नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
क्रान्तिकारी गुण भएका राजनीतिक कार्यकर्ताहरू कठिनाइदेखि डराउँदैनन्, दुःख कष्ट, चुनौतीबाट पछि हट्दैनन् । उनीहरू समाज परिवर्तनका लागि पुरानो समाजका खराब प्रवृत्ति, अवशेष हटाउन र समाज सुहाउँदो पाइला चाल्न सक्रिय हुन्छन् । पुरानो समाजका खराब या कमी कमजोरी हटाउन, नयाँ समाजको संरचना तयार गर्न अन्धविश्वास र कुरीतिलाई संस्कारको रूपमा अघि बढिरहेका नागरिकहरूको विचार परिवर्तन गराउन त्यति सजिलो छैन । उनीहरूमा पनि क्रान्तिकारी गुणहरूको विकास गर्न समाज परिवर्तनका पक्षधर राजनीतिक कार्यकर्ताहरू समाजभित्र रहेरै निरन्तर काम गरिरहनुपर्ने हुन्छ, सम्झाइरहनुपर्ने हुन्छ । जब समाजका नागरिकहरू राजनीतिक, वैचारिक र सांस्कृतिकरूपले सचेत र सङ्गठित हुन्छन् तब टोल, गाउँ ठाउँमा व्याप्त अन्धविश्वासका क्रियाकलापहरू पनि हट्दै जानेछन् ।
अन्धविश्वास हटाउन राजनीतिक कार्यकर्ता र समाजसेवी या सामाजिक कार्यकर्ताहरूको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरू सक्रिय नभइकन, समाजमा नभिजिकन समाज परिवर्तन हुँदैन या ढिलो हुन्छ । राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्ताले एकातिर देश विदेशको राजनीतिबारे थाहा पाउनुपर्छ भने अर्काेतिर समाजमा व्याप्त कुरीति, विकृति अन्त्य गर्न टोल, चोक या आँगन फोहर हुने संस्कार सुधार्नेतर्फ अघि बढ्नुपर्छ । यस काममा राजनीतिक दलले पनि कार्यकर्ताहरूलाई समय – समयमा निर्देशन दिइरहनुपर्ने हुन्छ । राजनीतिक परिवर्तन भएपछि समाज पनि स्वाभाविकरूपमा परिवर्तन हुन्छ भनेर अघि नबढेमा समाजमा लामो समयसम्म अन्धविश्वास र कुरीतिले ठाउँ लिइरहनेछ र त्यो समाज र समाजका मानिसको चिन्तन र सोच पनि पछि नै परिरहनेछ ।
टोलमा एक दुई दर्जन राजनीतिक कार्यकर्ताहरूको सांस्कृतिक र सैद्धान्तिक स्तर उठ्दैमा समाज परिवर्तन हुँदैन । अन्य नागरिकहरूको पनि सैद्धान्तिक स्तर उठाउन कार्यकर्ताहरू खटिरहनुपर्छ । हरेक राजनीतिक कार्यकर्ताहरूले समाजको गहिरो अध्ययन गर्नुपर्छ, समाजका रीतिथिति र संस्कृति थाहा पाउनुपर्छ, बुझ्नुपर्छ । अनिमात्र त्यस रीतिथिति र संस्कृतिभित्र रहेका कुरीति, अन्धविश्वासको कुरा थाहा हुन्छ र त्यसमा सुधार गर्न सहयोग पुग्छ । राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्ताहरू समाज परिवर्तनका बाहक हुन्, जनतालाई बाटो देखाउने अगुवा हुन् । तिनीहरू निःस्वार्थी र इमानदार हुनुपर्छ । तिनीहरू कलुषित हुनुपर्छ र अवसरवादी हुनुहुँदैन । तिनीहरू व्यक्तिगत स्वार्थमा फस्नुहुँदैन । समाजसेवामा जुटिरहने कार्यकर्ताहरू निरन्तर लागिरहेमा उद्देश्य छिट्टै फत्ते हुन्छ ।
Leave a Reply