भर्खरै :

चितवनमा निषेधाज्ञा केही खुकुलो

  • जेष्ठ २८, २०७८
  • आरके श्रेष्ठ
  • समाचार

भरतपुर, २७ जेठ । चितवन जिल्लामा जेठ २८ गतेदेखि खाद्यान्न, माछा, मासु, फलफुल, तरकारी पसलहरू दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न पाइने भएको छ ।
त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरू न्यूनतम कर्मचारी खटाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई हप्ताभरि सञ्चालन गर्न पाइने भएको छ । यसभन्दा अघि हप्ताको तीन दिन बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न पसल खोल्न पाइन्थ्यो भने बैङ्क तथा वित्तीय संस्था हप्ताको तीन दिन सञ्चालन गर्न पाइन्थ्यो । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई न्यूनतम कर्मचारीको उपस्थितिमा पुस्तक पसल पनि सञ्चालन गर्न पाइने कुरा प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेद्वारा हस्ताक्षरित निषेधाज्ञा जारी आदेशमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले कोभिड –१९ सङ्क्रमण जोखिम अझै उच्च रहेकोले सङ्क्रमणलाई नियन्त्रणमा ल्याउनको लागि निषेधाज्ञालाई निरन्तरता दिएको जनाएको छ । प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार नागरिकको दैनिक जनजीवनमा सहजता गराउन निषेधाज्ञालाई केही लचिलो बनाएको बुझ्न सकिन्छ । चालू निषेधाज्ञाको समय जेठ २७ गते राति सकिंदै छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अझै उच्च रहेकोले नियन्त्रणको लागि प्रशासन कार्यालयले पाँचाँै चरणको निषेधाज्ञा जारी गरी असार ३ गतेसम्म लम्ब्याइएको हो ।
प्रशासनले निषेधाज्ञालाई केही लचिलो बनाएसँगै मानिसहरूको भीडभाड र चहलपहल बढ्नेछ । जिल्लामा कोभिड सङ्क्रमण अझै दैनिक ८० देखि १०० को हाराहारीमा रहेको छ । स्वास्थ्य कार्यालय चितवनको जेठ २६ गतेको तथ्याङ्कअनुसार जिल्लामा ८० जना नयाँ सङ्क्रमित थपिएका छन् । अत्यावश्यक कामको लागि हिँड्दुल गर्न पाइने भने तापनि केही मानिस भने बहानाबाजी गरेर अनावश्यक काममा हिँड्डुल गर्दा वा निषेधाज्ञाको अवज्ञा गर्दा भीडभाड बढ्न जाने र सङ्क्रमण बढ्न सक्ने जोखिम रहेको छ । प्रहरी प्रशासनले निषेधाज्ञा अवज्ञा गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गरिएको भने तापनि सडक बजारमा मानिसहरूको चहलपहल हिजोआज बाक्लिँंदै गएको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *