भर्खरै :

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिक टन मल

वीरगञ्ज, २६ जेठ । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।
जीटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गबाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउनेछन् ।
सम्झौताअनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नुपर्नेमा अहिले विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाइ भएको प्रबन्धक केसीले बताउनुभयो । उहाँका अनुसार बाँकी रहेका मल छिट्टै नै उपलब्ध गराउन नेपाल सरकार तथा बङ्गलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन लागिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल २ हजार ७ सय मेट्रिक टन, डिएपी एक हजार ४ सय २ मेट्रिक टन र पोटास एक हजार २ सय ८० मेट्रिक टन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ । पर्सा जिल्लास्थित १ सय ३१ थोक बिक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक बिक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । बिक्रेताहरूले स्थानीय तहले तोकेको मूल्यमा किसानहरूलाई मल बिक्री गर्ने गरेको छ । कतिपय बिक्रेताले किसानसँग तोकेको मूल्त्न्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारबाही गर्नुपर्ने माग किसानको छ ।
पर्सामा ९० प्रतिशत किसान व्यवसायिकरूपमा धान खेती गर्दै आएका छन् । पर्सामा कुल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *