भर्खरै :

खोपमा कूटनीतिक अपरिपक्वता

सरकारको कूटनीतिक अपरिपक्वताको कारण छिमेकी देश चीनको साइनोफार्म कम्पनीबाट नेपालले चालीस लाख कोभिड–१९ खोप खरिद गर्ने प्रक्रिया समस्यामा परेको छ । नेपाल सरकारको आग्रहमा साइनोफार्मले बीस लाख खोप बेच्न तयार भएकोमा पछि नेपालबाट थप खोपको माग गरेपछि चिनियाँ कम्पनी चालीस लाख खोप दिन तयार भएको थियो । संसारका अन्य खोप कम्पनीहरूले जस्तै साइनोफार्मले पनि नेपालसँग खोप खरिदबारे गर्ने सम्झौता बाहिर पठाउन चाहेको थिएन । चिनियाँ कम्पनीको त्यो आफ्नो व्यापार नीति हो । अमेरिकाको मोर्डना र पीफाइजरलगायत खोप कम्पनीहरूले पनि विभिन्न देशसँग त्यस्तो सम्झौता गरेका छन् । विडम्बना ! सम्झौता बाहिर नल्याउन साइनोफार्मको आग्रहविपरीत नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अन्य सरकारी अधिकारीहरूका साथै केही सञ्चारमाध्यमले चिनियाँ खोपबारे सार्वजनिक हुँदा चिनियाँ पक्ष अप्ठ्यारोमा परेको छ । विशेषतः साइनोफार्मले खोपको खरिद मूल्य बाहिर नल्याउन आग्रह गर्दै आएको थियो । उसले दक्षिण एसियाकै श्रीलङ्का र बङ्गलादेशलगायत देशलाई खोप बेच्दा पनि यस्तो सम्झौता र आग्रह गरेको थियो ।
दक्षिणी छिमेकी देश भारतको सरकारले खोप निर्यातमा लगाएको प्रतिबन्ध अझै खुलाएको छैन । त्यसकारण, भारतबाट नेपालले खरिद गरिसकेको दस लाख खोप पनि आउन अझै समय लाग्ने देखिन्छ । सरकारले युरोप र संरा अमेरिकामा खोपको लागि गरेका कूटनीतिक पहलले खासै उपलब्धि दिन सकेन । नेपालले अब खोपको लागि हेर्ने भनेको उत्तरतिरै हो । कोभिड–१९ महामारीविरुद्धको लडाइँमा मानिससँग आज उपलब्ध सबभन्दा ठुलो हतियार भनेको खोप हो । खोपले कोभिड–१९ को सङ्क्रमण हुँदै नहुने होइन । तर, कोभिड–१९ को कारण ज्यान गुमाउनबाट खोपले रोकेको नेपालकै अनुभवबाट पनि पुष्टि भएको छ । तसर्थ, जति चाँडो नेपाली जनतालाई खोप दिनसक्छौँ, त्यत्ति नै नेपाली जनता महामारीको विषमताबाट जोगिनेछौँ । जति चाँडै हामी महामारीबाट मुक्त हुन्छौँ, त्यत्ति चाँडै हाम्रो अर्थतन्त्रले गति लिनेछ र जनजीवन सामान्य बन्दै जानेछ । त्यसकारण, यतिबेला संसारका सबै देशको जस्तै नेपालको खाँचो पनि खोप नै हो । छिमेकी देश चीनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धको कारण यसअघि नै अठार लाख खोप सहयोग गरिसकेको छ । सम्भावित अन्य सबै ढोका बन्द हुँदै गएपछि सरकारले खोप किन्न पनि उत्तरकै ढोका घच्घचाएको छ । नेपाल सरकारको माग र आग्रहअनुसार चालीस खोप बेच्न चीन तयार पनि भयो । तर, अन्तर्राष्ट्रिय व्यवहारलाई पनि आफ्नो दलभित्रको व्यवहारजस्तै ठान्ने शासकहरूको अपरिपक्व व्यवहारको कारण नेपाल अर्को समस्यामा पर्दै छ ।
चीन आज विश्वका पुराना शासकहरूसँग एक्लै प्रतिस्पर्धा गरिरहेको देश हो । कुनै पनि निहुँ वा मौकामा चीनको घाँटी अँठ्याउन नछोड्ने पश्चिमा शक्तिसँगको प्रतिस्पर्धामा चीनले जीउभरि आँखा राखेर हिँड्नु उसको लागि अपरिहार्यता हो । यही संवदेनशीलताको कारण चिनियाँ कम्पनीले गरेको आग्रहलाई नेपालका जिम्मेवारी पदाधिकारीहरूबाट उल्लङ्घन गर्नु सुखद कुरा होइन ।
स्वास्थ्य र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूले यो कूटनीतिक संवदेनशीलतामा खेलाँची गर्नुहुने थिएन । उनीहरूकै मनपरी व्यवहारको कारण सरकारले अलगै विज्ञप्ति निकालेर आफ्नो कमजोरी लुकाउन खोज्यो । तर, यस्ता व्यवहार भने यो पहिलो पटक होइन । यसअघि पनि कूटनीतिक मामिलामा नेपालको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबाट बारम्बार कमजोरी भएका छन् । यसले देशको छवि त धमिलिन्छ नै । साथै देशप्रति नै अन्तर्राष्ट्रिय समुदायमा विश्वास क्षीण बन्ने खतरा रहन्छ । यसबारे शासक दलले गम्भीरतापूर्वक समीक्षा गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *