भर्खरै :

कोभिड अस्पतालमा खोइ सुरक्षा मापदण्ड !

कोभिड सङ्क्रमित, तिनका आफन्त तथा सर्वसाधारणकै लागि आशा र भरोसाको केन्द्र यतिखेर अस्पताल र स्वास्थ्यकर्मी भएका छन् । जति पनि अस्पताल र स्वास्थ्यकर्मीप्रति विश्वास र भरोसा बढ्दै गएको छ त्यति, त्यति सरकारप्रतिको सर्वसाधारणको विश्वास र भरोसा घट्दै छ । कारण, आफ्नो सीमित क्षमता भए पनि अस्पतालहरूले सङ्क्रमित बिरामीको जीवन रक्षाको लागि सक्दो पहल गरे, गरिरहेका छन् भने स्वास्थ्यकर्मीहरू आफ्नो ज्यानको बाजी लगाएर सङ्क्रमितको उपचारमा रात–दिन नभनी जुटिरहेका छन् । तर, जनताको स्वास्थ्य बचाउन सक्ने क्षमता र दायित्व बोकेको सरकार र त्यसका अङ्गहरू लास गन्न र त्यही लासको थुप्रोमाथि कुर्सी राखी सरकार जोगाउन रात–दिन नभनी लागिरहेका छन् । सङ्क्रमण रोकथाम वा नियन्त्रण गर्न तथा जनतालाई सङ्क्रमित हुनबाट जोगाउन र सङ्क्रमित भएकाको जीवन बचाउन लागिनपर्ने सरकार र शासकहरू इतिहासमा कलङ्क साबित हुनेछन् । महामारीको समयमा सामान्य उपचार वा अक्सिजन नपाएर जनताको मृत्यु हुन्छ भने त्यसको दोषी सरकार नै हुन्छ ।
यस्तो स्थितिमा विज्ञहरू कोरोनाको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिँदै छन् वा सरकारलाई पूर्वतयारीको लागि सावधान गराउँदै छन् । तर, जसरी पहिलो र दोस्रो लहरको तयारी र रोकथाम तथा सङ्क्रमितको उपचारमा सरकार र शासक दलहरू पूर्णरूपमा गैरजिम्मेवार र असफल भए त्यही परिस्थिति दोहोरिनेमा कुनै शङ्का छैन । त्यसकारण फेरि पनि अस्पताल र स्वास्थ्यकर्मीको भरोसामा सर्वसाधारण बस्नुको विकल्प छैन । त्यस्ता सम्पूर्ण अस्पताल र स्वास्थ्यकर्मीप्रति आभार !
यद्यपि, कोही कोभिड विशेष अस्पतालहरूमा अझै पनि स्वास्थ्य सुरक्षा मापदण्डको कडा पालना गराउन आवश्यक देखिन्छ । कोभिड सङ्क्रमित बिरामी अस्पतालमा पुग्नु र डाक्टरलाई देख्नु नै उसको बाँच्ने आधार बनेको समयमा त्यही अस्पतालबाट स्वस्थ व्यक्ति सङ्क्रमित हुनसक्छ भन्ने हेक्का पनि अस्पताल प्रशासनले राख्न आवश्यक छ । कतिपय अस्पतालले कोभिड बिरामी भर्ना गरेपछि कुरूवासमेत बस्न नदिने, बिरामीलाई भेट्न नदिने, खानेकुरा लगिदिएको छ भने लगेको भाँडो वा सामान फिर्ता नदिनेलगायत कार्य गरिरहेको छ र त्यो आवश्यक पनि छ । तर, कतिपय अस्पतालले यस्ता विषयमा खासै ध्यान पु¥याएको देखिन्न ।
ती अस्पताल (भक्तपुर अस्पतालको हकमा पनि) हरूमा कोभिड मेडिकल वार्डमा सङ्क्रमित बिरामीसँगै कुरूवा बस्न दिइन्छ, भेट्न चाहनेलाई आफ्नै जोखिममा भेट्न दिइन्छ, सजिलै कोभिड वार्डमा जान सकिने स्थिति वा संरचना छ । वार्डमा ओहोरदोहोर हुने वा कुरूवा ओहोरदोहोर गर्ने अवस्था भएपछि कोरोना सङ्क्रमण नियन्त्रणमा आउन असम्भव छ । अस्पताल आएर निको हुने सङ्क्रमण उल्टै अस्पतालबाट समुदायमा फर्कियो भने अस्पताल र स्वास्थ्यकर्मीको त्याग र समर्पणको के अर्थ रह्यो र ? त्यसकारण समयमै यतातर्फ ध्यान दिने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *