भर्खरै :

अझै बनिसकेनन् चाँगुनारायण वरपरका सत्तल

भक्तपुर, १० असार । पुरातत्व विभागको अलमलका कारण विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर वरपरको सत्तल निर्माण अवधि लम्बिँदै गएको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको मन्दिर वरपरको सत्तलको पुनःनिर्माण २०७५ चैत २२ बाट सुरु भएको थियो । तर, अझै सत्तलको आधा काम पनि पूरा भएको छैन ।
वर्षाले क्षय हुनसक्ने काठलगायत निर्माण सामग्री मन्दिर परिसरमा असरल्ल राखिएको छ । साढे दुई वर्षको अवधिमा भर्खर झन्डै आधा काम हुँदै गरेको सत्तल वर्षाबाट जोगाउन कुनै बन्दोबस्त नहुँदा निर्माण कमसल हुने देखिएको छ । “त्रिपालले छोप्नुपर्ने हो, तर त्यसो गरिएको छैन”, चाँगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुभयो ।

निर्माण कार्य लम्बिनुमा पुरातत्व विभागकै दोष देख्नुहुन्छ–पुजारी राजोपाध्याय । “पुरातत्व विभागले बनाएको नक्सा यहाँको स्थलगत अवस्थासँग मिल्दैन । अनि ठेकेदारले बनाइसकेको सत्तलको भाग पनि पटक – पटक भत्काउँदै, बनाउँदै गरिएको छ । व्यक्तिको घर बनाउँदा नक्सामा दुई इन्च नमिल्दा फाइल अघि बढ्दैन । अनि सम्पदा पुनःनिर्माणको निम्ति के ठीक ढङ्गले नक्सा बनाउनु पर्दैन ?”, उहाँले भन्नुभयो ।
मन्दिरको मूलद्वारसामुको पुजारी बस्ने सत्तल पनि भूकम्पले पूर्ण क्षति भएको छ । तर, सुरुमै बनाउने भनिएको सो सत्तल भने सबभन्दा पछि बन्ने भएको छ । “पुजारी बस्ने सत्तल सुरुमा बनाउने मौखिक सहमति भएको थियो । तर, अहिले अरू सत्तल बन्दै छ । पुजारीको सत्तल सबभन्दा ढिलोमात्र बन्ने भएको छ”, पुजारीले भन्नुभयो ।पुजारी बस्ने सत्तलबाहेक मन्दिरको मूलद्वारअघि रहेको पूर्वाभिमुख सत्तलदेखि उत्तरमा रहेको दक्षिणाभिमुख सत्तल र पूर्वमा रहेको पश्चिमाभिमुख सत्तल (सबै जोडिएको) सबै एकैचोटि भत्काएर बनाउन थालेकोले पनि पुनःनिर्माण कार्यमा विलम्ब भएको हो ।
खण्ड खण्डमा विभाजन नगरी पूरै सत्तल एकैचोटि भत्काएर एकैचोटि बनाउन खोज्दा कुनै पनि भागले पूर्णता पाएको छैन । एकैचोटि पूरै सत्तल बनाउन भनी पुरानो संरचना भत्काउँदै मन्दिर परिसरबाट पुरातात्विक र धार्मिक महत्वका केही मूर्तिहरूसमेत हराएको पुजारी राजोपाध्यायले बताउनुभयो । हराएको एउटा मूर्ति स्थानीयले भेटाएर ल्याई अहिले सत्तलमा प्रतिस्थापन गरिएको पनि उहाँले बताउनुभयो ।
विभागले बनाएको नक्साअनुसार सत्तल बनाउँदा साविकस्वरुपमा परिवर्तन भएको छ । पहिलेको साविक सत्तलमा झ्याल रहेको ठाउँमा अहिले ढोका बनाइएको छ । यसरी सम्पदा पुनःनिर्माणमा साविकस्वरुप बदल्नु नियमविपरीत हुन्छ ।
ऐतिहासिक मन्दिर वरपरको सत्तल पुनः निर्माणको लागि पुरातत्व विभागले स्थलगत कार्यालय नै स्थापना गर्ने निर्णय गरेको थियो । तर, निर्माण कार्य सुरु भएको झन्डै साढे दुई वर्ष बितिसक्दा पनि त्यस्तो कुनै कार्यालय स्थापना भएको छै्रन । बरु ठेकेदारले पनि पेटी ठेकेदारलाई काम लगाउँदा पुनःनिर्माण कार्यमा थप अन्योल र जिम्मेवारीविहीनता बढेको छ ।

संरक्षणको अभावमा ऐतिहासिक शिलालेख
नेपालमै सबभन्दा पुराना शिलालेखमध्येमा पर्ने चाँगुनारायण मन्दिरको शिलालेखलगायत त्यहाँका अन्य प्राचीन सम्पदा उचित संरक्षणको प्रतिक्षामा छन् । लिच्छविकालीन राजा हरिदत्त बर्माले बनाउन लगाएको मन्दिरमा मानदेवकालीन ऐतिहासिक शिलालेख र मल्लकालीन अभिलेखहरूको उचित संरक्षण हुन सकेको छैन । कतिपय शिलालेखहरूमा ढुङ्गे पत्र उप्किएर पढ्न नसकिने अवस्थामा पुगेको छ । वर्षा र घामबाट हुने क्षय रोक्न कुनै व्यवस्था हुन सकेको छैन । हजारौँ वर्ष पुराना प्रस्तर मूर्तिहरूमा भक्तजनहरूले रसायनयुक्त अबिर र धुप बत्ती बाल्दा तिनको आकृति बिग्रँदै गएको छ ।

“भक्तजनहरूले मनपरी धुप बत्ती बाल्ने र अबिर छर्किंदा मूर्ति र अन्य ढुङ्गाका आकृति मैलो र मौलिक स्वरुप नै बिग्रिँदै गएको छ”, पुजारी राजोपाध्यायले दुःखेसो पोख्नुभयो ।
चाँगुनारायणको ऐतिहासिकतालाई ध्यानमा राखी सरकारी निकायले अलगै विकास समिति वा कोष स्थापना गरी समग्र चाँगुनारायण क्षेत्रको संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।
“त्यसो गर्नसकेमात्र मन्दिर, वरपरका मन्दिरसँग जोडिएका अन्य सांस्कृतिक सम्पदा, चाँगुनारायण बस्ती र इतिहासको संरक्षण हुनेछ । नेपालको इतिहासमा चाँगुनारायणको आफ्नै महत्व छ”, राजोपाध्यायले भन्नुभयो ।

दोस्रो शताब्दी (३२३ ईस्वी संवत्) मै बनेको चाँगुनारायणको मन्दिर ई. सं १७०२ मा पुनःनिर्माण गरी हालको स्वरुपमा बनाइएको इतिहासकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *