भर्खरै :

सरकारको अदूरदर्शिताको कारण भयावह बन्यो दोस्रो लहर

काठमाडौँ, २१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा अनलाइनमार्फत भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सरकारको अदूरदर्शिताको कारण देशमा कोभिड–१९ को दोस्रो लहरको भयावह स्थिति उत्पन्न भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमणबाट बच्न र रोगबाट जनतालाई बचाउन आ–आफ्नो ठाउँबाट कार्यकर्ताहरूले सहयोग गर्नु आवश्यक छ ।”
शासक पार्टीहरूले चुनाव जित्न र पार्टी चलाउन ठेकेदार र व्यापारीहरूसित पैसा लिएकोले अहिले नुनको सोझो गरिरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हिजो शासक पार्टीहरूले व्यापारीसँग पैसा लिएर निर्वाचन जिते । आज निर्वाचितहरूले शासन सत्ताको दुरूपयोग गर्दै छन् । यसको परिणाममध्ये एक हो – नागरिकता अध्यादेश ! देशको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाउने कदमको विरूद्ध हिजो संसद्मा नेमकिपा एक्लैले सङ्घर्ष गर्दै आएको थियो र त्यो सङ्घर्ष जारी रहनेछ ।”
नेमकिपाले नेपाली राजनीतिलाई सही दिशानिर्देश गर्ने प्रयास गरिरहेको चर्चा गर्दै उहाँले कार्यकर्ताहरू देश र जनताको इमानदारीपूर्वक सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
समाजवाद विज्ञान भएको चर्चा गर्दै अध्यक्षले बिजुक्छेँले समाजवादी व्यवस्थाले मात्र कामदार वर्गका जनताको आकाङ्क्षा पूरा गर्ने बताउनुभयो ।
देश बचाउनका लागि सबै युवाहरूलाई अनिवार्य सैनिक तालिमको व्यवस्था हुनुपर्ने धारणा राख्दै उहाँले जुझारू, धैर्यवान कार्यकर्ताहरू पार्टीको लागि आवश्यक भएको बताउनुभयो ।
शासक पार्टीका नेता–कार्यकर्ताहरूको ध्यान जनताको सेवा गर्नेभन्दा पद प्राप्त गर्नु र धन आर्जन गर्नु रहेकोले जनताले दुःख पाइरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पद र पैसाको लोभमा फस्नेहरू र जनताका सच्चा राजनीतिक कार्यकर्ता हुँदैनन् ।”
एमसीसी पारित भए नेपाल साम्राज्यवादी र विस्तारवादीहरूको युद्ध मैदान हुने खतरा रहेकोले नेमकिपाले एमसीसीको विरोध गरिरहेको अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
“स्मार्ट सिटीको नाममा विभिन्न परियोजना काठमाडौँकेन्द्रित गरेर ल्याएको परियोजनाले पुँजीपतिहरूको नाफाको स्रोतबाहेक केही होइन । पुँजीवादी सरकारले पुँजीपतिहरूको हितको लागि निजी स्वामित्वको बढावा गर्नेबाहेक अरू केही गर्दैन, त्यसैले यी शासकहरूबाट गरिब कामदार जनताको कहिले हित हुँदैन”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले कोभिड महामारीबाट जनतालाई बचाउनका लागि नेपाल सरकारले आफू असक्षम भएको थाहा हुँदाहुँदै पनि चीन सरकारसँग सहयोग नमाग्नुको कारण भारतको इसाराले वर्तमान सरकार चल्दै आइरहेको पुष्टि हुन्छ भन्नुभयो ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष राजवीर डंगोल र सचिव विशोक डंगोललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *