भर्खरै :

ताइवानमा संरा अमेरिकाको अर्को मोहजाल

पेइचिङ, ७ जून । ताइवानको प्रश्नमा वाशिङ्टनले फेरि एकपल्ट पेइचिङको लक्ष्मण रेखालाई चुनौती दिएको छ ।
आइतबार चीनको ताइवानमा संरा अमेरिकाका तीन जना सिनेटरहरूको अचानकको अनपेक्षित भ्रमण चीन–संरा अमेरिकाबीचको तीन संयुक्त वक्तव्यको विपरीत हो । ती तीन वक्तव्यले संरा अमेरिका र ताइवानबीच कुनै पनि खालका औपचारिक भ्रमणलाई अनुमति दिएको छैन । यो पटक कोभिड–१९ खोपको बहानाबाजीमा यस्तो उत्तेजना फैलाउने काम भएको छ ।
ताइवान पुगेका तीन जना अमेरिकी नेताहरूले ७ लाख ५० हजार खोप प्रदान गर्ने वाचा गरेका छन् । तर, उनीहरूले कुन कम्पनीको खोप दिन लागेका हुन् अनि कहिलेसम्म ती खोप आइपुग्ने हुन् ? कुनै निश्चित गरिएको छैन । न त ती नेताहरूले ताइवान जाँदा नै केही बोकेर गएका थिए । बरु, वाशिङ्टनले ताइवानलाई मोहजालमा फसाउन खोजिरहेको छ ।
मानवीय सहायताको आवरणमा यो पटकको भ्रमणको मूल अभिप्राय चीनविरोधी राजनीतिक नौटङ्की गर्ने हो । ताइवानमा फैलिँदो महामारीको अवस्थाको कारण चिन्तामा डुबेका ताइवानी अधिकारीहरूलाई केही साङ्केतिक समर्थन जनाउन उनीहरू त्यहाँ पुगेको देखिन्छ ।
संरा अमेरिकाले ताइवानलाई लामो समयदेखि चीनको विकासमा गतिरोध सिर्जना गर्न राजनीतिक औजारको रूपमा प्रयोग गरिरहेको छ । वाशिङ्टनको खास चासो ताइवानको जनताको स्वास्थ्य र जीवन कदापि होइन । बरु एसिया–प्रशान्तको आफ्नै भूराजनीतिक स्वार्थ हो ।
आइतबारको भ्रमणमा वाशिङ्टनले खोप दिने गरेको मौखिक वाचाभन्दा ती अमेरिकी नेताहरू संरा अमेरिकी वायु सेना सी–१७ ग्लोबमास्टर तीन विमानबाट त्यहाँ पुग्ने थप चर्चाको विषय बनेको छ । संरा अमेरिकाको त्यो सैनिक विमान ताइवानको एउटा सैनिक विमानस्थलमा अवतरण गरिएको थियो ।
वाशिङ्टन र ताइवान सरकारबीच कुनै औपचारिक सम्बन्ध हुन नहुने अवस्थामा सैनिक शक्तिबीचको सम्बन्ध हुने त कुरै छैन । वाशिङ्टनका यस्ता बद्नियतपूर्ण कदमसँग उसले दाबी गरेजस्तो कोभिड–१९ सँगको लडाइँमा कुनै सरोकार राख्दैन । बरु, सो क्षेत्रमा तनावमात्र बढ्नेछ ।
ताइवानको जनता यतिबेला फैलिँदो महामारी र खोपको अभावसँग लडिरहेका छन् । यस्तो बेला ताइवानका केही नेताहरू खोपलाई राजनीतिक औजार बनाउन खोजिरहेका छन् ।
ताइवानका आफ्ना देशवासीलाई कोभिड–१९ विरुद्धको लडाइँमा चीनले पटक–पटक सहयोगको हात बढाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनबाट अनुमोदित चीनमा बनेको खोप दिन चीनले पटक–पटक प्रस्ताव गरेको छ ।
तथापि, ताइवानको प्रजातान्त्रिक प्रगतिशील पार्टी (डीपीपी) का अधिकारीहरूले चीन सरकारको चाहनाप्रति आँखा चिम्लेको छ । चीनमै बनेको खोप दिने प्रस्तावलाई ताइवानले लत्याएको छ । अझ उल्टो चीनले खोप खरिदमा ताइवानलाई अवरोध गरेको झूठो आरोप लगाएको छ ।
डीपीपीका अधिकारीहरूले ताइवानका जनताको जीवन र स्वास्थ्यप्रति कुनै सम्मान देखाएनन् । साथै आधारभूत मानवीय भावना पनि उल्लङ्घन गरे ।
ताइवान चीनको अविभाज्य भाग हो । एक चीन नीति अन्तर्राष्ट्रियरूपमा स्वीकार्य मान्यता हो । अन्तर्राष्ट्रिय समुदायमा यसमा सर्वसहमति पनि छ ।
चीनले आफ्नो मूल हितमा कहिल्यै सम्झौता गर्दैन । संरा अमेरिकाले एक चीन नीतिको सिद्धान्तलाई उपेक्षा गर्न विभाजनको रणनीति प्रयोग गर्नु ठीक होइन । संरा अमेरिका आफै पनि यो नीतिप्रति प्रतिबद्धता देखाउँछ । ताइवानका पृथकतावादीहरूलाई गलत सन्देश दिन उसले बन्द गर्नुपर्छ । सो क्षेत्रको अवस्थालाई अझ जटिल बनाउने काम बन्द गर्नुपर्छ ।
यदि संरा अमेरिकाले वास्तवमै ताइवानसमक्ष महामारीविरुद्धको लडाइँमा सहयोगको हात बढाउन चाहेको हो भने उसले एक चीन नीतिको सिद्धान्तअन्तर्गत नै त्यस्तो सहायता गर्नुपर्छ । अहिले ताइवानमा उसले जे गरिरहेको छ, त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई मात्र खतरनाक जालमा फसाउनेछ ।
‍‍‍‍‍‍‍‍‍‍‍
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *