भर्खरै :

कक्षा सञ्चालन : पुस्तक अभाव

सरकारको पूर्व पत्रअनुसार असार १ गतेदेखि यस वर्षको शैक्षिक सत्र सुरू भएको छ । कोरोना भाइरसको कारण विद्यालय र कलेज बन्द भएकोले विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन भएको छैन । सरकारले कोरोना सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट कक्षा सञ्चालन सूचना प्रवाह गरेको कारण विद्यालयले असार १ गतेदेखि अनलाइन या जुममार्फत कक्षा सञ्चालन गर्न थालेको हो । भएको प्रविधिको आधारमा अनलाइनमार्फत कक्षा सञ्चालन गर्नु उपयुक्त माध्यम हो । तर, त्यस्तो प्रविधि सबै घरमा पुगेको हुँदैन । घरमा प्रविधि नै भए पनि कार्यालय अवधिभर अभिभावकले आफ्ना सन्तानलाई छोडेको हुँदैन । यसकारण, सबै कक्षामा विद्यार्थीहरू सहभागी हुँदैनन् । यो देशकै समस्या हो ।
विद्यालय खुलेपछि या कक्षा सञ्चालन भएपछि कमसेकम पाठ्यपुस्तक उपलब्ध हुनुपर्छ । जनक शिक्षा केन्द्रले पाठ्यपुस्तक छापिसकेको फुकेको छ । तर, पाठ्यपुस्तक विद्यालय–विद्यालयमा पुगेको छैन या विद्यार्थीको घरघरमा पुगेको छैन । शिक्षकले प्रविधि प्रयोग गरी कक्षा सञ्चालन गरे पनि विद्यार्थीमा पाठ्यपुस्तक पुगेको छैन । शिक्षकले पढाएको भरमा मात्र विद्यार्थीले सबै कुरा सिक्दैनन्, बुझ्दैनन् । पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा नपुग्ने समस्या यो वर्षमात्र होइन । गएको र यो वर्ष कोरोना सङ्क्रमणको कारणले पनि समस्या देखिएको सरोकारवालाको भनाइ रहेको छ ।
पाठ्य–पुस्तक एक–दुई हप्ता पछि परे पनि त्यति समस्या नहोला । तर, परीक्षा नजिकिँदा समेत पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्दैन । सहर–बजारमा नै यो समस्या छ भने दुर्गम या विकट जिल्लामा कस्तो समस्या होला ? असार १५ सम्ममा विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने सरकारको निर्देशन छ । विद्यालय सञ्चालन असार १ गते सुरू हुने बताएपछि त्यसअघि नै सम्बन्धित जिल्ला, नगर र गाउँमा आवश्यक पाठ्यपुस्तक पु¥याउनु पर्दैन ? समयमै पाठ्यपुस्तक पुग्दैन भने विद्यार्थीको शैक्षिक स्तर कसरी बढ्छ ? पढ्ने बानीको विकास कसरी हुन्छ, पढ्ने रूचि कसरी बढ्छ ? अन्ततः प्रत्यक्ष या अप्रत्यक्षरूपमा शिक्षाको स्तरमा बाधा पर्छ । यसले जनशक्ति निर्माणमा समस्या पर्छ । यो देशकै लागि समस्या बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *