भर्खरै :

असार १४ गतेसम्म निषेधाज्ञा केही प्रावधान खुकुलो

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न जारी निषेधाज्ञा असार १४ गतेसम्म थपेको छ । यद्यपि, निषेधाज्ञाका केही प्रावधान भने खुकुलो बनाइएको तीनै प्रजिअले आइतबार जारी वक्तव्यमा उल्लेख छ ।
मङ्गलबारबाट लागु हुने नयाँ प्रावधानअन्तर्गत खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा, मासु, पूजा सामग्री, खेलकुद सामग्री, डिर्पाटमेन्टल स्टोर (ग्रोसरीमात्र), स्टेसनरी र पुस्तक पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ ।
त्यस्तै डिपार्टमेन्टल स्टोर (ग्रोसरीबाहेक), सपिङ मल, खेलकुद सामग्री, जुत्ता, कपडा, फेन्सी, कस्मेटिक, साडी, उपहारका सामान, टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाउने भएको छ । सुन पसल, भाडाभान्साजन्य, विद्युतीय सामग्री, अटोमोबाइल शो रूम, अटोमोबाइल पार्टस् पसल, मोबाइल र कम्प्युटर पसल आइतबार, मङ्गलबार र बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न सकिने भएको छ । हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल मार्बल र फर्निचर पसलले भने दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न सकिनेछ । सवारी साधन मर्मतका लागि वर्कसपहरू भने बेलुका ७ बजेसम्म खोल्न पाइने सूचनामा उल्लेख छ ।
पसल व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गर्न अनिवार्य गरिएको छ । अत्यावश्यक वस्तुको अनलाइन र टेक अवे सेवा, होम डेलिभरी प्रयोजनको लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।
अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनलाई सुचारू गर्ने निर्णयलाई चालु राखी असार १४ गते राति १२ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न नदिइने तीन जिल्लाका प्रजिअहरूका वक्तव्यमा उल्लेख छ । निजी सवारी साधनको हकमा जोर बिजोर प्रणाली लागु गरिएको छ । ट्याक्सीमा तीन जनाभन्दा बढी बस्न नपाइने व्यवस्था लागु गरिएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ । त्यस्तै शैक्षिक संस्थाहरूले अनलाइन र भर्चुअल माध्यमबाट पठनपाठन कार्यलाई नै निरन्तरता दिइनेछ ।
विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरूले स्वास्थ्य मापदण्डको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्तिमात्र प्रयोग गरी सेवा प्रवाह सुचारू गरिने वक्तव्यमा उल्लेख छ । त्यस्तै बैङ्क, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरू स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्ति परिचालन गरी भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गरिने बताइएको छ ।
मानिसको भीडभाड हुने अन्य कुनै पनि सार्वजनिक सभा–सम्मेलन, गोष्ठी, तालिम, सेमिनार गर्न पाइनेछैन । त्यस्तै सिनेमा घर, भोजघर, डान्सबार, दोहोरी, नाचघर, क्लव, पौडी पोखरी, मनोरञ्जन स्थल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, रङ्गशाला आदि साविकअनुसार बन्द रहने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *