उदारवादको गाँठो
- श्रावण २८, २०८३
प्राध्यापक डोरबहादुर बिष्ट मानवशास्त्री र समाजशास्त्रीहरूका लागि एक चिरपरिचित नाम हो । उनी नेपाली प्रसिद्ध मानवशास्त्री हुन् । ‘सबै जातका फूलबारी’ उनको प्रसिद्ध पुस्तक हो । यस पुस्तकमा नेपालका विभिन्न जातजाति र तिनीहरूका रहनसहन तथा चालचलनका बारेमा व्याख्या गरिएको छ । उनको अर्को पुस्तक ‘भाग्यवाद र विकास’ ले नेपाली समाजमा रहेको भाग्यवादी सोच र त्यसले देशको आर्थिक तथा सामाजिक विकासमा पारेको नकारात्मक प्रभावबारे गहिरो विश्लेषण गरेको छ । उनी एकजना साहित्यकार पनि हुन् । ‘सोताला’ उनको प्रसिद्ध उपन्यास हो । यस उपन्यासमा काठमाडौँका नेवार व्यापारीहरू (ल्हासा साहु) ले तिब्बतको ल्हासासँग गर्ने ऐतिहासिक व्यापार र पारवाहनको चित्रण गरिएको छ । प्राध्यापक बिष्टले विभिन्न कालखण्डमा लेखेका १६ वटा कथाहरू डोरबहादुर विष्टका कथासङ्ग्रह हिमाल किताबले २०७२ सालमा प्रकाशित ग¥यो । यस कथासङ्ग्रहमा तत्कालीन नेपाली समाजलाई पढ्न र बुझ्न सकिन्छ ।
‘ता कर्बु’ हिमाली क्षेत्रका बासिन्दाहरूको कथा हो । यो कथा एउटा सेतो घोडा र त्यसको मालिक ग्युर्मीको कथा हो । हिमाली भेकमा जसको बढी चौरी र भेडा हुन्थ्यो उसलाई त्यस भेगको सम्पन्न व्यक्ति मानिन्थ्यो । कथाका पात्र ग्युमीसित अरुका भन्दा कम चौरी र भेडा थियो । त्यसैले उसलाई कहिलेकाहीँ हिनताबोधले सताउँथ्यो तर गाउँमा चौरी र भेडाको भन्दा उसको सेतो घोडाको बढी चर्चा हुन्थ्यो । यही कारण उसलाई परिवारको भन्दा बढी माया घोडाको लाग्थ्यो । कथामा ग्युर्मी र सेतो घोडाबिचको आत्मीय सम्बन्धलाई देखाइएको छ । कथामा विभिन्न ठाउँबाट सरुवा भएर आएका कर्मचारीहरूले पदका आडमा हिमाली भेगका सोझा जनतालाई कसरी शोषण गर्दा रहेछन् भन्ने कुराको जानकारी दिएको छ । कथामा स्थानीय प्रधानपञ्च पनि एकजना कर्मचारीको अगाडि कति निरीह हुँदोरहेछ र दुर्गम भेगमा हुने केन्द्रीकृत शासनको थिचोमिचो देखाइएको छ ।
‘वरदान’ पश्चिम नेपालको देवकी प्रथा झल्काउने सुन्दर कथा हो । कथाका पात्र केडी स्वयं देवकीकी छोरी हो । देवीलाई चढाएकी देवकीहरूले समाजका प्रतिष्ठित व्यक्तिहरूदेखि लिएर कर्मचारी र स्थानीय मानिसहरूसम्मको तृष्णा मेटाउनुपथ्र्यो । कथाकी पात्र केडी पनि त्यसरी नै हुर्केकी थिई । तर, ऊ त्यो नर्कबाट उम्केर आफ्नै दाम्पत्य जीवन सुरु गर्ने सपना देख्थी । ऊ त्यो रुढीग्रस्त परम्परा र धोत्रिएका धार्मिक आडम्बरलाई च्यात्न चाहन्थी । त्यसैले ऊ देवीसित वरदान माग्न जान्छे । त्यही क्रममा बाटोमा हिँड्दा उसको मनमा खेलेको कुरालाई कथाले राम्रोसँग चित्रण गरेको छ । कथामा जगतबहादुर चन्दलाई वर्षौँपछि देवकीसँगको आफ्नो नाजायज सम्बन्धबाट जन्मेकी केडीलाई छोरी स्वीकार्न लगाउनुले समाजमा कायम रहेको देवकी प्रथाको अन्त्य आवश्यक रहेको कुरालाई देखाइएको छ ।
‘दावाङ साङमु’ हिमाली भेगको गुम्बाभित्र हुने प्रेमको कथा हो । यो कथा गुम्बाभित्रको निरसलाग्दो जीवनबाट भाग्ने योजना बनाउने एक प्रेमिल जोडीको कथा हो । ङावाङ तेन्जिङ दावाङ साङमुलाई काठमाडौँ गएर व्यापार गरेर पैसा कमाउने र कमाएको पैसाको केही रकम गुम्बालाई दान दिने सपना देखाउँछ । दावाङ साङ्मु नावाङ तेन्जिङले देखाएको काठमाडौँको कल्पनामा हराउँछे । तर, दावाङ साङ्मुलाई काठमाडौँको सपना देखाउने नावाङ तेन्जिङ आफै तपस्या गर्न गुफा पसेको कुरा आफ्नी फुपूबाट सुन्छे । यो कुरा सुनेर ऊ छाङ्गोबाट खसेझैँ हुन्छे र तत्काल उसको मृत्यु हुन्छ । कथाले अरुको आस भोकैबास भन्ने उखानलाई चरितार्थ गर्छ ।
‘त्यो खप्पर’ ल्हासामा व्यापार गर्ने किसीलालको कथा हो । आफूले दुःख गरी कमाएर नेपाल पठाएको रकमले उसकी स्वास्नीले अर्कैको लोग्नेलाई पोस्ने गरेको कुरा उसलाई राम्ररी थाहा थियो र यता ल्हासाकी स्वास्नी पिँधमा प्वाल परेकी थिई । तापनि उसले ल्हासाको व्यापारबाट ठुलो नाफा कमाएर काठमाडौँमा विलासितापूर्ण जीवन बिताउने सपना देख्न कहिल्यै छोडेन । सधैँ मूर्तिको पूजामा तलीन रहने किसीलाल वास्तवमा एक अवैध मूर्ति व्यापारी थियो । यो कुरा उसका साथीहरूलाई पनि राम्ररी थाहा थियो । त्यसैले जमघटका बेला समयसमयमा हाँसी मजाक गरेजस्तो गरी ऊमाथि साथीहरूको छेडखानी हुन्थ्यो । एकदिन त्यही छेडखानी सहन नसकेर उसको मृत्यु हुन्छ । कथाले अवैध तरिकाले कमाएको अकुत सम्पत्तिले जीवन कहिल्यै सार्थक हुन सक्दैन भन्ने सन्देश दिएको छ ।
‘कीर्तिपुरको काइलाल महर्जन’ जुम्लाकी युवती र कीर्तिपुरको युवकबिचको प्रेम र विवाहको कथा हो । यो कथा स्वैरकल्पनामा आधारित कथा हो । ५० वर्षअगाडि नै मृत्यु भएको काइलालले ५३ वर्षअघि मरेकी आफ्नी बदमकलीलाई दिनका लागि जुम्ला काठमाडौँ ओहोर दोहोर गर्ने एकजना सरकारी कर्मचारीको हातमा चिट्ठी थमाइदिन्छ । यसै क्रममा तिनीहरूबिच कीर्तिपुरे जनताको दुःख र पीडाबारे लामो कुराकानी हुन्छ । कथामा काइलालमार्फत कीर्तिपुरमाथि गोर्खाली सेनाको हमलाले कीर्तिपुरे जनताको सामाजिक तथा आर्थिक जीवनमा परेको नकारात्मक प्रभाव र त्रिभुवन विश्वविद्यालय बनाउने बेला सरकारले तिनीहरूमाथि गरेका अन्याय र अत्याचारलाई उजागर गराइएको छ । विकासको नाउँमा रैथाने नेवारहरूको जमिन खोस्ने क्रम आजपर्यन्त कायम नै छ ।
‘कालीगण्डकीको हुरी’ मा बहुपति प्रथालाई नजिकैबाट नियाल्न सकिन्छ । बहुपति प्रथाअनुसार एउटा परिवारमा जतिसुकै छोरा भए पनि जेठोले मात्र विधिपूर्वक विवाह गरी ल्याउने चलन छ । अनि उसले घर थामी बसेसम्म पारिवारिक सम्पत्ति सबैमा विवाहिता दम्पतीको एकलौती हक हुन्छ । बाँकी सबै भाइहरू संयुक्त परिवारमा बसी सम्पत्ति, स्वास्नी तथा छोराछोरीमाथिको पैतृक हकमा साझेदार हुने चलन छ । कुनै भाइले अलग स्वास्नी ल्याउने रहर ग¥यो भने उसले पैतृक सम्पत्तिमा दाबी गर्न पाउँदैन । त्यस्ता मानिसहरू धेरैजसो गाउँ छोडेर अन्त बसोबास गर्न जान्छन् । हिमाली भेगको भौगोलिक विषमताका कारण यहाँ बहुपति प्रथाको प्रचलन रहेको पाइन्छ ।
कथामा चार दाजुभाइको संयुक्त बिहे हुँदा कथाका पात्र ग्याम्जो जम्मा ७ वर्षको मात्र थियो । उसलाई आफूभन्दा १४ वर्ष जेठी स्वास्नीले आमाले जस्तै हुर्काएकी थिई र ठुलो भएपछि उसकी स्वास्नीले नै आइमाई र लोग्ने मान्छेका बिचमा कायम हुने एक अर्काको स्नेहमा भिज्न भिजाउन सिकाएकी थिई । त्यसैले उसकी स्वास्नी उसलाई विशेष माया गर्थी । स्वास्नीसँग आफ्नो समय बिताउने पालो हुँदाहुँदै पनि ज्वरोले थलिएको आफ्नो जेठो दाजु घर आएपछि आफू घरबाट निस्कनुपरेको ग्याम्जोको त्रासदीपूर्ण रात र कालीगण्डकीको हुरीको चित्रण कथामा गरिएको छ ।
‘मुटुको बह’ राउटे जातिको सामुदायिक मूल्य, परम्परा र न्यायमा आधारित कथा हो । कथाका मुख्य पात्र मुखिया ढकबहादुर आफ्नो समुदायको हितको निम्ति आफ्नै सहोदर भाइले दिएको पीडा सहन बाध्य हुन्छ । राउटे जातिको गोलो फुट्न दिनु हुँदैनथ्यो । तर, आफ्नो जाति भित्र हुन लागेको द्वन्द्वलाई रोक्न ढकबहादुर आफ्नै हातले गोलो फुटाएर दुई फ्याक पार्न बाध्य हुन्छ । यही मुटुको बह बोकेर आफ्नो बाँकी गोलो लिएर बास सरेको कथाको दृश्यले पाठकको मनलाई भारी बनाउँछ ।
‘मदनको भाले’ बाल मनोविज्ञानमा आधारित कथा हो । आफूले माया गरेर हुर्काएको भाले मदनका बाले बेच्छ । तर, उसले केही पैसाको लोभमा परेर बेचेको भालेको कारण आफ्नो छोरा मदनको बालमस्तिष्कमा परेको चोट सहन सक्दैन । त्यसैले मदनको बा आफूले बेचिसकेको भालेको लागि केही रकम थपेर फिर्ता ल्याउन बाध्य हुन्छ । आफ्नो छोरोले भोग्नु परेको पीडा आफूले केही वर्षअगाडि गरेको कर्तुतकै कारण हो भन्दै पछुतो गर्छ । कथाले पृथ्वी गोलो छ र आफूले अरुलाई दिएको पीडा फर्केर आफैतिर आउँछ भन्ने कुराको पुष्टि गर्छ ।
‘राधा जिल्ल परी’ कथामा पुरानो मान्यताका कारण एकजना निर्दोष किशोरीले भोग्नुपरेको मानसिक तनावलाई देखाइएको छ । उरन्ठ्यौला केटाहरूले हिँड्दै नहिँडेको र बोल्दै नबोलेको केटोसित लागेको कुरा राधाका आमाबुबालाई सुनाउँछन् र त्यही बातले गर्दा राधा विद्यालय जानबाट वञ्चित हुन्छे । कथाले तत्कालीन नेपाली समाजको पछौटेपनलाई चित्रण गरेको छ ।
‘हरिबले’ कथामा राजनैतिक व्यङ्ग्यको वर्णन गरिएको छ । कथाले नेपालमा जस्तोसुकै राजनैतिक परिवर्तन आए पनि सत्ता र पदमा पुग्न जुनसुकै निर्लज्ज काम गर्न पछि नपर्ने हरिबलेहरूजस्ता पात्रहरू आज पनि जिउँदै रहेको भान गराउँछ ।
‘पानसुका’ कथामा विधुवा महिलाहरूमाथि लाग्ने विभिन्न किसिमको लान्छना र ती लान्छनाका कारण तिनका सन्तानले भोग्नुपरेको मानसिक पीडालाई देखाइएको छ ।
कथासङ्ग्रहका ‘समाजको प्रभाव’, ‘जोईपोइ’, ‘सपना’, ‘छाल’ कथा पनि त्यतिकै सरल र सरस छन् ।
मानवशास्त्री तथा कथाकार डोरबहादुर बिष्टको जन्म सन् १९२८ अप्रिल १५ का दिन ललितपुरमा भएको थियो । वि.सं २०४८ सालमा जुम्ला पुगेका विष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा निकै काम गरे । डिल्लीचौर गाविसको लासीमा कर्णाली इन्स्टिच्युट स्थापना गरे । विष्ट ०५२ पुस २५ गतेदेखि घर (काठमाडौँ) जान्छु भनेर गाउँबाट हिँडेका उनको स्थिति आजसम्म अज्ञात छ । हाल उनी कुन अवस्थामा कहाँ छन् कसैलाई थाहा छैन ।
कथासङ्ग्रह प्रकाशित गरेर पाठकसामु ल्याउने हिमाल किताबलाई धन्यवाद !
Leave a Reply