भर्खरै :

खतरा अझै सकिएको छैन

काठमाडौँ उपत्यकाका तीन जिल्लामा असार १४ गतेसम्म निषेधाज्ञा थपे पनि अहिलेकै गतिमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण हुने हो भने सम्भवतः केही हप्तापछि जनजीवन सामान्य र सहज बन्दै जानेछ । तर, स्वास्थ्य सावधानीका नियमको पालनालाई भने अझै निरन्तरता दिनुको विकल्प छैन । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ६० देखि ७० प्रतिशत मानिसलाई पूर्ण मात्रा खोप लगाएपछि हामीले सार्वजनिक थलोमा मास्क नलगाई हिँड्न सक्नेछौँ । तर, कुल जनसङ्ख्याको त्यत्ति प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्त्न्दा हामी निकै पर छौँ । महामारी फर्किन सक्छमात्र होइन, अघिल्ला लहरभन्दा अझ घातक रूप धारण गरेर आउनसक्छ भन्ने कुरा दोस्रो लहरले संसारलाई सिकाएको छ । पहिलो लहरको शिथिलतासँगै हामीले गरेका गल्ती र कमजोरी नै दोस्रो लहरको लागि बाटो बनेको थियो । महामारीलाई न्यूनाङ्कन गर्दै हजारौँ हजार मानिस जम्मा गरेर ठुलठुला सभा सम्मेलन गर्दाको परिणाम दोस्रो लहरमा नेपाली जनताले भोग्नुप¥यो । दोस्रो लहरको सम्भावनाबारे विज्ञ चिकित्सकहरूले पटक–पटक सजग बनाउँदा पनि सरकारले पूर्वतयारीमा विलम्ब गर्दा धेरै मानिसले जीवन गुमाउनुप¥यो ।
खोप किन्न राज्यले विलम्ब गर्दा रकम बुझाइसकेको खोप पनि समयमै हात लागेन । त्यसले खोप अभियानमा ढिलाइ भयो । खोप लगाउनेको परिधि फराकिलो बनाउन नसक्दा जोखिम अझ बढ्यो । स्वास्थ्य पूर्वाधारको समय व्यवस्थापन गर्न नसक्दा अक्सिजनकै अभावले पनि कैयौँ मानिसले संसारबाट बिदा हुनुप¥यो । अस्पतालमा शय्या अभावको कारण बिरामीको खुला उपचार गर्नुपर्ने अवस्था बन्यो ।
कोभिड–१९ को सङ्क्रमण दर अहिले ओरालो लागेको छ । शय्या भरिभराउ भएर प्राङ्गणमा बिरामीको उपचार गरेका अस्पतालहरूमा शय्या खाली हुन थालेका छन् । यो सकारात्मक कुरा हो । तर, यी सकारात्मक कुरामै खुसी भएर न त शासक चुप लागेर बस्न मिल्छ, न जनता नै । महामारीले हाम्रो स्वास्थ्य प्रणालीका कमी कमजोरी हाम्रोसामु उजागर गरेको छ । स्वास्थ्य प्रणालीभित्र कहाँ के कस्ता समस्या र छिद्र छन् भन्ने कुरा छर्लङ्ग बनाएको छ । हामीलाई कहाँनेर कस्ता मर्मतसम्भारको खाँचो छ भन्ने कुरा बोध गराएर जाँदै छ । विज्ञहरूले महामारी फेरि पनि नयाँ प्रारूपमा फर्किन सक्ने, त्यसले अझ घातक प्रभाव पार्न सक्ने र कदाचित महामारी नफर्के पनि महामारीको प्रभाव पनि लामो समयसम्म कायम रहने बताएका छन् । यस्तो अवस्थाको सामना स्वास्थ्य प्रणालीमा रहेका कमी कमजोरी हामीले सच्याउन जरूरी छ । छिद्रहरू टाल्नेमा जोड गर्न जरूरी छ । स्वास्थ्य विपत्तिको समयमा बिरामीलाई हामीसँग पुग्दो अक्सिजन पनि थिएन, अब अक्सिजन प्लान्ट बनाऔँ । भेन्टिलेटर र सघन उपचार कक्षको अभाव रह्यो । स्वास्थ्य पूर्वाधारका यस्ता अभाव टाल्नतिर लागौँ ।
भविष्यमा फेरि पनि हुरी बनेर आउन सक्ने महामारीको सामना गर्न राज्यले धेरैभन्दा धेरै मानिसलाई सकेसम्म चाँडो खोप दिन जरूरी छ । सरकारले त्यसको निम्ति कहाँ कसरी हुन्छ, खोपको व्यवस्था गर्न जरूरी छ । खोप अहिले मानिसको जीवनरक्षासँग जोडिएको विषय हो । जनताको जीवन रक्षामा फेरि पनि भ्रष्ट राजनीतिले टाउको उठाउन नपाओस् ।
नागरिकका पनि केही दायित्व छन् । सङ्क्रमण दर ओरालो लागेको भन्दै मनपरी गर्दै हिँड्ने हो भने फेरि खतराले कुनै पनि बेला फणा उठाउन सक्छ । तसर्थ, नयाँ वास्तविकता सामना गर्न जीवनशैलीमा परिवर्तन ल्याऔँ । स्वास्थ्य सावधानीका मापदण्डको पालनालाई निरन्तरता दिऔँ । खोप उपलब्ध भएपछि पूर्ण मात्रा खोप लगाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *