उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो साता कोभिड–१९ को सङ्क्रमण दर केही घटेको देखिएको छ । दैनिक दस हजारभन्दा बढी मानिस सङ्क्रमण हुने रेखा अहिले ओरालो झरेर ५ हजारभन्दा तल झरिरहेको छ । मृत्युदर पनि घटेको जस्तो देखिएको छ । जेठको सुरूको सातामा देशैभरिका अस्पतालहरूमा देखिएको अभाव र भयावह अवस्था अहिले केही हल हुँदै गएको देखिएको छ ।
नेपालको सङ्क्रमण दरसँग प्रत्यक्ष सम्बन्ध राख्ने छिमेकी देश भारतमा पनि पछिल्लो साता सङ्क्रमण र मृत्युदर क्रमशः ओरालो लागेको खबर छ । महिनौँ लामो निषेधाज्ञा र दैनिकजस्तो तनावपूर्ण दुःखद समाचार सुनेर घरभित्रै कैद बसेका नेपालीलाई सङ्क्रमणमा देखिएको सुधारले केही आशावादी पक्कै बनाएको हुनुपर्छ । तर, देशभरिबाट प्राप्त समाचारको आधारमा भन्नुपर्दा धेरै उत्साहित भइहाल्ने अवस्था पनि बनिसकेको देखिँदैन । अघिल्लो लहरभन्दा फरक यो पटकको लहर सहरी क्षेत्रमा मात्र सीमित देखिएन । बरू दुर्गमभन्दा दुर्गम जिल्लाहरूका विकटभन्दा विकट गाउँहरूसमेत महामारीको चपेटामा परेका छन् । काठमाडौँ उपत्यकाका कोभिड अस्पतालहरूमा पनि बिरामीको चाप केही साताअघिको जस्तो सघन नभए पनि काठमाडौँ उपत्यकाबाहिरबाट गम्भीर बिरामीहरू आउने क्रममा कमी नआएको स्वास्थ्यकर्मीहरू भन्दै छन् । त्यस्तै दोस्रो लहरबाट सबभन्दा बढी प्रभावितमध्ये सुदूरपश्चिम प्रदेशमा सङ्क्रमण दरको अनुपातमा मृत्युदरमा कमी आएको छैन ।
काठमाडौँ उपत्यकामा पनि जेठको सुरूमा जुन सङ्ख्यामा दैनिक पीसीआर परीक्षण र एन्टीजेन परीक्षण हुने गरेको थियो, त्यसमा निकै कमी भएकोले पनि सङ्क्रमितको सङ्ख्या ओरालो लागेको हो कि भन्ने आशङ्का छँदै छ ।
सरकारी तथ्याङ्कमा सङ्क्रमण दर केही ओरालो लागेसँगै सर्वसाधारणले सङ्क्रमणबाट जोगिनको लागि पालना गर्नुपर्ने नियममा बेवास्ता गर्न थालेको देखिएको छ । निषेधाज्ञाबीच राजधानीका सडकमा सवारी जाम हुने अवस्थाले सर्वसाधारणको बढ्दो आवतजावतको सङ्केत गरेको छ । बजारमा किनमेलको लागि बाहिर आउने, बाहिर आउँदा पनि सावधानीका नियम पालना नगर्ने मानिसको सङ्ख्या बढिरहेको छ । संसारका विभिन्न देशको अनुभवले कोभिडको महामारी केही घटेर पछि फेरि उकालो लाग्दा धेरै क्षति भएका देखिएको छ । पहिलो लहर केही हलुका भएपछि सावधानीका नियमको पालनामा कमजोरी गर्दा दोस्रो लहरले अझ बढी खराब असर पारेको उदाहरण त नेपाल आफै पनि हो । सरूवा रोगका विज्ञहरूले सावधानीमा ध्यान नदिए भविष्यमा तेस्रो लहरको सम्भावना पनि प्रबल भएको बताएका छन् ।
कतिबेला समाज र सरकारलाई तथ्याङ्कले मुर्ख बनाइरहेको हुनसक्छ अथवा कसैले कसलाई झुक्याउने औजार पनि तथ्याङ्क हुने गरेको छ । तथ्याङ्ककै औजार प्रयोग गरेर सरकारले जनतालाई पनि झुक्याइरहेको वा भुलभुलैयामा राखेको हुनसक्छ । तर, नेपालमा सङ्क्रमणको अवस्थामा अझै कुनै उल्लेखनीय सुधार भने भइसकेको छैन । अवस्तुगत तस्बिरमा मख्ख परेर न सरकारले न सर्वसाधारणले छिद्र खोल्ने गल्ती गर्नुहुन्छ । स्वास्थ्य सुविधाको पहुँच कम भएका ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिनु अझ बढी चिन्ताजनक अवस्था हो । सहरी क्षेत्रमा सङ्क्रमण हुँदा स्वास्थ्य उपचार पाउने सम्भावना जति हुन्छ, ग्रामीण क्षेत्रका जनतालाई त्यस्तो सम्भावना न्यून हुन्छ । तसर्थ, सरकारले ओरालो लागेको रेखाचित्र देखाएर सुखानुभूति गरेर बस्ने समय यो होइन । जङ्गली आगोजस्तै फैलिएको भाइरसको समुल निर्मूलन नहुँदा अझै कोही पनि सुरक्षित हुनसक्दैन । सर्वसाधारणले पनि सरकारी तथ्याङ्क हेरेर दङ्ग पर्दै सावधानीका उपायमा खेलाँची र बेवास्ता गर्न मिल्दैन । फेरि पनि सङ्क्रमण फर्केर आउँदा हुने जोखिमबारे विचार गरौँ । सावधानीका उपायको कडाइका साथ पालना गरौँ ।
Leave a Reply