भर्खरै :

राउटे जातिको संरक्षणमा राज्यको बेवास्ता

सरकारले राउटे समुदायको शैक्षिक र आर्थिक विकासमा ध्यान दिन नसक्दा आज त्यो जाति सांस्कृतिक अतिक्रमणको चपेटामा परेको छ । राउटे जाति विशेषतः कर्णाली अञ्चलका विभिन्न जिल्लामा बस्ने घुमन्तु वन्यजाति हो । अन्य समुदायबाट अलगै बस्ने यो समुदायका आफ्नै भाषा, संस्कृति र रीतिरिवाज छन् । जङ्गलमा बस्ने र वन्य उत्पादन खाने यो जातिलाई राज्यले लगातार उपेक्षा गरिरह्यो । ‘जङ्गली जाति’, ‘आफ्नै नियम–कानुन भएको जाति’ आदि विभिन्न बहानामा राज्यले यो जातिको जीवनस्तर सुधार गर्नमा कुनै चासो देखाएन न त उनीहरूको नृवंशशास्त्री र सांस्कृतिक अध्ययन गरी तिनको संरक्षणमा कुनै लगानी नै ग¥यो । राज्यको यस्तो उपेक्षाको फाइदा अहिले केही गैरसरकारी संस्था र व्यक्तिहरूले उठाइरहेका छन् ।
हालसालै सामाजिक सञ्जालमा ‘दुई राउटे युवतीहरूमाथि यौन दुव्र्यवहार’ को श्रव्यदृश्य सार्वजनिक भयो । प्रहरीले सो कार्यमा संलग्न तीन जना व्यक्तिलाई सुर्खेतबाट पक्राउ ग¥यो । अहिले यौन दुव्र्यवहारको शिकार बनेका राउटे युवतीहरू केही समयअघिबाट टिकटकजस्ता सामाजिक सञ्जालमा चर्चामा थिए । राउटेहरू बसेको ठाउँमा गएर पैसा, चुरोट, मादक पदार्थ दिएर उनीहरूको भिडियो खिचेर सामाजिक सञ्जालमा लोकप्रिय बन्न खोज्ने र पैसा कमाउन खोज्ने युट्युबरहरूको कारण यस्तो नतिजा देखिएको हो । राउटेहरूलाई पैसा वा केही सामान दिएर ‘सामाजिक सेवा’ गरेको भनी विदेशबाट डलर दोहन गर्ने गैरसरकारी संस्थाहरूले पनि उनीहरूलाई प्रयोग गरिरहेका छन् ।
आफ्नो भूगोलभित्र बस्ने जो कोही पनि नागरिकको सुरक्षा र वृत्ति विकासको जिम्मेवारी राज्यको हो । आधुनिक लोकतान्त्रिक राज्यले आफ्नो क्षेत्रमा बस्ने सबै जाति, भाषाभाषी, समुदायको संस्कृति, मौलिकता, सभ्यताको संरक्षण गर्ने जिम्मेवारी लिनुपर्छ । राउटेहरूलाई असभ्य वा जङ्गली मान्ने र एसियालीहरूलाई असभ्य ठान्ने पश्चिमा सोच उही सोचको परिणाम हो । आजसम्म राउटे समुदायले आफ्नो मौलिकताको संरक्षण गर्न सक्नु उनीहरूको सफलता हो । उनीहरूका आफ्नै सामाजिक नियम र रीतिथिति छन् । कुन त्यस्तो जाति होला, जसको आफ्नै मौलिक रीतिथिति र नियम नहोला । जो कोहीले आफ्नो पुर्खाले बसालेको थिति जोगाउन खोज्नु कुनै आश्चर्यको कुरा होइन । त्यसो भन्दैमा पुर्खाले गरेका गल्ती कमजोरीलाई पनि निरन्तरता दिनुपर्छ भन्ने होइन । परम्परा र रीतिथितिका सही र गलत छुट्याउने चेतना दिने जिम्मेवारी राज्यको हो । राज्य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । राउटेहरूको सामाजिक अध्ययन गरी उनीहरूलाई कसरी शिक्षित, स्वस्थ र सुरक्षित बनाउने भन्ने विषयमा राज्यले ध्यान दिनुपर्छ । ‘राउटेहरू जङ्गलमै बस्छन्’ भन्दै राज्यले उपेक्षा गर्दाको परिणाम त्यो समुदाय आज सांस्कृतिक अतिक्रमणको चपेटामा मात्र परेको होइन, विकृतिमा फसेका छन्, असुरक्षित हुन थालेका छन् ।
कुनै पनि समाजमा परिवर्तन पक्कै पनि सहज र तत्काल हुने प्रक्रिया होइन । त्यसको निम्ति समय लाग्छ । तर, आफ्ना नागरिकमा सकारात्मक परिवर्तनको निम्ति राज्यले जिम्मेवारीपूर्वक लाग्न अपरिहार्य छ । राउटेलाई राज्यले नहेर्दा अरूले तिनको दुरूपयोग गर्ने प्रयास भइरहेको छ । सरकारको जिम्मेवारी महिनामा केही हजार भत्ता दिएर सकिने होइन । राउटे जातिलाई कसरी शिक्षित बनाउने ? उनीहरूका चालचलन र दैनिकीमा रहेका अस्वस्थ कुरालाई कसरी हटाउने ? उनीहरूको जीवनस्तर कसरी उकास्ने ? कसरी सुरक्षित बनाउने ? उनीहरूको मौलिकता पनि संरक्षण हुने गरी कसरी आर्थिक स्तर उकास्ने ? आदि विषयमा राज्यले ध्यान दिन जरुरी छ । निकै थोरै सङ्ख्यामा रहेका राउटेहरू लोप हुनु भनेको हजारौंँ वर्षदेखिको एउटा संस्कृति, भाषा र परम्परा हराउनु हो । तिनको ऐतिहासिक विकासक्रमको अध्ययन गरी संरक्षण गर्न आवश्यक छ । विकासको नाममा अल्पसङ्ख्यकलाई सिध्याउनु न्यायको पक्षधर कुनै पनि राज्यलाई सुहाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *