भर्खरै :

भौतिक सुविधा, नागरिक भावना र राजनीति

भूमि सुधारपछि केही जिल्लाका किसानले केही भौतिक सुविधा पाए, कर्मचारीको केही प्रतिशत तलब र सुविधा बढ्यो । ती रकम सबै सामान किन्नमा खर्च भयो । बजारभाउ वृद्धिले गर्दा पैसा सबै व्यापारी, उद्योगपति र बैङ्कका मालिक तथा पुँजीपति वर्गको थैलामा पुग्यो । जनता गरिबै रहे, नेपालको केही सय परिवार करोडपतिबाट अरबपति भए र अरबपतिबाट खरबपति भए ।
केही कर्मचारी, जिल्ला र गाउँका मध्यमवर्ग माथिल्लो वर्गमा उक्लियो र विदेशी जागिरदारहरू अर्थात् विदेशी गैरसरकारी संस्थाका कार्यकर्ता, विदेशी मोटर, मोटर साइकल, वाहन (ट्रक, टिपर, डोजर आदि पहेँला गाडी) का एजेन्टहरू, पेट्रोल डिजेलका व्यापारी र एजेन्टहरू, विदेशी औषधी र उपचारका साधन वा उपकरणका एजेन्टहरू, बैङ्कका मालिक वा ठूल्ठूला मालिकहरू माथिल्लो वर्गमा उक्लिए । तिनीहरूको भौतिक जीवनमा सुधार देखियो । त्यसमा केही शासक दल र वर्गका मालिकहरू पनि पर्छन् ।
तर, पुँजीवादी समाजमा केही पेशाका परिवार वर्गीयरूपमा माथि उक्लिनु स्वाभाविक भए पनि तिनीहरूमा आध्यात्मिक वा नागरिक भावनामा विकास नहुनु चिन्ता र दुःखको विषय हो । मालिकहरूसँग धेरै व्यक्तिगत गाडी छन् तर गाडी सडकमा राख्नुहुँदैन, गाडीको निम्ति आ- आफ्नो ग्यारेज वा निजी पार्कहरू बनाउनुपर्छ भन्ने कसरी मनमा गएन ? तिनीहरूको मस्तिष्कमा ट्रक, टिपर, निर्माणका भारी गाडीहरू आवास क्षेत्रमा लानुहुन्न भन्ने नागरिक चेत कसरी उब्जेन ? सम्भवत ती साहु, व्यापारी तथा पुँजीपतिहरू भर्खर इँटाभट्टा, बालुवा – गिट्टी, घरजग्गा, म्यानपावर कम्पनी वा निर्माण व्यवसायबाट नवधनाढ्य भएका होलान् । तिनले राम्रो बानीव्यहोरा र सुग्घर सफाइ सिकेका छैनन् । ऐन कानुन र नागरिक भावना थाहा पाएका छैनन् । त्यसो भनौँ भने तिनीहरूको सङ्गत अनेकौँ देशविदेशका शिक्षण संस्थाहरूबाट पुरस्कार थापेका, विभिन्न देशका ठूलासाना सभा – सम्मेलन र सभाहरूमा सहभागी भएका एवम् प्रतिष्ठित देशका नाउँ चलेका प्राविधिकहरूसँग छ, तिनीहरूबाट केही जरुरै सिकेका होलान् ¤ साथै, जिल्ला, विभाग र मन्त्रालयका ठूलाबडा पदासीन व्यक्तित्व तथा उच्च स्तरीय प्रहरी प्रशासन, अख्तियार एवम् न्यायाधीश र नाउँ चलेका कानुन व्यवासायीसँग पनि तिनको उठबस छ । तर, तिनीहरूको भौतिक प्रगति भएजस्तै आध्यात्मिक (नागरिक भावना र देशभक्ति) भावना कसरी मनमा घुसेन ? आश्चर्य लाग्छ !
हुन त राजनीति सबै नीतिको राजा भनिन्छ । त्यस्तै, राजनैतिक नेताहरूले नै नेपालजस्तो विकासशील देशका गाउँ र सहरका जनतालाई खानेलाउनेदेखि सबै बानीव्यहोरा र सदाचार तथा जातअनुसारको साहित्य र सांस्कृतिक जीवनबारे समेत दीक्षित गर्नुपर्ने हो । नेतालाई अर्को शब्दमा भन्नुपर्दा गोठालोे र दिशानिर्देशक हो । तर, केन्द्रीय नेताहरू आफैले पद र पैसाको निम्ति जँड्याहा, गुन्डा, गरिब जनतालाई लुटी खाने गाउँका जाली फटाहाको बोलीवचन र व्यवहारबाट कार्यकर्तालाई शिक्षा दिँदा तिनीहरूले के सिक्ने होला ?!
तराईमा बोक्सी, घरेलु हिंसा, दहेज, जाती विभेद, तस्करी, युवायुवतीको भारतमा बेचबिखन, परीक्षामा नक्कल गर्ने, भ्रष्टाचार, शोषण, बालबिवाह र अनेक कूकृत्य छन्, त्यो भनी साध्य छैन । तर, तराईका मधेस आन्दोलन गर्ने राजनैतिक दलहरू नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी र राप्रपाका नेताहरूले कहिल्यै आफ्ना कार्यकर्तालाई ती कूकृत्यको विरोधमा सङ्घर्ष गर्न सिकाएनन् ! बरु, ती कार्यकर्तालाई अपराधीहरूसँग मिलेमतो गराउँछन् र प्रशासनलाई फोन गरेर राजनैतिक प्रभाव प्रयोग गरी अपराधीलाई सघाउँछन् । अनि, यस्तै नेता र तिनीहरूका कार्यकर्ताबाट समाज र देश कसरी आध्यात्मिकरूपले अगाडि बढ्छ भनी कल्पना गरून् जनताले ?
प्रहरी होस् वा सिपाहीहरूले नै आफ्ना माथिल्ला दर्जाका ॅसाहेब’ हरूलाई नर्स र सिपाहीमा भर्ती गर्न समेत ५ – ५ लाख घुस दिएकोमा इज्जत बढेको जस्तो प्रचार गर्छन् भने देशको आध्यात्मिक स्तर कहाँ पुग्यो भनी जिम्मेवार नेपालीले अरूलाई दोष नदिई गम्भीर भएर सोच्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *