भर्खरै :

आदर निकेतनको आवश्यकता किन, कसरी ?

बदलिँदो समाजमा कामको खोजी, रोजगारी, व्यापार, अध्ययन- तालिम आदिको सिलसिलामा आफ्नो परिवार गाउँ – सहर र जिल्ला छोडेर अन्त जानुपर्ने हुनसक्छ । यस्तो अवस्थामा घरका ज्येष्ठ नागरिक आमाबुबा, हजुरआमा हजुरबुबाको हेरचाह गर्ने स्थिति हुन्न ।
गाउँ, सहर र जिल्लान्तर नहुँदा पनि रोजगारी वा कुनै कामको सन्दर्भमै बिहान, दिउँसो वा रातको समयमा खटिनुपर्दा घरका ज्येष्ठ नागरिकलाई समयमा औषधी खुवाउने, समयमा खाजा, चिया र खाना खुवाउने तथा दैनिक हुने अन्य कार्यमा सहयोग गर्ने व्यक्ति समेत हुँदैन ?
उमेरसँगै स्मरण शक्ति घट्दै जाने, विस्मृतिको रोगले गाँज्दै लाने, हात खुट्टा कमजोर हुँदै जाने, हाड खिइँदै जाने, स्वासप्रश्वासको समस्या देखिने आदि अस्वस्थताको उपचार र सेवा गर्ने कसले ? भन्ने प्रश्न उठ्छ ।
छोराछोरी र नाति-पनातिहरू हुर्कँदै जान्छन् भने ज्येष्ठ नागरिकहरू ढिलो वा चाँडो दिनप्रतिदिन शारीरिक र मानसिक रोगले गाँजिदै जानु स्वाभाविक हो । यसरी ज्येष्ठ नागरिकको निम्ति रातदिन, बिहानबेलुका छोराबुहारी तथा घरका अन्य व्यक्तिले हेरविचार गर्नुपरेको अवस्थामा देशको एकतिहाइ बालबालिका र ज्येष्ठ नागरिकहरूको निम्ति एकतिहाइ श्रमशक्ति प्रयोग हुने देखिन्छ ।
शिशुशाला र बालोद्यान तथा प्राथमिक विद्यालयको राम्रो बन्दोवस्त भए एकतिहाइ नयाँ पुस्ताको हेरचाह सजिलो बन्छ । जीवनभर देश जोगाउन र परिवार हुर्काउन श्रम गर्ने ज्येष्ठ नागरिकको उचित व्यवस्थापन गर्न साधारण परिवारलाई गार्‍हो हुन्छ तर सम्पन्न परिवारमा घरमै नोकरचाकर, नर्स र डाक्टरको बन्दोवस्त हुनसक्छ । त्यसैले, ज्येष्ठ नागरिकको निम्ति आदर निकेतनको राम्रो बन्दोवस्त हुनु आवश्यक छ ।
सीमित आम्दानीको स्रोत भएका मध्यम तथा कामदार वर्गको परिवारले आ-आफ्नो घरपरिवारका ज्येष्ठ नागरिकको हेरचाह गर्ने नर्स र चिकित्सकको व्यवस्था गर्ने अवस्था हुन्न । सरकार र स्थानीय तहले आवश्यकताअनुसार आदर निकेतनको व्यवस्था गर्नु नै राम्रो उपाय हो । यसको निम्ति ऐन नियम र तालिम एवम् बजेटको बन्दोवस्त गर्नु आवश्यक छ ।
आर्थिक सहयोग पुर्‍याउन सक्ने परिवारले आदर निकेतनलाई सहयोग गरेमा आर्थिक दायित्व पूरा गर्न सरकारलाई सजिलो हुनेछ । कृषि, उद्योग र सेवामा जीवनभर देशको निम्ति रगत र पसिना बगाउने ज्येष्ठ नागरिकलाई सिंहदरबारले महिनाको केही हजारको ॅवृद्ध भत्ता’ दिएको छ । तर, त्यो भत्ताबाट खान-लाउन, उपचार गर्न र स्याहारको बन्दोवस्त गर्न सम्भव छैन । ॅखुकुरीलाई अचानोको चोट के थाहा’ भने जस्तै सिंहदरबारको घुम्ने मेचमा बस्ने गाउँ र सहरका ठूलाबडा र समृद्ध परिवारको भलादमीलाई के थाहा हुनु ? भन्ने चर्चा जनतामा व्यापक छ ।
यस्ता सामान्य मानवीय कुरा बुझ्न विदेशी विश्वविद्यालयमा पढ्नुपर्दैन र विदेशको सहयोग पनि चाहिन्न । खाली पीडित जनताको दैनिकीबारे सोच्ने मन र मस्तिष्कको खाँचो छ ।
भित्री हृदयदेखि नेपाली जनताको श्रममा विश्वास गरेमा मात्रै बिहान उठेदेखि राती नसुतेसम्म र शिशुकालदेखि अवकाशको समयसम्म विदेशी सहयोग थाप्ने हाम्रो मानसिकता त्याग्न सकिन्छ । हामीले हाम्रो राष्ट्रिय झन्डा (चन्द्र र सूर्य) लाई भीक्षापात्र बनाउनु आवश्यक छैन । सर्त एउटै छ, भ्रष्टाचारको विरोध गरौँ, भ्रष्टाचारबाट चुहिने रकमको छिद्रहरू टालौँ र सरकारको कर चुहिन नदेऔँ, तस्करी, कालाबजारी र व्यापारीहरूबाट हुने कृत्रिम मूल्यवृद्धि तथा सरकारमा दाखिला हुनुपर्ने भ्याटमाथि निगरानी बढाऔँ ! अनि, ज्येष्ठ नागरिकहरूको सेवाको निम्ति विदेशीसँग ॅभिक्षा’ माग्नुपर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *