भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
सत्तारूढ राजनीतिक दल र सरकारले सही दिशा निर्देश गर्न नसक्दा र प्रमुख प्रतिपक्ष दलहरू पनि सत्ताको होडबाजीमा लागेको कारण देशको राजनीतिक स्थिति अन्योल र अस्थिर बनेको छ । सरकार ढाल्ने, टिकाउने प्रयास, छिनछिनमा मन्त्रिपरिषद् विस्तार र विघटन, छिनछिनमा भइरहेको प्रदेश सरकारको हेरफेर, एउटै पार्टीको एक अध्यक्षले अर्को अध्यक्षमाथिको कारबाही, आ–आफ्नो अध्यक्षको गुटलाई वैध मान्ने आदि राजनीतिक दृश्यले ती दलका नेताहरू देश र जनताप्रति समर्पित नभएको र देश र जनताको सेवाभन्दा दलगत र व्यक्तिगत स्वार्थमा लागेको छर्लङ्ग हुन्छ । सरकारी दलभित्र गुट उपगुट देखिनु, गुट उपगुटभित्रको राजनीतिक विवाद चरमोत्कर्षमा पुगेर फूटको सँघारमा पुग्नु, एउटा गुटको पक्षले अर्को गुटको पक्षलाई कारबाही गर्नु, एकले अर्कोलाई कम्युनिस्टविरोधी देख्नु र फेरि मिल्ने सर्तमा कारबाहीको निर्णय फिर्ता लिनेजस्ता लाजमर्र्दाे राजनीतिको परिदृश्य नै देशको केन्द्रबिन्दु जस्तै बनिरहेको छ ।
‘सरकारको निर्णय धमाधम अवैध ठहर’, ‘ओलीले सङ्कट निम्ताए : विपक्षी’, ‘सर्वोच्च आदेशले ओलीलाई झट्का’, ‘फैसला अप्रत्यासित : एमाले’, स्वेच्छाचारी यात्रामा अङ्कुश’, ‘मुलुक गम्भीर सङ्कटमा’, ‘अभिमानको होइन, संविधानको शासन’, ‘निवास छाडिहाल्नुपदैन समाधान खोजिन्छ,’ आदि विभिन्न पत्रिकाका ‘शीर्षक’ ले पनि देशको वर्तमान स्थिति कस्तो रहेछ भन्ने बोध गराउँछ । कोरोना भाइरस रोकथामको लागि आवश्यक खोप सरकारले दिन सकेको छैन । बाढी पहिरोले ठुलो धनजनको क्षति भइरहेको छ । त्यस समस्याको समाधान गर्नुभन्दा देशका ठुलठुला दलका नेताहरू जनताको समस्या र देशको समाधानको उपाय छोडेर सत्तामुखी राजनीतिमा हामफालेका छन् । यो देशकै विडम्बनाको विषय बनेको छ । ठुला दलहरूकै कारण आफ्नो दल र देशकै इज्जत गुमाइरहेको छ । ती दलका नेताहरूको चालामाला त चराको धोती हुँदैन, नकच्चरोको लाज हुँदैन भनेजस्तै भइरहेको छ ।
देशको राजनीतिमा भाँडभैलो भइरहेको बेला, ठुला दलका नेताहरू सिद्धान्त र विचारबाट चिप्लिएर काखापाखा लागिरहेको बेला कहिले नागरिकता अध्यादेश त कहिले गिट्टि, ढुङ्गा अरूको वशमा छोड्ने नीति ल्याएर सरकारले किन द्वन्द्व निम्त्याउने बाटो खनिरहेको हो भन्ने प्रश्न सर्वत्र उठिरहेको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका नेताहरूको छिनछिनमा फेर्ने राजनीतिको चर्तिकला देखेर छिमेकी र अन्य देशहरू नै चकित छन् । अरू देशका राष्ट्रप्रमुखहरूले देशमा के भइरहेको हो भेउ पाउन सकिरहेका छैनन् । देशको राजनीति यसरी भद्रगोल भइरहेको छ कि कहिले के हुन्छ भन्न सकिने स्थिति छैन । देशको जिम्मेवारी बोकेका सत्तारुढ र प्रतिपक्ष दलका नेताहरू यति नीच किन हुन्छन्, आ–आफ्नो इज्जत र व्यक्तित्वमा दाग लाग्ने काम किन गर्छन् भनी जताततै बहसको विषय बनिरहेको छ । के अब निर्वाचन नहुञ्जेल देशको राजनीति यस्तै भाँडभैलोमा मच्चिरहने हो ? राजनीतिमा लागेर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने, कार्यकर्ता पोस्ने, विकास योजनाको रकम झ्वाइँ पार्ने कार्यले देश ऋणमा डुबेको छ । विदेशी सहयोग र ऋणको भरमा चल्ने यो देश कसरी आत्मनिर्भर मुलुक हुन्छ ? आज तिनै दलका नेताहरू आफूलाई जनसेवक, देशभक्त, विकासवादी ठान्छन् र जनतासामु बखान गर्छन् । यो पाराले देश समृद्ध बन्दैन ।
Leave a Reply