भर्खरै :

भक्तपुर नगरपालिकालाई किन विश्वास गर्छन् जनता ?

निर्माणाधीन ख्वप अस्पतालमा अक्सिजन प्लान्टलगायत स्वास्थ्य पूर्वाधार खरिद र स्थापनाको निम्ति भक्तपुर नगरपालिकाले गरेको सहयोगको आह्वानसँगै आर्थिक सहायताको लहर आएको छ । बिहीबारसम्म ४ करोड ३२ लाख ९० हजार ०७८ रूपैयाँ सङ्कलन भएको नगरपालिकाले जनाएको छ । भक्तपुर नगरकाले मात्र होइन, देशैभरिका विभिन्न सङ्घ–संस्था, व्यवसाय, विद्यालय, शैक्षिक संस्था र व्यक्तिहरूले नगरपालिकाको आह्वानलाई साथ दिएका छन् । नगरपालिकामा पुगेर नगर प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई भेटेरै जनताले सहयोग हस्तान्तरण गरिरहेका छन् । भक्तपुर नगरपालिकाले जनताको यो अपार विश्वासलाई साक्षी राखेर चाँडै नै अक्सिजन प्लान्ट स्थापना गर्नेमा कुनै सन्देह छैन । ख्वप अस्पताललाई उदाहरणीय अस्पताल बनाउन पनि यो सहायताले बलियो आधार प्रदान गरेको छ ।
भक्तपुर नपाप्रति जनताको दरिलो विश्वासको कारण के होला ? स्थानीय तहमा अनियमितता, भ्रष्टाचार, द्वन्द्व, कमिसनको खेल र विकृतिको आहाल देखेका र भोगेका जनताको निम्ति भक्तपुर नपाको सन्दर्भमा यस्तो जिज्ञासा उठ्नु असामान्य कुरा होइन । भक्तपुर नपाप्रति जनताको यस्तो विश्वास केही वर्ष वा दशकको परिणाम होइन । नेपाल मजदुर किसान पार्टीको नीति–निर्देशनअनुसार विगतमा निर्वाचित भक्तपुर नपाका जनप्रतिनिधिले इमानदारी र निःस्वार्थीरूपमा जनताको सेवा गरेको आधार नै अहिलेको जनविश्वासको जग हो । दशकौँ लगाएर हुर्काइएको बिरूवाको फल नै आजको प्रगाढ जनविश्वास हो । अहिले निर्वाचित जनप्रतिनिधिहरूले पनि यसलाई अझ उचाइमा पु¥याउने प्रयास गरिरहेका छन् ।
भक्तपुर नगरपालिका आर्थिक पारदर्शिताको मानक बन्न सफल छ । भक्तपुर नपाको हातमा दिएको सहयोगको सही सदुपयोग हुने कुरामा जनताको विश्वास छ । सहायता रकमको पैसा–पैसाको हिसाब जनताको सामु पेश हुनेमा कति पनि सन्देह छैन । जसरी भक्तपुुर नपाले स्थापना गरेका शैक्षिक संस्थाहरूले नगरवासीको मात्र होइन, देशकै सेवा भइरहेको छ । जसरी भक्तपुर नपाले गरेको सम्पदा संरक्षणले देशकै इज्जत र गौरव बढाएको छ त्यसरी नै अहिले आफ्नो सहयोगले भक्तपुरको मात्र होइन, देशकै सेवा हुनेमा जनता ढुक्क छन् । त्यसकारण महिना दिन लामो निषेधाज्ञाको कारण दैनिक जीवनको प्रतिकूलतालाई समेत थाती राखेर जनता आज आफ्नो गाँस काटेर सहयोगको हात बढाइरहेका छन् । जनताले आज जनप्रतिनिधिलाई दिएको रकम मात्र रकम होइन, त्यो विश्वास हो । विगतमा जसरी नपाका जनप्रतिनिधिले जनविश्वासको उच्च सम्मान गरेका थिए, अब पनि जनताको विश्वास र सपना साकार पार्नेमा जनता ढुक्क छन् ।
भक्तपुर नपाप्रति जनताको सहयोगको उभार आउनुको अर्को एउटा कारण पनि छ – केन्द्रीय सत्ताको बेवास्ता । भारतमा मोदी नेतृत्वको भाजपा सरकारले जसरी केरालालाई राजनीतिक पूर्वाग्रहवस सङ्घीय बजेटलगायत विभिन्न क्षेत्रको विकासमा पक्षपात गर्दै आएको छ त्यसरी नै भक्तपुर नपालाई पनि सिंहदरबारले पक्षपात गर्दै आएको छ । भक्तपुर नपालाई दिइनुपर्ने बजेटसमेत नदिँदा आज जनप्रतिनिधिहरू जनताका सामु सहयोगको हात फैलाउन पुगेका छन् । त्यही आह्वानअनुसार सिंहदरबारको वक्रदृष्टिको वास्तविकता बुझेका जनताले होस्टेमा हाइसे गरेर आज उदाहरणीय पहल भइरहेको छ । विकासको निम्ति मन्त्रालयको दैलो–दैलो धाएर, मन्त्रालयका सचिवदेखि टाइपिस्टसम्मलाई ‘खाजा’ खुवाएर आफ्नो ठाउँमा योजना पार्ने, मन्त्रीको चाकडी बजाएर राज्यकोषबाट पैसा ल्याएर विकासको स्वाङ गर्ने परनिर्भरहरूको निम्ति भक्तपुर नपाको यो कदम पाठ त हो नै, चुनौती पनि बनेको छ । हरेक स्थानीय तहलाई पनि आत्मनिर्भर बनाउने भावना नै ‘गाउँ–गाउँमा सिंहदरबार’को मूल आशय हो । विडम्बना ¤ आज त्यो नारा फलाक्नेहरू सिंहदरबारबाट झरेको बजेटमै लोभी आँखा गाडेर फेरि पनि केन्द्रीयतावादी चिन्तनको पक्षपोषण गरिरहेका छन् । भक्तपुर नपाले सानै आकारमै सही, जनतामा जरा गाडेर जनताको सेवामा लाग्ने सङ्कल्प गरेको छ । तथापि, अघि छिचोल्नुपर्ने यात्रा भने अझै लामो छ । भक्तपुर नपाले उत्तीर्ण गर्नुपर्ने परीक्षा अझ धेरै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *