भर्खरै :

तराईमा किसान सङ्घर्ष आवश्यक

जनता समाजवादी पार्टी (जसपा) अनेक दलका नेता र कार्यकर्ताहरू मिलेर बनेको दल हो । जसपा विभिन्न मधेसवादी दलका नेता, नेका, माओवादी, माले र एमाले छोडेर या असन्तुष्ट भएर निस्केका या छोडेका नेताहरूको गठबन्धन हो । स–साना पार्टीहरूको अस्तित्व लोप हुन्छ, सानो दलले केही गर्न नसक्ने भन्ठानेर ठुलो दल बनाउन या देखाउन एकीकृत भएको हो जसपा । यसरी विभिन्न दलका नेताहरू मिलेर बनेको दल भएकोले पनि यस दलको कुनै मार्ग निर्देशक सिद्धान्त छैन । यो दल कुनै सिद्धान्त, दर्शन र विचारको आधारमा बनेको होइन । अरूको अगाडि ठुला दल भएको देखाउने ध्येयले गठन भएको जसपाको कुनै मार्ग निर्देशक सिद्धान्त नहुनु आश्चर्यको विषय होइन । अरू दर्शन, सिद्धान्त र विचारको के कुरा सरकारमा जाने र नजाने विषयमा दलमा फरक मत देखियो र झन्डै फुटको सङ्घारमा पुग्यो ।
ठुलो दल बन्न र बनाउनको लागि गठन भएको जसपाको निश्चित सिद्धान्त, दर्शन र विचार नहुनु अस्वाभाविक होइन । जसपामा स्पष्टतः सरकार समर्थक र सरकारीविरोधी नेताहरू देखिए । एमालेको नेतृत्वमा रहेको सरकार फालेर अर्को नयाँ सरकार गठन गर्ने र ओलीको सरकार कायम राख्दै त्यसमै सामेल हुने दुई थरीको विचार जसपाभित्र देखियो । त्यसैको आधारमा जसपामा महन्थ ठाकुर पक्षका नेताहरू सरकारमा सामेल भए । जसपाले यसअघि आफ्नै दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । अहिले उक्त जसपामा महन्थ पक्षधर नेताहरू आफ्नो माग पूरा भएको खुसियालीमा विजयोत्सव मनाउँदै सरकारमा सामेल भए । महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, लक्ष्मण कर्णहरू वास्तवमा मधेसवादी नेताहरू नै हुन् । मधेसको मात्र कुरो उठायो भन्ने जनगुनासो बढेपछि ती नेताहरूले मधेसी दल छोडेर कहिले के कहिले के दलको नामकरण गरेका थिए । दलको नाम जेसुकै भए पनि, राखे पनि ती नेताहरूको सोच, चिन्तन या विचार मधेसकेन्द्रित नै देखिन्छ । जसपा सरकारमा रहे पनि नरहे पनि त्यो दल सङ्कीर्ण र साम्प्रदायिक चिन्तनबाट अलग छैन ।
मधेसवादी दलका ती नेताहरू भारतकै गुणगान गर्थे, भारतीय शासकहरूको पृष्ठपोषण गर्थे, गर्दै छन् । भारतले भनेबमोजिम संविधान बनाइएन भनेर लामो समयसम्म नेपालमा आर्थिक नाकाबन्दी गर्दा उपत्यकालाई हाहाकार बनाउनुपर्छ भनेर नाकाबन्दीको समर्थनमा उफ्री उफ्री ऐक्यबद्धता जनाउने र आन्दोलन गर्ने नेताहरू तिनै मधेसवादी दलका नेताहरू हुन्, भारतीय राजदूतावास पुगेर भोज खाई मनोरञ्जन गर्ने नेताहरू हुन् । नाकाबन्दीको कदमलाई ठिक्कै ठान्ने, नेपाल र नेपाली जनतामा परेको मर्कामा नुन खुर्सानी दलेर रमाउने नेताहरू अहिले मन्त्री बनेका छन्, मन्त्री बनेर मिठाइ खाएका छन् ।
नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि नै वर्गाीय राजनीति गरिरहेको हो । यस पार्टीले कुनै जनजाति, भाषाभाषी र धर्मको आधारमा कहिले पनि राजनीति गरेन । तराई, पहाड, हिमाल जुनसुकै ठाउँ र गाउँका शोषित पीडित, उत्पीडित जनताको मुक्तिको निम्ति सङ्घर्ष गर्दै आएको पार्टी हो नेमकिपा । सामन्त, पुँजीपति, जमिनदारहरूको विरोधमा सङ्घर्षरत नेमकिपा तराईका आदिवासी, कमैया तथा कृषकहरूको पक्षमा आन्दोलन गरिरहेको पार्टी हो । तराईका कामदार जनताको पक्षमा सङ्घर्ष गर्दै आएको नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घको तराईमा केन्द्रीय सम्मेलन गर्न लाग्दा बिथोल्न आतङ्कित पार्ने, बाधा अवरोध पु¥याउने कार्यले मधेसी दलका नेताहरू श्रमजीवी जनताको पक्षमा नरहेको स्पष्ट हुन्छ ।
साम्प्रदायिक भावना फैलाउने सङ्कीर्ण विचारका मधेसवादी नेताहरूले कहिले पनि तराईका श्रमजीवी जनताको पक्षमा सङ्घर्ष गरेनन् । तराईका शोषितपीडित जनता सचेत र सङ्गठित भएर सामन्त र जमिनदारहरूको विरोध गर्लान् भनी उनीहरूमाझ कहिले पनि राजनीतिक र सैद्धान्तिक ज्ञान बाँडेनन् । ती मधेसवादी नेताहरू मधेसीको नाउँमा तराईका जनतामाथि सबभन्दा बढी हैकम जमाउने, दबाउने र आफ्नो मुठीमा नचाइराख्ने नेताहरू हुन् । सामन्त र पुँजीपति वर्गले बनाएको ऐन कानुनमा रमाएर श्रमजीवी जनताको श्रम पसिनामा रजाईँ गर्ने बढी नेताहरूमा मधेसी नेताहरू नै पर्छन् । आज तिनै नेताहरू मधेसीको नाउँमा मन्त्री बनेर गर्व गर्दै छन् विजयको खुसियाली मनाउँदै छन् ।
नेका सरकारको पालामा नेपाल र भारतबीच पटक–पटक असमान सन्धि भयो । कुनै पनि असमान सन्धिको मधेसी दलका नेताहरूले विरोध गरेनन् बरु टुलुटुलु हेरेर समर्थन गरिरहे या मौन बसे । भारतीय पक्षले दर्जनौँ ठाउँमा नेपाली भूमि मिचेको छ, मिच्दै छ । नेपाल–भारत सीमामा अन्तर्राष्ट्रिय मूल्य र मान्यताबीच भारतीय पक्षले एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुवानमा परेको छ । भारतकै कारण तराईको भूमि डुवानमा परेर तराईमा श्रमजीवी जनता उठिवास भए पनि, स्थानीय जनताकोे धनजनको ठुलो क्षति भए पनि मधेसवादी नेताहरूले उक्त कामको विरोधमा कहिल्यै बोलेनन् या विरोध गरेनन् । यसरी भारतीय पक्षले जस्तो अन्याय गरे पनि टुलुटुलु हेरेर बस्ने ती नेताहरूले नेपाल र नेपालीको पक्षमा राजनीति गरेका हुन् या भारतीय शासक वर्गको पक्षमा राजनीति गरेका हुन् भन्ने कुरा के स्पष्ट छैन र ?
प्रत्येक राजनीतिक दल र दलका नेताहरू देशभक्त हुनैपर्छ । नेपालमा रहेर नेपालीको नाउँमा राजनीति गरेर विदेशीको इसारामा पार्टी चल्ने र चलाउने, नेपाल र नेपालीको भन्दा भारतको स्वार्थ हेर्ने दलका नेताहरू कहिले पनि देशभक्त हुँदैनन् । कुनै दल सरकारमा सामेल हुनु अस्वाभाविक होइन । सरकारमा सामेल भए पनि, नभए पनि हरेक राजनीतिक दलले नेपाल र नेपाली जनताको पक्षमा राजनीति गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ । विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको पक्षमा बोल्ने, कुरा सुन्ने र असमान सम्झौता र सन्धि गरे पनि चुइँक्क नबोल्ने नेताहरू पनि उनीहरूकै मतियार हुन् । संयुक्त राज्य अमेरिका विश्वलाई आतङ्कित पार्ने, शक्तिको आधारमा तर्साएर अरू मुलुकमा आक्रमण गर्ने, सरकार प्रमुखलाई सत्ताच्युतमात्र होइन हत्या गर्न, गराउन भूमिका खेल्ने ध्वंसात्मक देश हो । भारत वरपरका देश या छिमेकी देशहरूमा आफ्नो हैकम या प्रभुत्व जमाउने विस्तारवादी देश हो । तिनै विस्तारवादी र साम्राज्यवादी देशहरूको पछि लाग्ने दल र दलका नेताहरूले कसको पक्षमा राजनीति गरिरहेका छन् भन्ने कुरा बुझ्न गाह्रो छैन ।
मधेसवादी दलका नेताहरूको राजनीति शोषक, सामन्त, जमिनदार, षडयन्त्रकारी या श्रमजीवी वर्गको विरोधमा केन्द्रित छ । तराईका जनता पीडित छन्, यो यथार्थ हो । सबभन्दा बढी बालविवाह, भेदभाव, छुवाछूत तराईमै छ । ‘बोक्सी’ को नाउँमा शारीरिक तथा मानसिक यातना पीडित महिला तराईमा नै बढी छन् । ‘बोक्सी’ को आरोपमा दिसा खुवाउने, गाउँबाट निकाल्ने, घर आँगनमा बाँधेर कुटपिट गर्ने काम तराईमा नै बढी केन्द्रित छ । दाइँजो प्रथाले पनि तराईका जनता पीडित छन् । भने जति दाइँजो दिएन भनी आफ्नै पत्नीको हत्या गर्ने, घरबाट निकाल्ने, मट्टीतेल खन्याएर आगो लगाउने काम पनि तराईमै बढी छ । कठोर काम गरेर पनि एक खान लाउन नपाएका, पुस्तौँदेखि खेतमा काम गरेर पनि जग्गामाथि स्वामित्व नपाएका व्यक्तिहरू पनि तराईमै छन् । त्यही भएर नेमकिपाले तराईमा किसान सङ्घर्षको आवश्यकता देखेको हो । तर, तराईमा मधेसी जनताको नाउँमा खोलेका पहिलेको मधेसी दल हाल अर्कै दल खोलेर राजनीति गर्ने ती दलका नेताहरू तराईका किसान या श्रमजीवी वर्गको पक्षमा सङ्घर्ष गर्दैनन्, गरेका छैनन् ।
कुन दलले कुन वर्गका जनताको प्रतिनिधित्व गर्दै राजनीति गरिरहेको छ भन्ने कुरामा जनताले थाहा पाउनुपर्छ, दल र दलका नेताहरूलाई चिने आधार या बाटो कुनै नेताको मीठो अभिव्यक्ति होइन व्यवहार हो, गतिविधि हो । मधेसी दलका नेताहरूले जन दबाबको कारण राष्ट्रिय अखण्डता, स्वाधीनता र सार्वभौमिकताको कुरा उठाए पनि यिनीहरूको वास्तविक राजनीति नेपाल र नेपाली जनताको हितमा देखिँदैन । यो कुरा उनीहरूले आजसम्म गरिरहेको काम, घटना, अभिव्यक्ति र आन्दोलनले पुस्टि गर्छ । यसकारण, देशभक्त जनता त्यसविरुद्ध लड्नुपर्छ, त्यसबारे जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *