भर्खरै :

उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

काठमाडौँ, १ असार (रासस) । कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीनवटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि ७ गतेसम्म थप्ने निर्णय गरेको थियो ।
थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिद÷बिक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म गर्न पाइनेछ । पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत्, सेनीटरी, हार्डवेयर पसल) दिउँसो चार बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति गर्न पाइनेछ ।
अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइनेछ । त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म चल्न दिने भनिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्नसक्ने र त्यसका लागि आवश्यक मल, बीउ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीयरूपमा कामदार राखेर सञ्चालन गर्न भनिएको छ । निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइनेछ । अनलाइनबाट पठनपाठन गर्न सकिनेछ ।
बैङ्क तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्नसक्नेछन् । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइने आदेशमा उल्लेख छ । विवाहमा सात जना सहभागी हुनसक्ने र एउटा गाडीमात्रै प्रयोग गर्नसक्नेछन् । तर, पार्टी प्यालेसमा विवाह व्रतबन्ध रोक लगाइएको छ । अन्य भीडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी विगतको आदेशमा उल्लेख भएअनुसार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *