भर्खरै :

कालीकोटका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामग्री हस्तान्तरण

कालीकोट, ६ असार । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मित्र देश चीनबाट प्राप्त स्वास्थ्य सामग्रीमध्ये कालीकोट जिल्लाको तिलागुफा नगर अस्पतालका हेल्थ असिस्टेन्ट सिर्जनाकुमारी शाहीलाई १९२० थान एन ९५ मास्क र कालीकोट जिल्ला अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतलाई १९२० थान एन ९५ मास्क र हाइड्रोजन अक्सिजन मेसिन १ थान र तिलागुफा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष खड्गराज शाहीलाई ९६० थान एन ९५ मास्क शनिबार हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरणको क्रममा सचिव सुवालले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा जेठ १२ गते चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका ६ वटा राजनीतिक दलहरूसँग अनलाइन बैठक भएको जानकारी गराउँदै सो बैठकमा चिनियाँँ कम्युनिस्ट पार्टीले गरेको प्रतिबद्धताअनुसार नेपालका राजनीतिक दलहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको बताउनुभयो ।
उहाँले बैठकमा चीनको क्रान्तिपश्चात् अहिलेसम्म चीनले गरेको विकास तथा गरिबी निवारणमा चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका र कोभिड– १९ को लडाइँमा सहयोग र सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो ।
सचिव सुवालले साम्राज्यवादी देशहरूले कोभिड– १९ बारे चीनलाई दोषारोपण गरे पनि वास्तवमा यो रोग अमेरिकाको हवाई टापु र क्यालिफोर्नियामा पहिल्यै देखा परिसकेको चर्चा गर्दै सन् २०१९ को अक्टोबरमा चीनको उहानमा भएको सैनिक खेलकुदमा भाग लिन गएका अमेरिकी सेनाहरूले चीनमा यो रोग सारेको उल्लेख गर्नुभयो ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ को जनवादी क्रान्तिपश्चात् ८० करोड चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको प्रसङ्ग चर्चा गर्दै कोभिड–१९ नियन्त्रण गर्न विश्वका विभिन्न देशहरूलाई सहयोग गर्ने क्रममा नेपालका राजनीतिक पार्टीहरूमार्फत पनि गरिएको सहयोग प्रशंसनीय भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेपालका राजनीतिक दलहरूसँग नैतिकता हराएको उल्लेख गर्दै नेपालका शासक दलहरूले ‘घरमा आगो लगाएर खरानी बेचिरहेको’ चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले भेरी, कर्णालीमा पञ्चायतकालदेखि नै जनतामाझ सङ्गठन गर्दै कामदार जनताको पक्षमा आवाज उठाउंदै आएको र अहिले पनि नेमकिपा जनताको स्वास्थ्यप्रति चिन्तित रहेको केन्द्रीय सदस्य शाहीले बताउनुभयो ।
कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले गत साल २५० जना कोभिडका बिरामी भएको कालीकोट जिल्लामा यस वर्ष १६०० पुगेको र ६ जना मृत्यु भएको जानकारी गराउँदै जिल्लाका सबै पालिकाहरूमा स्वास्थ्य सेवा सुरु गरेको जानकारी दिनुभयो । उहाँले कालीकोट जिल्लामा नेपाल मजदुर किसान पार्टीमार्फत चीन सरकारले गरेको सहयोग अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
कालीकोट जिल्ला अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले कोभिड–१९ महामारी चुनौती र अवसर दुबै भएको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीले प्रतिकूल मौसममा पनि विकट ठाउँको अस्पताललाई प्राथमिकता दिएको कारण अस्पताल परिवारलाई खुसी र उत्साही बनाएको बताउनुभयो । उहाँले अन्य पाँच राजनीतिक पार्टीलाई चिनियाँं कम्युनिस्ट पार्टीले उपलब्ध गराएको एन ९५ मास्क र हाइड्रोजन अक्सिजन मेसिन कालीकोट जिल्लामा नछुट्ने गरी प्राप्त हुने अपेक्षा गर्नुभयो ।
तिलागुफा नगर अस्पतालका हेल्थ असिस्टेन्ट सृजनाकुमारी शाहीले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने चिनियाँ कम्युनिस्ट पार्टी र अस्पतालसम्म आएर हस्तान्तरण गर्ने नेपाल मजदुर किसान पार्टीप्रति आभार प्रकट गर्नुभयो ।
स्वास्थ्य सामग्री हस्तान्तरणपछि कालीकोट जिल्ला अस्पतालका चिकित्सक डा. किरण शाहीले नेमकिपाका सचिव प्रेम सुवालसहितको टोलीलाई अस्पतालका अपरेसन कक्ष, आकस्मिक कक्ष, प्रसूति गृह कक्ष, सामान्य उपचार कक्ष, ओपीडीलगायतका विभिन्न कक्षहरू अवलोकन गराउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ककालीकोट जिल्ला समितिका सचिव खड्गराज शाहीले पनि स्वास्थ्य सामग्री हस्तान्तरणबारे बोल्नुभएको थियो भने कार्यक्रममा नेमकिपा कालीकोटका जिल्ला सदस्य धनञ्जय अधिकारीलगायतका पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *