भर्खरै :

विभिन्न जिल्लाका अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिने

काठमाडौं, २४ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल र पार्टी केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिमार्फत नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई सोमबार एक समारोहबीच हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले छिमेकी देश चीनमा कोभिड रोकथामपश्चात् चीनले विश्वका अन्य देशहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गरिरहेको उल्लेख गर्दै मित्र देश चीन आवश्यकताको समयमा सहयोग गर्ने असल मित्रको रूपमा रहेको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले नेपालका राजनीतिक पार्टीहरूबीच कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनलाइन छलफल भएको अवगत गर्दै सांसद सुवालले चीनबाट प्राप्त स्वास्थ्य सामग्रीहरू नेपालका विभिन्न जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरूमा पु¥याउने व्यवस्थामा जुटेको स्पष्ट पार्नुभयो ।
उहाँले स्वास्थ्य सामग्रीहरू भक्तपुरका अस्पताल र काभ्रेका केही अस्पतालहरूमा हस्तान्तरण गरिसकेको अवगत गराउँदै चीनले नेपालप्रति देखाएको सद्भाव र सहयोगको लागि नेपाल र नेपाली जनताको तर्फबाट आभार प्रकट गर्नुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले मित्र पार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावना समेटिएको उपहार अर्थपूर्ण भएको बताउनुभयो । उहाँले चीनको सहयोग र सद्भावका कारण महामारीविरुद्ध अग्रपङ्क्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरूको मनोबल थप बलियो हुने विश्वास व्यक्त गर्दै सङ्क्रमण नियन्त्रणको लागि यसले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थान व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल सञ्चालनमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त नभइरहेको समयमा मित्र पार्टीको तर्फबाट प्राप्त सहयोगको महत्व रहेको र सहयोगको लागि नगरपालिका र नगरवासीहरूको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले ख्वप अस्पतालको लागि सरकारसँग सहयोगको माग गरेको तर सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त नभएको समयमा भक्तपुर नपाले जनस्तरबाट आर्थिक तथा भौतिक सहयोगको लागि गरेको आग्रहअनुसार प्राप्त सहयोगबाट भनपा प्रकोप व्यवस्थापन कोषमा ५ करोडभन्दा बढी सहयोग जम्मा भएको अवगत गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको इमर्जेन्सी वार्डका इन्चार्ज डा. सुमिता चोलेखोले हाइड्रोजन अक्सिजन मेसिन प्रयोग विधिबारे अवगत गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, भक्तपुर नपाका कार्यपालिका सदस्यहरू, जनस्वास्थ्य सेवा केन्द्रका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
धुलिखेल अस्पताललाई मास्क
सोमबार नै काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित धुलिखेल अस्पताल पुगेर नेमकिपाका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त मास्कमध्ये ५ हजार एन ९५ मास्क हस्तान्तरण गर्नुभयो ।

धुलिखेल अस्पताल


अस्पतालका डा.राजेन्द्र कोजूलाई सो मास्क हस्तान्तरण गरिएको हो । कोभिड–१९ को उपचारमा सुरुबाट नै सक्रियतापूर्वक काम गर्दै आएको अस्पताललाई मास्क सहयोगले विरामीको उपचारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‍‍‍
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *