भर्खरै :

नीति तथा कार्यक्रम टालटुले र अन्योलपूर्ण

हेटौँडा, २८ जेठ । बाग्मती प्रदेश सरकारद्वारा बिहीबार प्रस्तुत भएको आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार सुरू भयो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंंले प्रदेश सरकारको यो चौथो नीति तथा कार्यक्रम विगतको झैँ टालटुले तथा अन्योलपूर्ण भएको बताउनुभयो ।
कोभिड–१९ विरूद्ध लडिरहेका चिकित्सक तथा स्वास्थ्यसेवीहरूका निम्ति प्रेरणादायी हुनुपर्ने नीति तथा कार्यक्रमले निराश पारेको र सर्वसाधारणका आशा एवम् अपेक्षामा सरकारले चिसो पानी खन्याएको विचार उहाँले व्यक्त गर्नुभयो । उहाँले कोभिडसँग लड्ने र कोभिडपछिको विषम परिस्थितिसँग लड्ने मूर्त योजनाको अभाव नै मुख्य कमजोरी रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “यहाँ जतिसुकै कम्युनिस्ट सरकार भनी दाबी गरिए पनि सरकारको यो नीति तथा कार्यक्रम स्वयम्ले त्यसको खण्डन गरेको छ । समाजवादउन्मुख भनिएको छ । यो गलत छ । चुनाव आउँदै छ भनेर समाजवादको होहल्ला गरिएको हो । मनमोहन अधिकारीले विगतमा फ्रान्सको पेरिस पुगेर कम्युनिस्ट नाम ‘कोकाकोला’ झैँ ब्रान्ड हो भनेर स्वीकारेझैँ समाजवादको झूटा दाबीबारे वास्तविकता कसले बताउने ?”
सांसद गोसाईले भन्नुभयो, “क्युवा, प्रजग कोरिया र चीनले समाजवाद र त्यसको तागतबारे विश्वलाई व्यावहारिकरूपमा बताउँदै छन् । क्युवाले पाँचौँ खोप विकास ग¥यो । ३० लाख देशवासीलाई खोप दियो । प्रजग कोरियाले आफ्ना नागरिकलाई कोभिडबाट सुरक्षित बनायो । चीनले के गर्दै छ जगजाहेर छ ।”
सांसद गोसाईले प्रदेश सरकारलाई भेदभावपूर्ण नीति त्याग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “ख्वप अस्पतालजस्तो जनताको अस्पताललाई सहयोग नगर्ने सरकारलाई जनताले जवाफ दिँदै छन् । ख्वप विश्वविद्यालय स्थापना गर्न अनुमति नदिएर सरकारले गल्ती गरेको जनताबीच चर्चा चल्दै छ । स्वास्थ्य विपत्तिमा ख्वप मेडिकल कलेज भएको भए जनताले ठूलो सहयोग पाउने जनता महसुस गर्दै छन् ।”
नीति तथा कार्यक्रममाथिको छलफल शनिबार पनि जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *