भर्खरै :

एक पत्र प्रियसीलाई

एक पत्र प्रियसीलाई

प्रिय भक्तपुर,
जब म
यो गिद्ध राष्ट्रहरूको दुनियाँमा
बुद्ध राष्ट्रहरूले भोग्नुपरेको
दुःख–कष्ट र बर्बर हमलाहरू सम्झन्छु
तब तेरै मायाले सताउँछ मलाई ।

तेरो त देश नै भ्रष्टाचारले थल्याएको छ,
तेरो प्रदेश, जिल्ला, घर–आँगनसम्म
दुष्टहरू सल्बलाएका छन् ।

कसरी सकेकी छस् हँ
आफ्नै खुट्टामा उभिन ?
बेहुलीजस्तै सजिन ?

म भन्न सक्दिनँ
तेरो बुद्धि, विवेक, आँट, साहस र
समर्पण

भन्न सक्दिनँ
तँ माथिका शृङ्खलाबद्ध आक्रमण,
नाथे यी अधुरा–अपूरा शब्दहरूले ।

बस, यति भन्न सक्छु कि
गरिबलाई उच्च शिक्षा दिन
‘ख्वप विश्वविद्यालय’ चलाउनुपर्छ,
सिँहदरबार होइन, गाउँ–गाउँ अब
भक्तपुर आउनुपर्छ ।

तर, तँ भन्छस्
“जनतालाई बुझाउनुपर्छ ।”

बरु जाग्छ जनता,
जगाउनुपर्छ;
जगाउन अभियान चलाउनुपर्छ ।

आउनुपर्छ है भक्तपुर,
आउनुपर्छ
सत्यको खोजीमा
आउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *