भर्खरै :

हल्लामा आफूखुसी उपचार नगर्दा वेश

कोरोना भाइरसको महामारीमा सङ्क्रमणबाट बच्न भन्दै आफूखुसी अनेक प्रकारका रोकथाम र उपचार विधि अपनाउँदा झनै स्वास्थ्यमा दुष्परिणामहरू देखिएको विज्ञहरूको भनाइ छ । कोरोना रोकथामका लागि लाभदायक हुने भनेर सामाजिक सञ्जालमा बेसार, मेथी, एलोभेराको जुस, अम्बाको पात, भिटामिन ‘डी’ लगायतको अत्यधिक सेवनले स्वास्थ्यमा नकारात्मक प्रभाव परेको बताइन्छ । डाक्टर अथवा सम्बन्धित विशेषज्ञहरूको सल्लाहविना रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने भन्दै अनेक प्रकारका औषधिहरूको प्रयोगले कोरोनाबाहेकका अन्य स्वास्थ्य समस्याहरू देखिएका छन् । तसर्थ, त्यस्ता तथ्यहीन हल्लाका पछि नलाग्न विज्ञहरूले सुझाव दिएका छन् ।
भारतको केरलामा कार्यरत डा. फिलिपले मेथीको अत्यधिक सेवनले रगतलाई पातलो गर्ने र रक्तस्राव हुनसक्ने बताउनुहुन्छ । दिल्लीस्थित मेदान्त अस्पतालका डा. एम सफी कुचेले बेसारको अत्यधिक प्रयोगबाट आप्mना एक बिरामीको आँखा पहेँलो भएको बताएका छन् । अश्वगन्धा, धेरै औषधिहरू मिसाएर खाइने काढा, च्यवनप्रासजस्ता उत्पादनको अत्यधिक प्रयोगले पाचन प्रणाली समस्या हुने धर्मशीला नारायण सुपरस्पेस्यालिटी अस्पतलका डा. गौरव जैन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “इम्युनिटी बुस्टरको नाममा अनेक औषधिको अत्यधिक प्रयोग नगर्नुहोस् । विशेषगरी त्यस्ता व्यक्तिले जसलाई पहिलेदेखि नै अन्य रोगले सताइरहेको छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई भारतका योगगुरु रामदेव बाबाले उत्पादन गरेको ‘कोरोनिल किट’ अनुदानमा दिएको समाचार छ । कोरोना सङ्क्रमण नियन्त्रण गर्ने हालसम्म कुनै एलोपेथिक वा आयुर्वेदिक औषधि आधिकारिकरूपमा पुष्टि भएको छैन । भारतको आयुष मन्त्रालयअन्तर्गत सेन्ट्रल ड्रग्स स्ट्यान्डर्स कन्ट्रोल अर्गनाइजेसनले उत्पादनको अनुमति प्रदान गरिए पनि ‘कोरोनिल किट’ भारतमै पनि विवादित भएकोले चिकित्सकहरूले बिरामीलाई प्रयोगको लागि अनुमति दिएको छैन । त्यसैगरी ‘कोरोनिल किट’ कुनै पनि देशमा वितरण तथा बेच्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अनुमति नदिएको बताइन्छ । भुटानको ड्रग रेगुलेटरी अथोरिटीले गत वर्षमै भुटानमा बेच्न रोक लगाएको समाचार छ । नेपालमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ‘कोरोनिल किट’ लिएकोले सामाजिक सञ्जालमा आलोचना भएको छ । औषधी व्यवस्था विभागले भने ‘कोरोनिल किट’लाई अनुमति नदिएको बताइन्छ । प्रचारबाजी र हल्लाको भरमा स्वास्थ्यकर्मी विज्ञहरूको अनुमति र सल्लाहविना आपूmखुसी उपचारमा नलाग्नु नै उपयुक्त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *