भर्खरै :

सरकारमा ‘किसानका छोरा’ कृषि बीउ विदेशीको भर !

काठमाडौँ, २१ जेठ । नेपालका अधिकांश प्रम र मन्त्रीहरू आफूलाई किसानको छोरा, हलो जोतेको, गोठालो, भैँसी दुहेको, भेडा–बाख्रा चराएको दाबी गर्छन् । यस वर्ष नेपालमा रोपाईँको लागि धानको बीउ १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रूपैयाँको ४ हजार १४९ मेट्रिक टन आयात भयो । अघिल्लो वर्षमा पनि यसरी नै आयात भएको थियो । आयात भएका धानको बीउमा यूएस ३१२, च्याम्पियन, सोनामन्सुली, सुधा, शान्तिलगायत ४६ प्रकारका धानको बीउ भएको बताइयो । यसमध्ये ३९ थरी बीउ भारतबाट र ७ थरी चीनबाट आयात गरियो । भारतबाट ३,९६१ मेट्रिक टन र चीनबाट १८८ मेट्रिक टन धानको बीउ आयात भयो । यसरी धानको बीउ पनि अन्य सामानजस्तै भारतबाटै बढी आयात भयो ।
नेपालमै उत्पादन हुने धानको बीउमा सावित्री, सोनामन्सुली, मकवानपुर, बास्मती आदि हुन् । नेपालको धान बीउलाई उन्नत बनाउने काम हालसम्मका सरकारहरूले नगरेको हुँदा वर्षको अर्बौँ रूपैयाँको धानको बीउ आयात गर्नु परेको हो । गहुँ, मकै, गेडागुडी, तरकारीसमेतको बीउ आयातमा थप अर्बौँ रूपैयाँ खर्च भइरहेको छ । चीनमा धेरै उत्पादन हुने धानको बीउका आविष्कारक वैज्ञानिक युआन लोङ्पिङ्को मृत्यु जेठ ८ गते भएको थियो । नेपालमा पनि कृषि वैज्ञानिकहरू धेरै छन् तर अनुसन्धानको बजेट नहुँदा यस्तो आविष्कार केही भएको छैन । सरकारहरूको प्राथमिकता अनुसन्धानमा किन पर्दैन ? कृषिलाई आवश्यक बीउ, मल, औजार, सिंचाइको व्यवस्था गर्न नसकेका सरकारका प्रम र मन्त्रीहरूले ‘किसानको छोरा’ दाबी गर्नु हास्यास्पद हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *