नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
पत्रिकाको महत्वपूर्ण आयस्रोत विज्ञापन हो । विज्ञापनबिना दैनिक र साप्ताहिक पत्रिकाहरू चलाउन गा¥हो हुन्छ । सामान्यतः पत्रिकामा व्यापार–व्यवसायका, स्कूल–कलेज, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका विज्ञापन र समवेदना दिइएको हुन्छ । हार्दिक बधाईका विज्ञापनहरू नगण्य नै हुन्छ । पत्रिकामा समवेदना र अन्य विज्ञापन आएजस्तै बधाईका विज्ञापन या सूचनाहरू पनि भए राम्रो हुने सल्लाह सुझाव दिने पाठक र ग्राहकहरू नभएका होइनन् । यसै सन्दर्भमा जेठ २८ गते प्रकाशित ‘मजदुर’ दैनिकको अघिल्लो पृष्ठमा एक कुसी परिवारको ‘हार्दिक बधाई’ को विज्ञापन छापियो । यो स्वागतयोग्य र सकारात्मक पक्ष हो ।
उच्च शिक्षा हासिल गरेका मीना कुसी र दीपेन्द्र कुसीलाई हार्दिक बधाई छापिएको थियो । उच्च शिक्षा हासिल गर्ने मीना कुसी र दीपेन्द्र कुसीको प्रगतिको कामना गर्न चाहन्छु आफ्नै छोरा र छोरीको हार्दिक बधाई छाप्ने अभिभावकहरूप्रति धन्यवाद दिन चाहन्छु । बधाईमा मीना कुसीले बायो मेडिकल साइन्समा पीएच्डी र दीपेन्द्र कुसीले कम्प्युटर साइन्समा डिग्री हासिल गरेको उल्लेख छ । अन्य परिवारका अभिभावकहरूले पनि यसरी नै उच्च शिक्षा हासिल गरेका आफ्ना सन्तानहरूको बधाई, कुनै मेला–उत्सव, बिहे, व्रतबन्धसम्बन्धी विज्ञापनहरू दिएर समाजमा आफ्नो चिनारी दिने प्रवृत्तिको विकास गर्नुपर्छ ।
एक समय एकजना शिक्षकले आफ्नो छोराको व्रतबन्धको अवसर पारेर विज्ञापन दिनुभएको थियो । व्रतबन्धमा थोरै खर्च गरेर बचेको केही रकम विज्ञापनमार्फत सहयोग गरिएको थियो । उच्च शिक्षा हासिल गर्दामात्र होइन कुनै काममा सफलता पाउँदा, कसैले विशेषज्ञता हासिल गर्दा पनि बेलाबखत विज्ञापनहरू आएको पाइन्छ । यस्ताखाले विज्ञापनलाई पनि निरन्तरता दिनुपर्ने देखिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित कुनै खेलाडी, गायक, सङ्गीतकार, वाद्यवादक, कुनै न कुनै विषयका विज्ञ, वैज्ञानिकहरूको प्रतिभा र सीपको कदर गरी बधाईका विज्ञापनहरू दिनु उपयुक्त हुन्छ । समाजका आफ्नै स्थानीय व्यक्तिहरूको प्रतिभा र सीप उजागर नगर्दा कसले के विशेषज्ञता हासिल गरेर पढिरहेका छन्, देश र जनताको सेवा गरिरहेका छन् भन्ने कुरा थाहा हुँदैन । हिजो–आज साधारण किसान र निम्न वर्गका छोराछोरीहरू पनि उच्च शिक्षा हासिल गरेर समाजमा सेवा गरिरहेका छन् । अतः आफ्ना छोरा र छोरीको हार्दिक बधाई दिने बुबा र आमालाई फेरि धन्यवाद !
Leave a Reply