भर्खरै :

अष्ट्रेलियाको प्राध्यापकद्वारा “प्रयोगशाला कथन” अस्वीकार

सिड्नी, १० जून । कोभिड–१९ को उत्पत्तिबारे ‘प्रयोगशालाबाट चुहिएको परिकल्पना’ झूटो भएको सिड्नी विश्वविद्यालयका प्राध्यापक डोमिनिक द्वेरले बताएका छन् । मङ्गलबार प्रकाशित सिड्नी मर्निङ हेराल्ड पत्रिकामा प्रकाशित लेखमा उनले सो कुरा बताएका हुन् ।
उनले चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजीमा महामारीअघि सार्स–कोभ–२ भएको कुनै प्रमाण नभेटिएको बताए ।
“प्रयोगशालाबाट भाइरस चुहिएको कुरा सत्य हुन पहिला त भाइरस प्रयोगशालामा हुनुपर्छ । तर, प्रयोगशालामा त्यस्ता कुनै प्रमाण भेटिएको छैन”, द्वेरले भने । उनी गत जनवरी चीनमा गएको विश्व स्वास्थ्य सङ्गठनको प्रतिनिधिमण्डलका सदस्य थिए ।
“कोरोनाभाइरसबारे धेरै ठुला अनुसन्धान प्रतिष्ठानहरूले शोधखोज गरिरहेको अवस्थामा उहानको इन्टिच्युट अफ भाइरोलोजीले आफूसँग भाइरस भएको भए लुकाउनुको कुनै तुक हुने थिएन”, उनले भने ।
द्वेरले कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धान गर्न चीनले खुला र सहयोगी भएको भन्दै प्रतिनिधिमण्डलका सदस्यले हेर्न चाहेका सबै क्षेत्रको चीनले हेर्ने व्यवस्था गरेको बताए । “मेरो विचारमा उनीहरू पारदर्शी थिए”, उनले भने ।
विश्व स्वास्थ्य सङ्गठनको टोलीले कोभिड–१९ को सबभन्दा सम्भावित कारण कुनै पशुबाट अर्को पशु हुँदै मानिसमा सङ्क्रमण भएको हुनसक्ने निष्कर्ष निकालेको थियो । तर, टोलीले प्रयोगशालाबाट भाइरस चुहिएको हुनसक्ने सम्भावना ज्यादै कम भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *