भर्खरै :

सैन्य जनरल राउल क्यास्त्रोले १६ अप्रिल, सन् २०२१ मा क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको केन्द्रीय प्रतिवेदन – २

राष्ट्रिय अर्थतन्त्रले चहराउँदो कष्ट भोगिरहेको बेला, बाँकी ऋण मिलान गर्ने इच्छा देखाएकोमा हाम्रा कर्जादाताहरूलाई धन्यवाद दिने अवसर गुमाउनु हुँदैन । साथै, हाम्रो अर्थतन्त्र उकासिन थालेपछि हामीले अन्तर्राष्ट्रिय वित्तीय प्रतिबद्धताहरू पूरा गर्दै जानेछौँ भन्नेमा आश्वस्त तुल्याउनुपर्छ । त्यसैगरी, बैङ्क निक्षेपलाई खुला परिवर्तनीय मुद्रा र क्युवाली पेसोमा भुक्तानी गर्नुका साथै विदेशी र राष्ट्रिय वैध माध्यमबाट जनतालाई नगद भुक्तानी गर्ने निर्णयमा हामी अडिग छौँ ।
तरलताको अभाव भइरहेको सङ्गीन घडीले हामीलाई अहिले केही खुद्रा पसलमा र पछि थोक पसलमा खुला अपरिवर्तनीय मुद्राका आधारमा कारोबार गर्नुपर्ने नीति लिन बाध्य पारेको छ ।
विगत पाँच वर्षदेखि सरकारी पसलहरूमा हराएका थुप्रै सामग्रीहरू घरेलु बजारमा देखापरून् भन्ने उद्देश्यका साथ सुरुमा यो आवश्यक पाइला चालिएको थियो । त्यसले गर्दा यी सामग्रीहरू विदेशमा किन्ने र अकुत नाफा खाएर यहाँ बेच्ने अवैध कारोबारको ढोका खुलेको थियो ।
कोभिड–१९ को असरसँगै खुला परिवर्तनीय मुद्रामा गरिने किनबेचलाई खाद्यान्नलगायत थप उत्पादनहरूमा विस्तार गरियो । विदेशमा बस्ने क्युवाली नागरिकहरूले देशमा आफ्ना नातागोतालाई पठाउने रेमिट्यान्सलाई प्रश्रय दिनु यसको उद्देश्य थियो । सरकारले क्युवाली पेसोमा केही थान आधारभूत खाद्य पदार्थहरू, सरसफाइ र निजी सफाइका उत्पादनको निरन्तर आपूर्ति सुनिश्चित गर्न उल्लेख्य विदेशी मुद्रा विनियोजन गरेको छ । सरकारले बजारमा घरेलु आपूर्तिकर्ताहरू पुनः उपलब्ध गराउने तयारी गर्दै छ ।
मलाई लाग्छ, ध्यान दिनुपर्ने विषय के पनि हो भने, अपर्याप्त सामाजिक सञ्चार नीति र हाम्रा केही सञ्चारमाध्यमले गलत दृष्टिकोण पेश गरेको हुनाले व्यवस्थापक कार्यकर्ताहरूबीच थोरै अन्योल सिर्जना हुन गएको छ । यसले गर्दा उनीहरूले यी कारोबारबाट पैदा भएको कथित असमानताको विरोध गर्दै छन् र देशभित्रका सम्पूर्ण घरेलु लेनदेनलाई आधारभूत पारिवारिक टोकरी पुस्तिकाको माध्यमबाट गरिने वितरणमा फर्काउनुपर्ने माग राख्दै छन् । महिनाहरू बित्दै जाँदा र गणतन्त्रका राष्ट्रपति, प्रधानमन्त्री र अन्य सरकारी अधिकारीहरूका सार्वजनिक बयानहरूबाट के स्पष्ट भयो भने खुला परिवर्तनीय मुद्रा आवश्यक छ र अर्थतन्त्र सुध्रेर बलियो नहुँदासम्म कायम रहनेछ । यसरी राष्ट्रिय मुद्राको वास्तविक परिवर्तनीयता सुनिश्चित हुनेछ ।
यी जटिल परिस्थितिबीच हामीले राष्ट्रिय अर्थतन्त्रको सञ्चालनमा निर्णायक योगदान दिने क्षेत्रहरूमा विदेशी लगानीलाई प्रोत्साहन दिने, ढिलासुस्ती र बाधाअड्चन हटाउने उपायहरू अपनाइरहेका छौँ ।
हामीले विदेशी लगानीसँग जोडिएका म्याद नाघेका पूर्वाग्रहहरूलाई हाम्रो दिमागबाट हटाउनुपर्ने बेला आएको छ । विदेशी पुँजीको सहभागितामा नयाँ व्यापार व्यवसायको उचित तयारी गर्ने र योजना बुन्नुपर्ने बेला आएको छ ।
यसको प्रमाण मेरियल विशेष विकास क्षेत्रमा हासिल गरिएको उपलब्धिमा देख्न सकिन्छ । यो विकास क्षेत्र विदेशी र घरेलु लगानीकर्ताहरूको आकर्षणको महत्वपूर्ण केन्द्र बनेको छ । यी लगानीकर्ताले प्रभावकारी पूर्वाधार रुचाउँछन् र संरा अमेरिकाले नाकाबन्दी चर्काउने नीति अख्तियार गरिरहेको बेला यस प्रकारका निर्माण कार्यहरू चलिरहेका छन् ।
जहाँसम्म पार्टी र क्रान्तिका आर्थिक र सामाजिक नीतिनिर्देशनहरूको कार्यान्वयनको प्रश्न छ, सामान्य अर्थमा प्राप्त प्रगतितर्फ एउटा सकारात्मक परम्पराले आकार लिँदै छ भनी औँल्याउनु सही हुन्छ । तैपनि, योजना निर्माण, सङ्गठन, निरीक्षण र प्रक्रियाको अनुगमनमा अलिकति कमी छ । केही मामिलामा सही दिशाप्रति सुस्त र लोसे प्रतिक्रिया छ तथा जोखिम र कमजोरीहरूको तहमा बुझाइ र दूरदर्शिताको अभाव छ । तालिम र सामाजिक सञ्चारमा आवश्यक समयचेत, गुणस्तर र तदारुकताको कमी छ ।
परिवर्तनको विरोध र पहलकारी क्षमताको अभाव छ । तय गरिएका नीतिहरूको कार्यान्वयनमा देखिने जड र पक्षघाती रवैया, दिइएका अधिकारहरूको अभ्यास गर्न डराउने प्रवृत्ति र गैर–सरकारी शैलीको स्वामित्व र व्यवस्थापनविरुद्ध देखिने पूर्वाग्रहमा यस्तो अभाव अभिव्यक्त हुन्छ ।
कार्यान्वयन र विकासको निम्ति स्थायी आयोग(Permanent Commison for Implementation and Development) ले नीति निर्देशनहरूको कार्यान्वयनमा संलग्न विभिन्न पक्षहरूको सहभागिताको पर्याप्त सङ्गठन गर्न सकेन । महाधिवेशनले तोकेको क्षेत्राधिकारभन्दा बाहिर गएर काम ग¥यो । यसो गर्दा अन्य निकाय, सङ्गठन र एकाइहरूको जिम्मेवारी क्षेत्र मिच्ने काम भयो ।
त्यति नै बेला, राजनीतिक र जनसङ्गठनहरूलाई यस प्रक्रियामा अझ सक्रिय भूमिका खेल्न पर्याप्त उत्साह दिइएन ।
यसले गर्दा राजनीतिक ब्युरोले उच्च उपलब्धि हासिल गर्ने गरी नीति निर्देशनहरू कार्यान्वयन गर्न आयोग, केन्द्रीय राज्य प्रशासनका निकायहरू र राष्ट्रिय एकाइहरूबीच जिम्मेवारी विभाजन गर्ने निर्णय लिनुप¥यो ।
सातौँ महाधिवेशनमा गरिएको अद्यावधिअनुरूप १७ वटा नीति निर्देशन कायम राखेर, १६५ वटा परिमार्जन गरेर, ९२ वटा हटाएर र १८ वटा थपेर जम्मा २०० पु¥याइएको छ ।
सर्वविदित्तै छ, क्युवामा समाजवादको निर्माण गर्न सैद्धान्तिक र अवधारणागत मार्गदर्शकको रूपमा आर्थिक र सामाजिक मोडलको वैचारिकीकरणलाई सातौँ महाधिवेशनमा सिद्धान्तको रूपमा पारित गरिएको थियो । मस्यौदालाई छलफलका लागि पार्टी र यङ कम्युनिस्ट लीग र समाजको ठुलो समुदायबीच लैजाउनुपर्ने र अनुमोदनको निम्ति पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा बुझाउनुपर्ने महाधिवेशनको आदेश थियो ।
राजनीतिक ब्युरोले यो कार्यक्रमजन्य दस्तावेजको विषयवस्तु अद्यावधि गर्ने विषयमा विश्लेषण गर्न आयोग नम्बर १ बनाएको थियो । त्यसलाई सुम्पेको कार्यसीमाभित्र रहेर प्रमुख बुँदाहरू पारित भए । संविधानसँग गाँसिन र केही विषयमा अझ प्रस्टता हासिल गर्न परिमार्जन पनि भए । यसबारेमा सम्बन्धित आयोगहरूका प्रतिनिधिहरूले चर्चा गर्नुहुनेछ ।
एक दशकभन्दा लामो अध्ययन र मिहिनेतपछि यो वर्ष जनवरी १ मा हामीले पुनःव्यवस्थापन कार्य (Recording Task) लागू गर्न थालेका छौँ । घरिघरि बताइएअनुसार, यो हाम्रो अर्थतन्त्रका समस्याहरूको चमत्कारी समाधान होइन । बरु यसले हामीलाई विभिन्न आर्थिक पक्षहरूको सञ्चालन व्यवस्थित र पारदर्शी बनाउन मद्दत गर्नेछ । साथै, नागरिकहरूलाई अर्थोपार्जनको साधन र जीवनको अर्थ प्रदान गर्न यसले कामप्रतिको प्रेमलाई उत्साहित गर्नेछ । अभिभावकतुल्य र समान संरक्षकत्वले गर्दा काम नगरी बाँच्न पाइने एकमात्र देश क्युवा हो भन्ने खराब विचारलाई नामेट पार्नुपर्छ । मानक क्युवाली जीवनशैली र उपभोग नागरिकहरूको वैध आम्दानीले निर्धारित गर्नुपर्छ, (राज्यको) प्रचुर अनुदान र अचाक्ली बकसले होइन ।
यता केही महिनाले यस प्रक्रियाको जटिलता र दायरा स्पष्ट पारेको छ । क्रान्तिको समकालीन इतिहासमा यसअघि कहिल्यै नदेखिएका विस्तृत निर्णय र सक्रियताका माध्यमबाट यस प्रक्रियाले क्युवाली समाजका सम्पूर्ण अङ्गहरू छुन्छ ।
देशको सिर्जनशील र शैक्षिक क्षेत्रबाट अत्यन्त योग्य, विज्ञ र अनुसन्धानकर्ताहरूको सहभागिता र सुझाव लिएर, विमतिहरू छँदाछँदै पनि यस प्रक्रियामा चीन र भियतनामका अनुभवलगायत अन्य राष्ट्रका संस्थानहरूको मूल्यवान योगदान समेटेर अवधारणा र योजना बनाउन लामो समय लाग्नु कुनै अनौठो होइन ।
मौद्रिक र विनिमय दरको मिलान† पारिश्रमिक, पेन्सन र सामाजिक सुरक्षामा गरिएको आम सुधार, अनुदान र बकसमा कटौती र हेरविचार गरिएका कमजोर व्यक्तिहरूको सन्दर्भमा स्थापित अकाट्य उपलब्धिसँगै यस कार्यान्वयनले निम्छरो तयारी र तालिम† लापरबाही† सावधानी, निरीक्षण र राजनीतिक संवेदनशीलताको अभाव† यसको व्यवहारिक कार्यान्वयनमा खटिएका कार्यकर्ता र अधिकारीहरूबीचको अपुग संस्थागत समन्वयबाट पैदा भएका कमीकमजोरी छताछुल्ल पारेको छ । यी कमजोरीले गर्दा अचाक्ली मूल्यवृद्धि भएको छ र बिजुली, पानी, ग्यास, कामदारहरूको चमेनागृहलगायत मालसामानको भाउमा असन्तुष्टि बढेको छ । पारिश्रमिकको सुधार र भुक्तान पद्धतिको सन्दर्भमा गल्ती र ढिलासुस्ती छ । यी विषयमा विस्तृत चर्चा भइसकेको छ ।
यी परिस्थितिले पहिचान गरिएका गल्तीहरू झट्टै सच्याउन र योजनाबद्ध अवधारणाबाट विमुख हुने कार्यहरूलाई परिमार्जन गर्न पार्टी, राज्य र सरकारको नेतृत्वले जमर्को गर्नुपर्ने माग गर्छन् ।
निर्धारित कार्यसूचीअनुरूप उपायहरू पूर्णरूपमा अवलम्बन नहुञ्जेल र यसका बुँदाहरू साकार नपारुञ्जेल पुनःव्यवस्थापन कार्यले क्युवामा समुन्नत र दिगो समाजवादको निर्माणमा योगदान पु¥याउने खालको आर्थिक र उत्पादक परिणाम हासिल गर्न कार्यान्वयन पक्ष चालू राख्नुपर्छ ।
गणतन्त्रको संविधानको धारा ५ को एकएक शब्द सेनानायक फिडेल क्यास्त्रो रुज स्वयम्को थियो । सुरुमा १९७५ को मस्यौदामा यस धाराको विषयवस्तु जे थियो, त्यही स्थान र रूपमा वर्तमान संविधानमा पनि यसलाई कायम राखिएको छ । यो धाराले क्युवाली कम्युनिस्ट पार्टीलाई समाज र राज्यको सर्वोच्च नेतृत्वकारी शक्ति मान्छ । यस पार्टीले समाजवादको निर्माणमा साझा प्रयासहरूलाई सङ्गठित र मार्गदर्शन गर्छ ।
यसरी संविधानले सम्पूर्ण सदस्यहरूमा गहन अभिभारा सुम्पन्छ । किनभने, राष्ट्रको एकतालाई प्रतिनिधित्व गर्ने र सुनिश्चित गर्ने एकमात्र पार्टीको नैतिक हैसियत, संविधानका धाराहरूप्रतिको हाम्रो कर्तव्यको उदाहरणीय परिपालन र हाम्रो उच्च नैतिक, राजनीतिक र सैद्धान्तिक स्तर एवम् जनसमूहसँगको गहिरो सम्बन्धले निर्धारित गर्छ ।
क्रान्तिकारी अग्रदस्तालाई एकढिक्का बनाउने सङ्गठनको रूपमा क्रान्तिका संस्थापक नेता, सेनानायक फिडेल क्यास्त्रो रुजप्रति जनताले देखाएको विश्वासको सच्चा वारिस बन्ने गरिमामय लक्ष्य पार्टीसामु छ । यो नौलो कुरा होइन, झन्डै १५ वर्षअघि कुनै अलमल नहोस् भनेर मैले बताएको थिएँ र आज पनि दोहो¥याएँ किनभने यही अवधारणाले राष्ट्रको वर्तमान र भविष्यको सम्पूर्ण वैधानिकता कायम राख्छ । (ताली)
१४ मार्च, १९७४ मा फिडेल भन्नुभएको थियो, “पार्टी जनताको अग्रदस्ता हो, जनताको सुरक्षा हो, जनताको भरोसा हो । अग्रदस्ता आधारभूत हुन्छ । क्रान्तिलाई केले सुरक्षा दिन्छ, थाहा छ ? पार्टीले । क्रान्तिलाई केले स्थायी बनाउँछ, थाहा छ ? क्रान्तिलाई केले भविष्य दिन्छ, क्रान्तिलाई केले जीवन दिन्छ, केले भविष्य दिन्छ क्रान्तिलाई, थाहा छ ? पार्टीले । पार्टीबिना क्रान्ति बाँच्न सक्दैन ।” (ताली)
सन् २०१६ मा सम्पन्न सातौँ महाधिवेशनपछि प्रथम राष्ट्रिय सम्मेलनताका तय गरिएका उद्देश्यहरू पूरा गर्नमा प्रगति भइरहेको छ । खासगरी स्थानीय सङ्गठनप्रति र राष्ट्रका राजनीतिक, आर्थिक र सामाजिक जीवनका केन्द्रीय समस्याहरूप्रति ध्यान दिने सवालमा पार्टीका तौरतरिका र कार्यशैलीमा परिमार्जन हुँदै छ । राज्य, सरकार र प्रशासनिक संस्थानहरूको जिम्मेवारीभित्र पर्ने कामकारबाही र निर्णयमा भाँजो हाल्ने वा उल्ट्याउने अभ्यास नियन्त्रण गर्ने उद्देश्यले यसो गरिँदै छ । हामीले करिब ६० वर्षदेखि यसो गर्दै छौँ, वास्तवमा हामीले भन्नैपर्छ अति थोरै प्रगति भएको छ । सबैले आ–आफ्ना काम गर्दै छन् र पार्टीले हाम्रो काम गर्दै छ, एकछिन नबिसाई नेतृत्व गर्दै छ । यी संस्थानहरूसँग समन्वय गर्दै जनतालाई असर गर्ने परिस्थिति सम्बोधन गर्न खटिरहेको छ ।
हाम्रो विधानले स्वाधीनता सङ्ग्रामको नेतृत्व गर्न मार्टीले स्थापना गरेको क्युवाली क्रान्तिकारी पार्टी, कार्लोस बालिनो र जुलियो एन्तोनियो मेल्लाले स्थापना गरेको प्रथम कम्युनिस्ट पार्टी र बाटिस्टा तानाशाहीविरुद्धको सङ्घर्षको नेतृत्व गर्न तीनवटा क्रान्तिकारी सङ्गठनहरूको स्वतःस्फूर्त एकीकरणबाट जन्मेको पार्टीको निरन्तरता भनी पार्टीलाई परिभाषित गर्छ ।
क्युवामा एउटै पार्टी छ र रहिरहनेछ भन्ने कुरो शत्रुहरूको दुष्प्रचारको चुरो हुने गर्छ । ‘फुटाऊ र हत्याऊ’ को पुरातन हत्कण्डाका आधारमा ऊ अनुल्लङ्घनीय पुँजीवादी प्रजातन्त्रको शंखगानद्वारा क्युवालीहरूलाई टुक्राउन र छिन्नभिन्न पार्न कटिबद्ध छ ।
सबै खालका धाकधम्की र आक्रमणको सफलतापूर्वक सामना गर्न पार्टीवरपर एकगठ भएका बहुसङ्ख्यक क्युवालीहरूको एकता तथा क्रान्तिका कार्यभार र आदर्शहरू हाम्रा आधारभूत रणनीतिक हतियार रहँदै आएका छन् । यसकारण, हाम्रो एकतालाई तनमनले रक्षा गर्नुपर्छ र अझ उदार प्रजातन्त्रको बहानामा क्रान्तिकारीहरूबीच कहिल्यै फुट ल्याउनुहुन्न । किनभने, त्यो क्रान्ति, समाजवाद र अन्ततः हाम्रो राष्ट्रिय स्वाधीनतालाई भित्रबाट नष्ट गर्ने पहिलो पाइलो हुनेछ र फेरि एकचोटि अमेरिकी साम्राज्यवादको चङ्गुलमा फस्ने ढोका खुल्नेछ ।
हामीसँग एउटै पार्टी छ भने पनि हामीले आन्तरिकरूपमा र हाम्रो समाजभित्रै व्यापक रूपमा उदात्त प्रजातन्त्रलाई मलजल गर्नुपर्छ र विचारहरूको स्थायी, विनम्र र गहिरो आदानप्रदान गर्नुपर्छ । सधैँ सहमत हुनुपर्छ भन्ने छैन । कामदार जनसमूहसँगको सम्बन्ध प्रगाढ बनाउनुपर्छ र आधारभूत निर्णयहरू गर्दा नागरिकहरूको बढ्दो सहभागिता सुनिश्चित गर्नुपर्छ ।
युवा कम्युनिस्ट लीग, विद्यार्थी सङ्गठनहरू र युवा आन्दोलनप्रति तिनको साङ्गठनिक स्वतन्त्रता जगेर्ना गर्दै तिनको सङ्गठित कार्य क्षमता र राजनीतिक चेतना अभिवृद्धि गर्नपट्टि पार्टीको चासो झन्झन् बढ्दै छ ।
क्युवालीहरूको एकता सुदृढ तुल्याइरहन हामीले विद्यमान पूर्वाग्रह र सबैखाले भेदभावको सामना गर्दै छौँ ।
त्यसैगरी राष्ट्रिय जीवनका विविध क्षेत्रमा संलग्नता बढाइरहेका धार्मिक सङ्घसंस्था र भाइचारा गुठीहरूमा ध्यान दिने हाम्रो नीति अद्यावधि गरिएको छ ।
जनसङ्गठनहरूको हकमा हामी के निष्कर्षमा पुगेका छौँ भने तिनका गतिविधिहरूलाई समाजका सम्पूर्ण क्षेत्रमा उकास्न जरुरी छ र तिनको कामलाई हामी बाँचिरहेको समयअनुसार अद्यावधि गर्नुपर्छ । यी समूहहरू क्रान्तिका प्रारम्भिक वर्षहरूमा बनेका थिए र अहिले समय धेरै फेरिएको छ । तल्ला स्तरका कारखानाहरूमा, (कृषि) फार्महरूमा, बस्ती र टोलहरूमा, क्रान्तिको प्रतिरक्षामा र आपराधिक र सामाजिक अनुशासनहीनताविरोधी सङ्घर्षमा पुनर्ताजगीका कामहरू गर्नैपर्छ । शत्रुका सत्तापलटका योजनाहरूको सामना गर्न र मूल्यमान्यताहरू बढाउन र कसिलो पार्न सैद्धान्तिक क्रियाकलापमा यी सङ्गठनहरूको योगदान बढाउनुपर्छ । त्यसको लागि बढ्दो क्रान्तिकारी जुझारूपना र दृढताको खाँचो छ ।
पार्टीले महिला अधिकारको सुरक्षा गर्न र लैङ्गिक हिंसाको निन्दा गर्न क्युवाली महिला सङ्घ र अन्य सङ्घसंस्थाका गतिविधिलाई टेवा दिइरहेको छ । यौनिकता र लैङ्गिक पहिचानसँग जोडिएका पूर्वाग्रहहरूसँगको सङ्घर्षलाई तीव्र पारिनेछ ।
संवैधानिक लक्ष्यअनुसार राज्य परिषद्ले परिवार कानुनको प्रारम्भिक खाका कोर्न एउटा आयोगलाई अनुमति दिएको छ । त्यस कानुनको विश्लेषणका लागि राष्ट्रिय सभामा लैजाने र लगत्तै छलफलको लागि जनताबीच लैजाने कार्यको थालनी भइसकेको छ ।
राष्ट्रपति डायज–कानलको नेतृत्वमा रहेको आयोग र जातीय विभेदको विषयलाई सम्बोधन गर्न स्थापित सरकारी कार्यक्रमले विगतबाट चलिआएको यस्तो पछौटेपनसँग अझ प्रभावकारी ढङ्गले जुध्न र यस विषयमा अझ सुझबुझका साथ प्रस्तुत हुन र सार्वजनिक बहस सञ्चालन गर्न टेवा दिनेछ ।
अर्कोतिर, पार्टी गतिविधिको केन्द्रमा सैद्धान्तिक कार्य रहँदारहँदै पनि मैले स्वीकार्नैपर्छ, म प्राप्त उपलब्धिबाट सन्तुष्ट छैन ।
सत्यनिष्ठ हुनु र झूट अस्वीकार गर्नु हाम्रो सञ्चार जगतको विशेषता रहिआएको साँचो हो । देशको यथार्थ चित्रण गर्ने मामिलामा विजयोन्मत्त, खर्रो र सतही प्रवृत्ति देखिएको पनि साँचो हो । बेलाबेलामा पत्रकारिताले विषयवस्तुलाई खुलस्त राख्नेभन्दा पनि भ्रममा राख्न खोजेको देखिन्छ । यस्तो कार्य शैलीबाट हामीले पारित गरेको सूचना र सामाजिक सञ्चार नीतिको विश्वसनीयता भङ्ग गर्छ । राष्ट्रिय घटनाहरू समेट्ने आवश्यक तत्परता वस्तुनिष्ठता, पेशागत इमानदारिता वा सबैभन्दा ठूलो राजनीतिक नियतसँग बाझिनुहुन्न ।
हाम्रो राजनीतिक र सैद्धान्तिक गतिविधिमा उही काम बारम्बार दोहो¥याएरमात्र पुग्दैन । हामी बाँचेको समयअनुसार हाम्रा प्रयासहरूलाई प्रभावकारीरूपमा मिलान गर्न, देशको इतिहासको अध्ययनलाई मलजल गर्न, जस्तोसुकै बाधाव्यवधानसँग सबै मिलेर जुध्दै पार पाउने आशा र आत्मविश्वासको सन्देश सम्पूर्ण क्युवालीहरूमाझ पु¥याउन हामी रचनात्मक हुनैपर्छ । सारमा, क्रान्तिकारी गतिविधिबाट जन्मेका जीवनसार र मूल्यमान्यताहरूलाई सबल तुल्याउने दिशामा गहिरो रूपान्तरणको खाँचो छ ।
समाजवादी शैलीको विकासको बद्ख्वाइँ गर्न र पुँजीवादको पुनःस्थापनालाई नै एकमात्र विकल्पको रूपमा प्रस्तुत गर्न ध्वंसात्मक र सैद्धान्तिक एवम् सांस्कृतिक प्रभाव छर्ने कार्यक्रमहरू बाक्लै चलाइएको छ ।
क्युवालक्षित अमेरिकी नीतिका विनाशकारी तत्वहरू राष्ट्रिय एकता नष्ट गर्नमा केन्द्रित छन् । यस अर्थमा खासगरी युवा जमात, महिला र बुद्धिजीवी, कलाकर्मी र बौद्धिक समुदाय, पत्रकार, खेलाडी, पुरुष, महिला, सबै लिङ्ग र धर्मका व्यक्तिहरूलाई तारो बनाउने खालका कारबाहीहरूलाई प्राथमिकता दिइएको छ । विद्यमान संस्थानहरूका सम्पूर्ण प्रयासहरूलाई बेवास्ता गर्दै वन्यजन्तु र वातावरण संरक्षण वा कलात्मक र सांस्कृतिक अभिव्यक्तिसँग जोडिएको विशेष समूहको चासोका विषयहरू उछालिएको छ ।
संरा अमेरिकाबाट सञ्चालन हुने रेडियो र टेलिभिजन स्टेसनको माध्यमबाट आक्रामक क्रियाकलापलाई निरन्तर भरणपोषण गरिँदै छ । क्रान्तिको पराजयको खुला पैरवी गर्ने सैद्धान्तिक मसलासहित पछिल्लो पुस्ताका मञ्चहरूको विकासमा खर्चपानी बढाइँदै छ । सार्वजनिक स्थानमा जनप्रदर्शन गर्ने आह्वान चर्काइँदै छ, तोडफोड र आतङ्कवादी क्रियाकलाप भड्काइँदै छ । यसमा क्रान्तिकारी सत्ताका कर्मचारी तथा प्रतिनिधिहरूको हत्या पनि पर्छ । लाजै नमानी तिनीहरूले यस्ता आपराधिक कार्य फत्ते गर्ने व्यक्तिलाई संरा अमेरिकाले दिने इनामको घोषणा गर्छन् ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *