भर्खरै :

स्वास्थ्य सङ्कटको बेला चिकित्सकको जिम्मेवारी झन् बढ्छ

हरेक राजनीतिक दलका नेताहरू या राजनीतिज्ञहरू आ–आफ्नो पार्टीबाहेक देश र जनताप्रति समर्पित र चिन्तनशील हुनुपर्छ । देश र जनताबारे चिन्ता नलिने, चासो नराख्ने र बाह्य हस्तक्षेप, अतिक्रमण र दबाबको मतलब नराख्ने नेताहरूलाई सच्चा राजनीतिज्ञ मान्न सकिँदैन । विद्यालयका प्रिन्सिपल र प्राचार्यहरूको पनि आ–आफ्नो विद्यालय र कलेजको विकास गर्न, शैक्षिकस्तर उठाउन र पदअनुसारको जिम्मेवारी पूरा भएको छ कि छैन भन्नेतर्फ ध्यान गइरहेको हुन्छ । यो कुरा स्थानीय तहका वडाध्यक्षदेखि मन्त्रालयका मन्त्रीहरूमा पनि लागू हुन्छ । यसरी नै देशका सरकारी अस्पताल या जनस्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा समेत लागू हुन्छ । अझ कोभिड–१९ को सङ्क्रमणको कारण नेपाली जनता चिन्तित भइरहेको समयमा त अस्पताल र जनस्वास्थ्य केन्द्रका कर्मचारी, नर्स र चिकित्सकहरूको भूमिका र जिम्मेवारी झन् बढी हुन्छ ।
फूटबलमा क्याप्टेनले खेलको नेतृत्व गरेको हुन्छ, त्यो भूमिका खेलेको हुन्छ । एक पुस्तकालय अध्यक्ष पाठकमात्र हुँदैन, उसित पुस्तकालयमा रहेका सबैजसो पुस्तक या ग्रन्थहरूको जानकारी हुन्छ । यसकारण जनस्वास्थ्य केन्द्र र अस्पतालका मुख्य भूमिका खेल्ने डाक्टरको काम बिरामीको परीक्षणमात्र होइन समग्र जनस्वास्थ्य केन्द्र र अस्पतालको स्थितिबारे थाहा पाउनुपर्ने हुन्छ । अस्पतालसित सम्बन्धित सबै जिम्मेवार व्यक्तिहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् कि छैनन्, अस्पताल र बिरामीहरूको स्थिति के छ, समस्या के छ, त्यसलाई निराकरण गर्ने उपाय के छ, त्यसतर्फ अस्पताल या जनस्वास्थ्य केन्द्रका प्रमुखको ध्यान जानुपर्छ ।
आफूले मात्र इमानदारीपूर्वक जिम्मेवारी पूरा गरेर सबै समस्या समाधान हुनेछैन  । अस्पताल र जनस्वास्थ्य केन्द्रमा आइपरेका समस्या चुनौतीको सामना गर्न बेलाबखत कर्मचारी, नर्स र चिकित्सकहरूको भेला राख्नुपर्छ । तत्काल समाधान गर्नुपर्ने काममा विलम्ब गर्नुहुँदैन । जसरी युद्धको बेला भाग्ने सिपाहीँ सच्चा सिपाहीँ हुँदैन, त्यसरी नै स्वास्थ्य सङ्कट पर्दा रोगी या बिरामीको उपचार नगर्ने, स्वास्थ्य परीक्षण नगर्ने चिकित्सक जनताका चिकित्सक हुँदैनन् । रोग र रोगीको उपचार नगर्ने या बेवास्ता गर्ने नर्स र चिकित्सकले रोगीको सेवा गर्नसक्दैनन् ।
हरेक नर्स र चिकित्सकको महत्वपूर्ण काम रोगीको सेवा गर्नु हो । रोगीको सेवा गर्न दिक्क मान्नु हुँदैन । हो, जनस्वास्थ्य केन्द्र या अस्पतालमा के–कस्ता स्वास्थ्य सेवा सामग्री, बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटरको अभाव छ, त्यो सरकारले थाहा पाउनुपर्छ र विनाभेदभाव आवश्यकताअनुसार बन्दोबस्त गर्नुपर्छ । आवश्यक सामग्रीको अभावले पनि अस्पताल र जनस्वास्थ्य केन्द्रमा नर्स र चिकित्सकले चाहेर पनि भरपर्दो उपचार गर्न सकिरहेका छैनन् । यो देशको यथार्थ हो ।
राज्यको ध्यान नपुगेकै कारण या बेवास्ताको कारण अमेरिका, भारत, बेलायतजस्ता शक्तिसम्पन्न देशमा कोरोनाको कारण करोडौँ जनता सङ्क्रमित र लाखौँको मृत्यु भएको हो । लडाइँको मोर्चामा जसरी सिपाहीले वीरतापूर्वक लड्छ आफ्नो सीमा या देश जोगाउने काम गर्छ त्यसरी नै हरेक नर्स र चिकित्सकहरूले पनि रात–दिन बिरामीको सेवामा खट्नुपर्छ, त्यस्ता नर्स र चिकित्सकहरू दलको एक सच्चा, इमानदार, निःस्वार्थी राजनीतिक कार्यकर्ताझैँ समाजमा बहादुर र वीर कहलिने छन् । समाजले उनीहरूको नाउँ पछिसम्म लिइरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *