भर्खरै :

फेरि गर्यो प्रजग कोरियाले क्षेप्यास्त्र परीक्षण

प्रजग कोरियाले फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । मङ्गलबारका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले यसलाई महत्वका साथ बिहानैदेखि प्रचारमा ल्याएका छन् ।
संयुक्त राज्य अमेरिकाले आफ्नोे स्वतन्त्रता दिवसको तयारी गरिरहेका बेला प्रजग कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्नुलाई संयुक्त राज्य अमेरिकालाई दिइएको चेतावनीका रुपमा पनि लिइएको छ ।
सोमबार भएको अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको फोनवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजग कोरियाले जारी राखेको आणविक परीक्षणलाई रोक्न र यसबाट उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा अग्रसरता लिन चीनलाई आग्रह गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजग कोरियाले जारी राखेको परीक्षणका कारण कोरियाली प्रायःद्वीपमा विगत लामो समयदेखि जारी तनावपूर्ण अवस्थाका बारे कुराकानी गरेको भोलिपल्टै प्रजग कोेरियाले सम्भवतः अहिलेसम्मको सबभन्दा दुरमारक आणविक हतियार परीक्षण गरेको छ ।
यसलाई निकै शक्तिशाली क्षेप्यास्त्रका रुपमा लिइएको छ । आणविक हतियारसम्बन्धी विज्ञहरुका अनुसार सो परीक्षण यसअघिको भन्दा निकै शक्तिशाली रहेको र यसले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने खालको रहेको भनेका छन् ।
यसअघि प्रजग कोरियाली नेताले आफ्नो देशले अमेरिकासम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र निर्माणको तयारी गरिरहेको बताएका थिए । तर यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने असम्भव भनी हलुका प्रतिक्रिया दिएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार भएको चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको वार्तापछि गरेको ट्वीटमा प्रजग कोरियाको आणविक परीक्षणको कामलाई वाहियात भनी प्रक्रिया दिएका छन् र यसलाई सधैँका लागि बन्द गराउने काम गर्न चीनलाई पनि आग्रह गरेका छन् ।
कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि चीनको अह्म भूमिका हुने अमेरिकी भनाई रही आएको छ ।
उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि हालै अमेरिका भ्रमणका क्रममा प्रजग कोरियाको बारम्बारको क्षेप्यास्त्र परीक्षणको खेती रोक्न आग्रह गरेका थिए ।
प्रजग कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तर रुपमा आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि प्रजग कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।
राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति भएदेखि नै अमेरिकाको कोरियाली नीतिमा चासो बढाएका छन् ।
यो परीक्षणलाई प्रजग कोरियाली रक्षा अधिकारीहरुले शक्तिशाली भनेका छन् । उनीहरुले यसको औपचारिक नामाकरण र घोषणा भने गरेका छैनन् । सञ्चारमाध्यमहरुले यस परीक्षणपछि प्रजग कोरियाली नेताको प्रतिक्रिया के आउँछ भन्ने बारेमा केही बताउन नसकिएको जनाएका छन् ।
प्रजग कोरियाली राजधानी प्योङयाङको नजिकैको एक समुद्रबाट यो क्षेप्यास्त्र परीक्षण गरिएको छ । मङ्गलबारको यो परीक्षणबाट करिब २ हजार ५०० किलोमीटरसम्म मार हान्न सक्ने क्षमता रहेको अनुमान जापानले गरेको छ । रासस-एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *