफ्ना सैन्यबेसहरू खाली गर्दै सैनिकहरू फिर्ता बोलाउनुपरेको छ । पर्सियन खाडीबाट अमेरिकाको यो अपमानजनक बहिर्गमनले मध्यपूर्वमा अमेरिकी एकाधिकारको लगभग अन्त्य गरिदिएको छ ।
उता सामरिक रूपमा अति संवेदनशील ‘हर्मुज जलडमरूमध्य’ मा इरानको पकड झनै कडा भएको छ । विश्वको २५ प्रतिशत कच्चा तेल ओसारपसार हुने यो समुद्री मार्गमा इरानी नियन्त्रणका अगाडि अमेरिकी नौ सेना लाचार बनेको छ । स्थिति यतिसम्म नाजुक भएको छ कि अमेरिकी अधिकारीहरू नै अब हर्मुजमाथिको इरानी नाकाबन्दी र नियन्त्रणलाई स्वीकार गर्दै यसको वैकल्पिक व्यापारिक मार्ग खोज्नुपर्ने लज्जास्पद तर्क दिन थालेका छन् ।
उता, बब अल मन्देव र लाल सागरमा यमनी हुथीहरूले आफ्नो आक्रमणलाई अभूतपूर्व रूपमा चर्काएका छन् । हुथीहरूले साउदी जहाज, अमेरिकी युद्धपोत र साउदी अरबका रणनीतिक संरचनाहरूमाथि निरन्तर क्षेप्यास्त्र र ड्रोन प्रहार गरिरहेका छन् । इरान झन् बलियो र आक्रामक भएर निस्किएको छ भने यमनदेखि लेबनान र इराकसम्मका प्रतिरोधको अक्ष (Axis) ले अमेरिकी र साउदी गठबन्धनको कम्मर भाँचिदिएको छ ।
कुनै पनि युद्ध जित्न हतियार मात्र होइन, सैनिकको मनोबल र राजनीतिक इच्छाशक्ति चाहिन्छ । लगातारको असफलता, अत्याधुनिक विमानहरूको क्षति र घर फर्कने अनिश्चितताका कारण मध्यपूर्वमा रहेका अमेरिकी सेनाको मनोबल इतिहासकै तल्लो स्तरमा गिरेको छ । अमेरिकाभित्रै युद्धविरोधी प्रदर्शनहरू चर्किएका छन् भने कूटनीतिक रूपमा पनि ट्रम्प प्रशासन एक्लिएको छ ।
अमेरिका अहिले जुनसुकै मूल्यमा युद्धविराम वा सम्झौताका लागि इरानसमक्ष अनुनय–विनय गर्ने अवस्थामा पुगेको छ । तर, युद्धमा आफ्नो पकड बलियो बनाएको इरान भने अमेरिकासँग कुनै पनि शर्तमा सम्झौता गर्न पूर्ण रूपमा अनिच्छुक देखिएको छ । इरानले स्पष्ट पारिसकेको छ, जबसम्म मध्यपूर्वबाट अन्तिम अमेरिकी सैनिक बाहिरिँदैन, तबसम्म कुनै वार्ता वा सम्झौता सम्भव छैन ।
प्रश्न उठेको छ, के अमेरिका अझै पनि एकल विश्व महाशक्ति हो ? यस प्रश्नको उत्तर अब प्रस्ट भइसकेको छ । अमेरिका अझै पनि सैन्य र आर्थिक दृष्टिले ठुलो शक्ति अवश्य हो, तर उसले ‘एकल विश्व महाशक्ति’ को हैसियत र अजेय हुनुको बिल्ला गुमाइसकेको छ ।
चीन आर्थिक र प्रविधिको शीर्षस्थानमा उभिएको छ, रुस सैन्य र आणविक रूपमा निर्णायक बनेको छ, अनि इरानले क्षेत्रीय युद्धको नयाँ ढाँचामार्फत महाशक्तिलाई घुँडा टेकाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ । विश्व अब बहुध्रुवीय ढाँचामा औपचारिक रूपमा प्रवेश गरिसकेको छ ।
निष्कर्ष
इरान युद्धले अमेरिकालाई एउटा ऐतिहासिक र कठोर पाठ सिकाएको छ, संसारलाई केवल बम, क्षेप्यास्त्र र धम्कीले नियन्त्रण गर्न सकिँदैन । साम्राज्यवादी अहङ्कार, कमजोर औद्योगिक आधार र नैतिक पतनका बिचमा लडिने युद्धको परिणाम सधैँ पराजय नै हुन्छ । अमेरिकी कमान्डर, सीआईए र पेन्टागनको चेतावनीलाई उपेक्षा गरेर सुरु गरिएको यो युद्धले अमेरिकालाई महाशक्तिको उचाइबाट खसालेर एउटा गम्भीर सामरिक दलदलमा फसाइदिएको छ ।
इरान युद्धको यो रक्तरञ्जित र महँगो परिदृश्यले विश्व राजनीतिमा एउटा नयाँ सत्य स्थापित गरिदिएको छ, अमेरिकी साम्राज्यको सूर्य अस्त हुने क्रममा छ र एकल विश्व महाशक्तिको एकाधिकार सधैँका लागि अन्त्य हुने दिशामा छ ।
Leave a Reply