भर्खरै :

अछाम र दाङका अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

असार ७, अछाम । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट पार्टीलाई प्राप्त स्वास्थ्य सामग्रीमध्ये अछामको मङ्गलसेन अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनाली बास्कोटामार्फत १५२० थानएन ९५ मास्क र अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं ६ स्थित वीरपथ स्वास्थ्यचौकीका सिनियर अनमी मिना सावदमार्फत ३२० थानएन ९५ मास्क स्वास्थ्यकर्मीहरूको निम्ति हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरणको क्रममा सचिव सुवालले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष तथा चीनमा जनवादी क्रान्ति भएको ७० वर्षको अवसरमा नेमकिपालगायत नेपालका ६ वटा राजनीतिक पार्टीसँग अनलाइन बैठक गरी सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो । १ अर्ब ४० करोड जनसङ्ख्या भएको चीनले आफ्नो देशमा कोभिड–१९ विरुद्धको लडाइँ जितेर विश्वका विभिन्न देशहरूलाई पनि कोभिडविरुद्धको सङ्घर्षमा सहयोग र सहकार्य गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले १९४९ को क्रान्तिपश्चात् चिनियाँ कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकारले चीनका ८० करोड जनतालाई गरिबीको रेखाबाट माथि उठाएको चर्चा गर्दै विज्ञान र प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास गर्दै चीन विश्वको दोस्रो आर्थिक शक्ति बन्न सफल भएको उल्लेख गर्नुभयो ।
सचिव सुवालले साम्राज्यवादी देशहरूले कोभिड–१९ बारे चीनलाई दोषारोपण गर्नु गलत भएको स्पष्ट पार्दै कोभिड–१९ रोग पहिल्यै अमेरिकाको हवाई टापु र क्यालिफोर्नियामा देखा परेको अमेरिकाका विज्ञहरूले नै बताइसकेको उल्लेख गर्नुभयो । उहाँले सन् २०१९ को अन्तिममा चीनको उहानमा सैन्य खेलकुदमा भाग लिन गएका अमेरिकी सेनाबाट चीनमा कोभिड–१९ रोग सरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिका अध्यक्ष झङ्करबहादुर शाहीले वीरपथ स्वास्थ्यचौकीका अहेव आशिका तामाङ्गलाई एन ९५ मास्क हस्तान्तरण गर्दै मित्र देश चीनबाट प्राप्त स्वास्थ्य सामग्री कोभिड–१९ विरुद्धको सङ्घर्षमा अग्रपङ्क्तिमा रहेर लड्नु हुने स्वास्थ्यकर्मीहरूलाई वितरण गर्ने पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार देशका विभिन्न सरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा हस्तान्तरण गरिएको बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा अछाम जिल्ला अस्पतालका निमित्त मे.सु डा. सोनाली बास्कोटा र वीरपथ स्वास्थ्य चौकीका अहेव आशिका तामाङ्ग र सिनियर अनमी मिना सावदले प्रतिकूल मौसम भए पनि पार्टीका कार्यकर्ताहरू स्वास्थ्य संस्थासम्मै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकोमा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी अछामका वीरेन्द्र शाहीलगायतका पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो ।
यसैबीच सोमबार दाङको राप्ती प्रादेशिक अस्पतालमा नेमकिपाका सचिव प्रेम सुवालले अस्पतालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ विनोद सिंहलाई मास्क हस्तान्तरण गर्नुभयो । सिंहले मास्क अस्पतालका अधिकृत गुरुप्रसाद योगीलाई हस्तान्तरण गर्नुभएको थियो ।
हस्तान्तरणको क्रममा नेमकिपाका सचिव सुवालले चिनियाँ जनताबाट प्राप्त मास्कले अस्पतालमा स्वास्थ्यकर्मीहरूको काममा सहयोग हुने आशा व्यक्त गर्नुभयो । उहाँले चीनको कम्युनिस्ट पार्टीले नेमकिपालगायत नेपालका १२ वटा राजनीतिक दललाई प्राप्त स्वास्थ्य सामग्री नेमकिपाले विभिन्न जिल्लाका अस्पतालमा पुगेर हस्तान्तरण गरिरहेको बताउनुभयो ।
चिकित्सक विनोद सिंहले चिनियाँ जनताबाट प्राप्त सहायता सामग्रीलाई बिरामीको उपचारको लागि अधिकतम प्रयोग गर्ने वचन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *