भर्खरै :

कोरोना परीक्षण गर्न लुकेर स्वास्थ्य संस्था धाउँदै

सिन्धुली, २२ जेठ । कोभिड–१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेका सङ्क्रमित रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन् । समुदायमा कोरोनाको सङ्क्रमण फैलिरहेको छ । सङ्क्रमणका लक्षण देखिए पनि परीक्षण गर्न नआउँदा सङ्क्रमित थपिँदै र सङ्क्रमण फैलँदै गएको छ ।
सङ्क्रमण भएका व्यक्तिलाई रोगको भन्दा समुदायको डर छ । सङ्क्रमणका लक्षण देखिए पनि पीसीआर परीक्षण नगरी घरमै बस्दा सङ्क्रमणको स्थिति झन् भयावह हुनसक्ने सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा. धिरेन्द्रकुमार सुदा भन्नुहुन्छ ।
“दिउँसो सुनसान हुन्छ यहाँ रात परेपछि ‘कोरोना परीक्षण गर्नु परो’ भन्दै धेरै आउनुहुन्छ, हामी परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइदिन्छौँ, कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्ति सबैले स्वास्थ्य संस्थामा नै बस्नुपर्छ भन्ने हुन्न । सङ्क्रमणका लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिने, सास फेर्न गाह्रो हुनुजस्ता लक्षण भएका बिरामीलाई हामी आइसोलेसनमा राखेर उपचार गर्दै आएका छौँ,” उहाँले भन्नुभयो ।
यतिबेला कोभिड–१९ को दोस्रो लहर चलिरहेको छ । यहाँ एकै व्यक्तिले २७ जनासम्मलाई सङ्क्रमित बनाएको पाइएको छ । समुदायमा हिँड्डुल, खेतीपातीको काम गर्ने तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा सङ्क्रमण भुसको आगोझैँ समुदायमा फैलन सक्ने खतरा रहेको छ ।
सिर्थौली कोभिड–१९ अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिले भन्नुभयो, “गाउँमा ज्वरो आउने, खोकी लाग्ने, छाती दुखो भन्ने बिरामी धेरै छन्, केही त ठीक भइसके तर केहीलाई उस्तै छ, यतिबेला रोगको भन्दा समुदायको ठूलो डर छ, दुधौली नगरपालिकाले कोरोना सङ्क्रमितको घरमा स्टिकर टाँसिदिँदा परीक्षण गराउन आउन नमान्ने धेरै छन् ।”
एन्टिबाइटिक औषधिको प्रयोग बढ्दो
यतिबेला रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने बित्तिकै सबैलाई डर लागि हाल्छ, कि अब कोरोना लाग्यो । यस्ता लक्षण देखिनासाथ नडराई नागरिक स्वास्थ्य संस्थामा जानुपर्छ । यहाँ त्यसो हुन सकिरहेको छैन, सामान्य तरिकाले टाउको दुख्ने, खोकी लाग्ने र हल्का ज्वरो आउने बित्तिकै टाइफाइडको औषधि खाने चलन रहेको बताइएको छ ।
टाइफाइडको जाँच गरेर चिकित्सकको सिफारिसअनुसार पाँच दिनसम्म बिरामीले औषधि सेवन गर्नुपर्छ । यतिबेला यस्ता लक्षण देखिनासाथ सिधै मेडिकलमा गएर डाइफाइडको औषधि खानेको सङ्ख्या उल्लेख्य रहेको बताइन्छ ।
सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा. सुदाले भन्नुभयो, “केही दिनअघि एकजना ज्वरो आयो भन्दै आउनुभयो, हामीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर ग¥यौँ, पछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भयो ।” उहाँको अवस्थामा अहिले सुधार भइरहेको बताउनुभयो ।
“हामीले उहाँलाई किन गाह्रो भएपछि आउनुभयो भनेर सोध्दा पाँच दिनसम्म टाइफाइडको औषधि खाएको र कम नभएपछि आएको सुनाउनुभयो, समुदायमा टाइफाइडको औषधि खाने धेरै रहेछन् यसले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ”, उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *