भर्खरै :

दैनिक हुनु त यस्तो

म ‘मजदुर’ दैनिकको एक पाठक हुँ । म २–४ वटा ठुला आकारका दैनिक पत्रिकाको नियमित पाठक हुँ । विज्ञापन, सिनेमा, खेलकुद आदिले ठुला दैनिकको ठुलै ठाउँ लिन्छ । तर, आफ्नो जिज्ञासाअनुसारको समाचार, टिप्पणी र जानकारी नपाउँदा खल्लो लाग्छ – दिनभर ।
केही दिनदेखि क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा सैन्य जनरल राउल क्यास्त्रोको प्रतिवेदन धारावाहिक रूपमा हेर्दै छु । नेपाल र अन्य केही देशका पार्टीका नेताहरूको झगडा र प्रतिवेदनहरू सुनेर वा हेरेर उदेक लाग्छ । साँच्चै सांस्कृतिक स्तरको निम्ति एक पुस्ता नपुग्दो रहेछ । मन्त्री बन्न, नेता बन्नकै लागि, पैसा कमाउने राजनीतिमा लाग्ने नेताहरूको गाईजात्रा हेरेर मन खिन्न हुन्छ ।
तर, पुँजीवादी समाजको चरित्र यस्तै हुन्छ, नेपाल, भारत वा संरा अमेरिका नै किन नहोस् । यसकारण, समाचारपत्रहरूले सही समाचार, टिप्पणी र जानकारीहरू दिएर आ–आफ्नो नागरिक र नयाँ पुस्तालाई सुसूचित गर्नु नै प्रचारमाध्यमको कर्तव्य हो । तर, पुँजीवादी प्रचारमाध्यम यसको उल्टो हुन्छ ।
२९ जेठ २०७८ को ‘मजदुर’ मा क्याम्ब्रिज विश्वविद्यालयको राजनीतिशास्त्र तथा अन्तर्राष्ट्रिय अध्ययन विभागका वरिष्ठ प्राध्यापक र चीनको फुदान विश्वविद्यालयको चिनियाँ प्रतिष्ठानका वरिष्ठ आमन्त्रित प्राध्यापक मार्टिन क्याम्सको ‘ठुला सात ‘जी–७’ को शिखर सम्मेलन र आज विश्वमा जी–७’ शीर्षकको लेख हेरेँ । बडो सामयिक र सन्तुलित ठम्याइ लाग्यो ।
३० जेठको अङ्कमा ‘अमेरिकामा बालश्रमको स्थिति गम्भीर’ शीर्षकको समाचारले त्यहाँको ५ लाख बाल श्रमिकहरूलाई जबरजस्ती श्रम’ गराइरहेको र ‘मानव अधिकार’ को हनन भइरहेको समाचारले संरा अमेरिकी प्रशासनले ‘आफ्नो आङमा भैँसी नदेखेको’ उखानको सम्झना भयो । त्यसो त ठीक एक वर्ष अगाडि जर्ज फ्लोयडको हत्यापछि संरा अमेरिकाका सबै राज्यहरू र सयौँ हजारौँ नगरहरूमा पक्षपात र भेदभाव, सरकारी अत्याचारबारे अपूर्व र ऐतिहासिक विरोध देखियो । जर्ज फ्लोयडको हत्यालाई उजागर गर्ने टीभीका पत्रकारहरूलाई सिक्रीले बाँधेको र घोक्र्याउँदै र घिसार्दै लगको टीभीमै देखाइएको थियो । करोडौँ जनता उठेको देखेर नेपालीमा भएको ‘अमेरिका प्रजातन्त्रको गढ’ र ‘सपनाको देश’ भन्ने भ्रम सबै चकनाचुर भएको थियो ।
त्यत्तिमात्रै होइन, युरोपका मुख्य मुख्य देश बेलायत, फ्रान्स, जर्मनी, इटाली, क्यानाडा, अष्ट्रेलिया आदि नाटो देशका राजधानी र सहरहरूमा पनि ठुल्ठुला विरोध प्रदर्शन र जनसभाहरू भएका थिए । तर, ट्रम्पले जस्तै नयाँ अमेरिकी जो बाइडेनको प्रशासनले पनि थाइवान, हङकङ, तिब्बत र सिङच्याङको प्रश्न उठाएर संसारको ध्यानलाई चीनतिर फर्काउन खोज्दै छ । तर, त्यस कार्यले चीनको सार्वभौमिकता र आन्तरिक मामलामा हाकाहाकी हस्तक्षेप भइरहेको नदेख्नु अमेरिकी साम्राज्यवादको बलमिचाइँ हो । अब अमेरिकी साम्राज्यवादको बलमिचाईँ धेरै दिन नचल्ने प्रस्ट छ ।
३१ जेठको ‘मजदुर’ अङ्कमा पाकिस्तान–चीन प्रतिष्ठानका कार्यकारी निर्देशक मुस्तफा हैदर शैयद्को ‘जी–७ बाट के अपेक्षा गर्ने ?’ शीर्षकको लेख पनि सामयिक लाग्यो । साथै सम्पादकीयमा ‘सौर्य बत्ती जडान गर्ने नाममा विमानस्थलमा भारतीय सेना !’ शीर्षकको चासो र भारतीय सरकारको नियतको निन्दा स्वागतयोग्य छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकोत्सवको अवसरमा ‘चीनका ती विद्यार्थी जो युरोपमा क्रान्तिकारी बने’ शीर्षकको जानकारी अत्यन्त सामयिक छ, क्रान्ति र समाजवाद विश्वव्यापी छ र त्यसबारे कसैले रोक्न सक्दैन भन्ने सन्देश दिन्छ ।
१ असारको ‘मजदुर’ दैनिकको ‘जी–७ आजको कागजी बाघ’ सम्पादकीय बेलायत र अमेरिकी साम्राज्यवादलाई एक झापट हो भने दिल्ली विश्वविद्यालयका हिन्दीका प्राध्यापक अपूर्वानन्दको ‘कक्षा कोठाभित्रको वैचारिक स्वतन्त्रता’ ले भारतको वर्तमान भाजपा सरकार फासीवादी हो उसको अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) नेपालको मण्डले विद्यार्थी सङ्गठन सङ्घसँग मेल खान्छ । विगोलको ‘कुन पूर्व प्रमले बाह्य हस्तक्षेपको विरोध गरेका छन् ?’ भन्ने टिप्पणीले पूर्व प्रमहरूको पछि लाग्नेहरूलाई झस्काउनेछ । धन्यवाद ¤ ‘कति सहने भारतको हस्तक्षेप, महाकाली नदी थुनेरै सडक बनाउँदा नेपालको बाटोमा क्षति’ शीर्षकको समाचारले पूर्व र वर्तमान प्रम र मन्त्रीहरूलाई भारतको झापट भएको छ । तिनीहरूको देशभक्ति उदाङ्गियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *