उदारवादको गाँठो
- श्रावण २८, २०८३
एमाले र माओवादीको संयुक्त निर्वाचन मोर्चा र नेकपाको गठन देश र जनताको आवश्यकतामा भएको थिएन । पालैपालो प्रम हुने नियतमा भएको संयुक्त निर्वाचन मोर्चा र पार्टी एकताको सुरू र विभाजन जनताको निम्ति ‘कागलाई बेल’ सावित भयो । नेपालका केही विश्लेषकहरूले संयुक्त निर्वाचन मोर्चा र पार्टी एकतालाई ‘कम्युनिस्टको दिग्विजय’ भनी व्याख्या गरे । नेकपा सैद्धान्तिक एकताबिना जसरी गठन भयो त्यसरी नै विभाजन स्वाभाविक थियो । सर्वोच्च अदालतबाट भएको विभाजनको आदेश संयोगमात्र थियो । एकताकै निम्ति उनीहरूको सहमति भएको भए सर्वोच्चको आदेशपछि १५ दिनभित्र पार्टीको नयाँ नामसहित निर्वाचन आयोगमा पुग्नुपथ्र्याे । एमाले र माओवादीको सत्ता लालसासँगै ती दुई ‘भाइ काङ्ग्रेस’ बने । अहिले त ‘दाइ काङ्ग्रेस’ मा परिणत भए ।
मधेसकेन्द्रित दलहरू राजपा र फोरमको पार्टी एकता पनि उस्तै थियो । फोरम सरकारमा गएको बेला यसका नेता उपेन्द्र यादवमाथि विदेश भ्रमणको भत्ता कुम्ल्याउने र मधेसको समस्या छोड्ने आरोप लाग्यो । अन्ततः फोरम सरकारबाट बाहिरियो र राजपासँग पार्टी एकता भई जसपा बन्यो । जसपाभित्र अहिले राजपा पक्षका नेताहरू सरकारमा जाने र फोरम पक्ष बिथोल्नेमा छन् । जसपा गठन पनि देश र जनताको आवश्यकतामा भएको थिएन । तिनका नेताहरूको संयुक्त चुनावी मोर्चादेखि नै पालैपालो सरकारमा पुग्ने चाहना थियो ।
एमालेभित्र ओली र माधव पक्षको सङ्घर्ष पनि यस्तै छ । कहिले माधव वरिष्ठ नेता कहिले खनाल र कहिले वामदेव प्रमका उम्मेदवार र अहिले ओली पक्षले नेपाल समूह गल्ने र पार्टी र सरकार एकलौटी हुने ठान्छ । त्यस्तै नेपाल पक्ष ओली समूह गल्ने र पार्टी र सरकार कब्जा गर्ने दाउमा छ । यिनीहरूको जन्म नै ‘को झर्ला र खाउँला’ बाट भएको हुँदा कुनै पक्ष गल्ने र नगल्ने विषय जनताको सरोकारको विषय बनेन । नेकपाको बेला ओली र दाहाल, अहिले एमालेमा ओली र माधव, जसपाभित्र राजपा र फोरमका नेताहरूको आरोप प्रत्यारोप ‘कसले भाग बढी खाने’ मा केन्द्रित छ । सत्ता त देश र जनताको हितको निम्ति हुनुपर्ने हो । सत्तालाई आफ्नो व्यक्तिगत स्वार्थकेन्द्रित गरेका नेताहरू अहिले घायल भएका हुन् । एकपटक सरकारमा मन्त्री भएका जनमोर्चा पनि लुम्बिनी र गण्डकीमा घायल भएको सुनिन्छ ।
Leave a Reply