भर्खरै :

थाइल्यान्डमा पनि उत्पादन हुनथाल्यो अस्ट्राजेनिका खोप

बैङ्कक, ७ जुन (एपी) । कोरोनाभाइरस (कोभिड–१९) महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ ।
खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तिब्र गतिमा खोप दिने अभियान सोमबारदेखि थालेको छ । तर चाहेजति उत्पादन नहुँदा देशका विभिन्न स्थानमा खोप अभियानमा असर परेको अधिकारीहरूले बताएका छन् ।
देशका विभिन्न अस्पताल र खोप केन्द्रहरूले सूचना प्रकाशन गरी सर्वसाधारणलाई खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएका छन् ।
थाइल्यान्डमा सियाम बायोसाइन्सले अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको हो । सरकारले चालु जुन महिनामा ६० लाख, जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना एक करोड तथा डिसेम्बरमा ५० लाख डोज खोप उत्पादन हुने जनाएको छ ।
थाई प्रधानमन्त्री प्रयुथ चान–ओचाले सोमबार संवाददाताहरूसँग कुरा गर्दै योजनाबमोजिम नै खोप आपूर्ति हुने बताउनुभयो । उहाँले राजधानी बैंककस्थित एउटा रङ्गशालामा व्यवस्था गरिएको खोप केन्द्रको निरीक्षणका क्रममा यस्तो बताउनुभएको हो ।
प्रयुथको सरकारमाथि पर्याप्त खोप समयमै व्यवस्था गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । कतिपयले सियाम बायोसाइन्समा बढी निर्भर भएका कारण सर्वसाधारणले समयमै खोप प्राप्त गर्न नसकिएको पनि बताएका छन् । सियाम बायोसाइन्सको स्वामित्व राजपरिवारका सदस्यको रहेको र खोप उत्पादनमा यसको पूर्वअनुभव नरहेको भन्दै चर्को आलोचना हुने गरेको छ ।
प्रधानमन्त्री प्रयुथले स्वास्थ्य मन्त्रालयले हरेक प्रान्तमा सोमबारदेखि नै खोप अभियान सुचारु हुने जानकारी गराएको बताउनुभयो । हरेक क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणका आधारमा खोपको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
थाइल्यान्डमा सन् २०२० को जनवरी यतादेखि हालसम्म एक लाख ८० हजारमा कोरोना सङ्क्रमण देखिएको छ भने एक हजार २६९ जनाको ज्यान गएको छ । सरकारले यसै वर्षको अन्त्यसम्ममा ७० प्रतिशत जनतालाई खोप दिइसक्ने लक्ष्य लिएको छ ।
सोमबारसम्ममा थाइल्यान्डमा ४२ लाख २० हजार डोज खोप दिइएको छ । थाइल्यान्डको कूल जनसङ्ख्या सात करोडमध्ये खोप पाएको जनसङ्ख्या करिब ४ प्रतिशत हो ।
थाइल्यान्डमा हालसम्म चीनमा निर्मित सिनोभ्याक खोप प्रयोग गरिएको छ । अब अस्ट्राजेनिका पनि प्रयोगमा आउने छ भने थाई सरकारले फाइजर र जोन्सनका खोप पनि भित्र्याउने योजना अघि सारेको छ ।
चीनले हालसम्म थाइल्यान्डलाई ६५ लाख डोज सिनोभ्याक खोप उपलब्ध गराएको छ । शनिबार पनि पाँच लाख डोज सिनोभ्याक खोप थाइल्यान्ड आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *