भर्खरै :

स्वास्थ्यमन्त्रीको प्रतिबद्धता – पुरानो सीसीमा नयाँ लेभल !

नयाँ स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जेठ २४ गते कोभिड–१९ रोकथामसम्बन्धी पाँच प्रतिबद्धता सार्वजनिक गरे । उनको पहिलो प्राथमिकता कोभिड–१९ विषाणु नियन्त्रण हो । प्राथमिकता भएको जनगुनासो छ । नेपालको भारतसँगको खुला सीमा छ । भारतमा कोभिड–१९ को जोखिम भएसम्म नेपाल मुक्त हुने छैन । मन्त्री तामाङले दोस्रो प्राथमिकताअनुसार परीक्षणको दायरा बढाउने बताए । परीक्षणको लागि हरेक पालिकामा एन्टिजेन पु¥याइए पनि जनशक्तिको अभाव छ । साथै यसको विश्वसनीयता पनि छैन । कोभिड–१९ फैलिएअनुसार रोकथामको उपाय अवलम्बन गर्ने पीसीआर परीक्षण व्यापक बनाइनु जरुरी छ । नेपालमा अझै पालिकासम्म पीसीआर परीक्षण गर्ने मेसिन उपलब्ध छैन । पीसीआर परीक्षणको नतिजा हप्ता दिनसम्म पनि नआउँदा पोजेटिभहरू नै किनमेलको नाममा बाहिर निस्केको उदाहरण प्रशस्तै छ ।
मन्त्री तामाङको तेस्रो प्राथमिकतामा पहिलो खोप लगाएकालाई दोस्रो खोप दिने बताए । तर, खोप कहाँबाट कहिले ल्याउने उल्लेख छैन । भुक्तानी भइसकेको भारतसँगको १० लाख खोप समेत आउने स्थिति छैन । चीनबाट अनुदानमा १८ लाख खोप प्राप्त भयो । तर, त्यहाँबाट खोप खरिदसम्बन्धी कारबाही अघि बढाइएको छैन । चीनमा खोप सुरु भएयता ७० करोड जनतालाई उपलब्ध गराइयो । कोभिड–१९ रोकथामबारे चीनको अनुभव लिनेबारे पनि स्वास्थ्यमन्त्री मौन छन् ।
बालबालिकालाई हुन सक्ने कोभिड–१९ को तेस्रो लहरबारे सचेत भएर आवश्यक पूर्वाधार बनाउने स्वास्थ्यमन्त्री तामाङको चौथो प्राथमिकता हो । सरकारले बालबालिकालाई कोभिड–१९ सङ्क्रमण न्यूनमात्र हुन दिन के कस्तो उपाय अवलम्बन गर्ने हो सार्वजनिक गरेको छैन । नेपाल–भारत खुला सीमा यथावत रहे तेस्रो लहर नेपालमा सजिलै फैलिने छ । कोभिड–१९ सङ्क्रमित बिरामीको निजी अस्पतालमा हुने उपचार खर्चको अनुगमनलाई मन्त्री तामाङले पाँचाँै प्राथमिकतामा राखे । निजी अस्पतालले कोभिड–१९ बिरामीसँग ४० लाखसम्म उपचार खर्च असुलेको आफूले पनि सुनेको मन्त्री तामाङको दाबी हो । निजी भनेको पुँजी लगानीको साँवा–व्याज असुल्ने क्षेत्र हो । स्वास्थ्य क्षेत्रमा निजी लगानी निषेध गर्नेबारे स्वास्थ्यमन्त्रीको पार्टी र सरकारले धेरै अगाडि नै सोच्नुपर्ने हो । अहिले अनुगमनको नाटक लिपापोतीमात्र हुने छ । स्वास्थ्यमन्त्री तामाङले पेश गरेको पाँच प्रतिबद्धता कोभिड–१९ रोकथामको लागि जरुरी छ । तर, यस किसिमको प्रतिबद्धता अघिल्लो स्वास्थ्यमन्त्रीबाट पनि सार्वजनिक भएको हो । कोभिड–१९ को लहर फैलिएपछि ती कुनै प्रतिबद्धताको पत्तो भएन । आगामी दिनमा पनि उस्तै हुनेमा कसैले दुविधा राख्नु जरुरी नहोला । स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता पुरानो शीशीमा नयाँ लेभलमात्र हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *