भर्खरै :

अन्नभण्डार तराईलाई मरुभूमि बनाउने नियत !

  • जेष्ठ २१, २०७८
  • इन्द्रकुमार श्रेष्ठ
  • विचार

पृथ्वीको तापमान बढेर विश्व वातावरण मानव प्रतिकूल बन्दै छ । हाम्रो हिमालमा हिउँ पातलिँदै छ । पहाडका मूलहरू क्रमशः सुक्दै छन् । खोलानालाहरू वर्षाको बेलामा मात्र उर्लिन्छन् । वातावरणीय सन्तुलनका लागि सचेत भएर काम गर्नुपर्ने यो बेलामा हाम्रा खोलानालाबाट बालुवा, गिट्टी, ढुङ्गा जथाभावी निकाल्ने कार्यले नजिकका मानव बस्ती जोखिममा पर्दै आएका हुन् । तराईको उर्वर भूमि र त्यहाँ खन्दा आउने पानीको रिजर्भर ट्याङ्क चुरे भावर क्षेत्र संरक्षण गर्नुपर्ने महसुस गरेर २०७१ सालदेखि त्यस क्षेत्रबाट बालुवा, गिट्टी, ढुङ्गा, निकाल्न रोक लगाइएको हो । त्यसयता, उक्त क्षेत्र संरक्षण गर्ने कामको सिलसिलामा सात वर्षमा दश अर्ब खर्च पनि भइसकेको रहेछ ¤ यसपटकको बजेट वक्तव्य बुँदा नं १५२ मा पनि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत शिवलिक तथा महाभारत क्षेत्रमा २ सय पोखरी निर्माण गर्ने, नदीहरूमा भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने तथा डेढ करोड बिरुवा रोप्ने कार्यक्रमका लागि १ अर्ब ५३ करोड रुपियाँ छुट्याइएको प्रशंसनीय कुरा उल्लेख गरियो । तर, सोही बजेटको बुँदा नं १९९ मा फेरि ढुङ्गा, गिट्टी र बालुवा निकासी खुला गरिएको कुराले, सरकारले रोगीलाई औषधि र विष सँगसँगै खुवाएजस्तो लाग्यो ।
यस्तो आत्मघाती कार्यले तत्कालका लागि केही व्यक्तिलाई धनी बनाउनेमात्र हो । धेरैतिरबाट विरोध आएपछि, चुरे क्षेत्र बचाउन प्रतिबद्ध रहेको भन्ने व्यहोराको सरकारी विज्ञप्ति आए पनि त्यो औपचारिकताका लागि मात्र आएको हो । तर, कालान्तरमा हाम्रो अन्नभण्डार तराईलाई मरुभूमि बनाउने खालको गर्ने सरकारी उद्देश्यलाई भने हामी सबै नेपालीले विफल बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *