भर्खरै :

सङ्क्रमण घट्यो, लापरबाही बढ्यो

काठमाडौँ, २३ जेठ । जेठको पहिलो साता नेपालमा कोभिड–१९ सङ्क्रमण र त्यसबाट हुने मृत्युदर उच्च थियो । जेठ १ गतेको तथ्याङ्क हेर्ने हो भने आठ हजारभन्दा माथि दैनिक सङ्क्रमित हुँदा १८७ जनाले ज्यान गुमाएका थिए । त्यसबेला मृत्युदर पनि बढ्दो थियो । जेठ दोस्रो साताबाट सङ्क्रमण दरभन्दा निको हुने दर बिस्तारै बढ्न थालेको छ ।
आइतबारको तथ्याङ्क हेर्ने हो भने झन्डै ३ हजार ५०० सङ्क्रमित हुँदा निको हुने दर झन्डै दोब्बर ६ हजार ६०० माथि पुगेको छ । विगतमा दैनिक २४५ जनासम्म मृत्यु भएकोमा अहिले मृत्युदर घटेर दुई अङ्कमा झर्नु सुखद सङ्केत हो । आज मुलुकभर ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अघिल्लो महिना वैशाखको यो समयमा सङ्क्रमण दैनिक नौ हजार माथि थियो । पछिल्लो समयमा मुलुकभर यसरी सङ्क्रमण र मृत्युदरमा केही न्यूनीकरण आएको देखिएसँगै मानिसको लापरबाही भने बढ्न थालेको छ ।
कोरोना नियन्त्रणमा काठमाडौँको सडक क्षेत्रमा खटिएका एक जना प्रहरीले मानिस फेरि जथाभावी बाहिर निस्कने क्रम बढ्न थालेकोमा चिन्ता जनाउनुभयो । बिहान बेलुका यसरी निस्कने मानिसलाई उपत्यका प्रहरीले नियन्त्रण गर्नसक्ने अवस्था देखिएको छैन । गल्लीका सडक बजारमा अझै प्रहरीको उपस्थिति न्यून हुँदा झनै लापरबाही छ ।
जेठ २० गतेदेखि भने उपत्यकामा सवारी साधन आवागमन बढेको छ । प्रहरीले दैनिक सयौँ सवारी साधन नियन्त्रणमा लिए पनि त्यसरी उल्लङ्घन गरेर हिँड्ने सवारी उत्तिकै छन् । प्रहरीको अभिलेखमा मुलुकभरमा दैनिक तीनदेखि चार हजार गाडी अनावश्यक रुपमा सडकमा निस्किएका छन् । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर निषेधाज्ञा उल्लङ्घनविरुद्ध कडारूपमा प्रस्तुत हुँदै आएको बताउनुहुन्छ । उहाँका अनुसार कतिपयलाई कारबाही गरिएको छ ।
प्रहरीको आँखा छलेर बाहिर निस्कने जमात यत्रतत्र देखिएको छ । कतिपय व्यक्ति दोकान अगाडि बस्ने । अनि ग्राहक आएपछि सटर खोलेर सामान दिने त्यसपछि पुनः सटर लगाएर त्यसैगरी कुरेर बस्ने गरेका छन् । यो क्रम मुलुकका अधिकांश क्षेत्रमा जारी छ । कतिपयले कुनै सामान चाहियो भने फोन गर्नुहोला भनेर सटरमा नम्बर टाँसेरसमेत राखेको पाइएको छ ।
निषेधाज्ञा लगाउनुको उद्देश्य सङ्क्रमणको साङलो चुँडाल्नु हो । यस्ता गतिविधिले भने साङ्लो चुँडाल्न समस्या हुन्छ । केही समय सर्वसाधारण आफैँ सचेत हुने हो भने सङ्क्रमण रोक्न सकिन्छ । प्रहरीले मात्रै रोक्न सक्छ भन्ने हुन्न ।
प्रहरी प्रवक्ता कुँवर भन्नुहुन्छ, “हामीले सक्ने नियत्रण गरिरहेका छौँ, आफ्नै स्वास्थ्यका लागि हो भनेर मानिसले बुझ्नुपर्ने हो, त्यसतर्फ पनि सचेत गराउने हाम्रो प्रयास जारी छ ।” अहिले मुलुकका खोटाङ र मनाङ बाहेकका ७५ जिल्ला आइतबार पनि निषेधाज्ञामा छ । अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ । जेठ महिनाभर यो क्रम जारी रहन्छ ।
गएको एक साता उपत्यकाका तीनवटै जिल्ला प्रशासनले निषेधाज्ञाको आदेशलाई कडाइ गरे पनि २० गतेदेखि थपिएको १० दिनको अवधिमा खुकुलो गरिँदा सडकमा मानिसको उपस्थिति बाक्लिएको हो ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे अहिलेको आदेशमा निर्माणका गतिविधि तथा ढुवानीका गतिविधिसमेत खुला गरिएको र पसल पनि सञ्चालन गर्न पाउने भएकोले मानिसको चहलपहल विगतको भन्दा बढ्नु स्वाभाविक भएको बताउनुहुन्छ । त्यस विषयमा स्थानीय प्रशासनबाट अनुगमन गर्ने र कमी–कमजोरी सच्याउने कुरामा सचेत रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।
मनोविद् नरेन्द्रसिंह ठगुन्ना कोरोना हट्न थाल्यो भन्ने सूचनाहरू सार्वजनिक भएपछि त्यसले मानिसको सोचमा परिवर्तन गरिदिएकोले बाहिर निस्कन मद्दत गरेको बताउनुहुन्छ । उहाँ सङ्क्रमण घटेपछि अझै सावधानी अपनाउनु जरुरी छ भनेर चेतना जागृत गराउनुपर्ने सुझाव दिनुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रो र चौथो लहरको कोरोना आउनसक्ने भन्दै चेतावनी दिइसकेको छ । त्यसबेला बालबालिका बढी खतरामा पर्ने भएकोले त्यसको सामनाका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन समेत दिइसकेको छ ।
काठमाडौँ प्रशासनले जेठ अन्तिम साताको अवस्थाको तथ्याङ्क हेरेर असारपछि हुने निषेधाज्ञालाई कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाएको छ । देशभरका स्थानीय प्रशासनले यही हप्ताका अवस्थाको तथ्याङकको प्रतिक्षा गरिरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *