भर्खरै :

कोठाभित्र गर्मी, बाहिर निषेधाज्ञा

  • जेष्ठ २६, २०७८
  • आर के श्रेष्ठ
  • समाचार

भरतपुर, २५ जेठ । चितवनमा दिनप्रतिदिन गर्मी बढ्दो छ । जिल्लामा जेठ २७ गतेसम्म निषेधाज्ञा जारी छ । दिनभरि घरभित्र बस्न मानिस बाध्य छन् । दिउँसो तातो घाम र गर्मीले बाहिर निस्कन पनि सक्दैन । बेलुकी शितलको समयमा मानिसहरू घर बाहिर निस्कने गर्दछ । घर वरपर घुमघाम गर्दा केही मानिसहरूले हेल्चक्र्याइ गरी मास्क नलगाएको पनि देखिन्छन् । एकआपसमा जमघट, भेला हुने गर्दछ । प्रहरीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन निर्देशन गर्दा पनि केही मानिसहरू अटेरी हुने, किन लगाउनेझैँ व्यवहार देखाउने गर्दछ ।
निषेधाज्ञा पालना गराउन खटिएका प्रहरी भन्छन् “आफ्नो स्वास्थ्य सुरक्षा अपनाउनु भनेर आग्रह गर्दा पनि हाम्रो लागि गरिदिनुपर्ने जस्ता व्यवहार नागरिकले देखाउँछ । बाहिर निस्कँदा राम्रोसँग मास्क लगाउने, सकभर बाहिर भिडभाडमा ननिस्कौँ भनेर सञ्चार माध्यममा सूचना आइरहेको छ । मै हुँ भन्ने युवाहरू, सम्पत्तिवाला मानिसहरूले कोरोना रोगबाट ज्यान गुमाउनुपरेको छ । यो रोगबाट वचन नागरिक स्वयम् सचेत हुनुपर्दछ ।” यो अवस्थामा सुरक्षाकर्मी आफै पनि सङ्क्रमण हुनसक्ने जोखिम धेरै रहेको उनीहरूको कुरा छ । प्रहरी जिल्लाका सबै ठाउँमा खटिनुपर्ने हुन्छ । एउटै भान्सा, एकै ठाउँ खाने बस्ने हुँदा सङ्क्रमण फैलन सक्ने सम्भावना त्यत्तिकै रहन्छ । प्रहरी आफ्नो स्वास्थ्य सुरक्षाप्रति थप बढी संवेदनशील हुनुपर्ने उनीहरूको कुरा थियो ।
कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने भएकोले सबै क्षेत्रमा काम गर्ने मानिसमा यो रोग फैलन पुगेको छ । यतिबेला प्रहरी प्रशासनको लागि वा राज्यको लागि स्वास्थ्य सुरक्षा अपनाइदिने जस्ता व्यवहार नागरिकले मनबाट त्याग्नु आवश्यक छ । अरुको लागि पनि र आफ्नो स्वास्थ्यको लागि इमानदारीपूर्वक स्वास्थ्य सुरक्षाको मापदण्ड हामीले अपनाउनुपर्दछ ।
बजार क्षेत्रमा मानिसहरूको चाप स्वभावैले बढी छ । धेरै मानिस डेरामा बस्छन् । हुनेखाने, साहुहरूको घरमा गर्मीबाट बच्न एसी, कुलरलगायत जडान होलान् । अधिकांश मानिसहरू कोठाभित्र रहँदा पङ्खाको तातो हावा लिने नै हो । दिनभरिको तातो हावा र गर्मीले सताएको मानिस बिहान, बेलुका चिसो हावा लिन कोठा बाहिर निस्कनु स्वभाविकै हो । तर, एकछिनको आनन्द लिँदै गर्दा अर्को प्राण घातक रोगप्रति भने हामी सचेत हुनै पर्दछ । यतिबेला सुरक्षाकर्मीहरू हाम्रो लागि नै खटिएका हुन भन्ने कुरा नागरिकले मनमा लिनुपर्दछ । स्वास्थ्य चिकित्सकहरूको कुरालाई मनन गर्नुपर्दछ । नागरिक स्वयम् सचेत भएमा मात्र कोरोना सङ्क्रमण नियन्त्रणमा आउने विज्ञहरूको कुरा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *