नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
हाम्रो समाज र देशझैँ विश्व पनि वर्गमा विभाजित छ । विश्वमा साम्राज्यवादी र पुँजीवादी देशहरू एकातर्फ छन् भने समाजवादी र वामपन्थी देशहरू अर्कातर्फ छन् । अहिले विश्वको द्वन्द्व विशेषगरी यिनै साम्राज्यवादी, पुँजीवादी र समाजवादी तथा वामपन्थी शक्तिहरूबीच भइरहेको हामीले देखिरहेका छौँ । साम्राज्यवादी, प्रतिक्रियावादी र पुँजीवादी शक्तिहरूले स्वतन्त्रता, न्याय, समानता र समाजवादको निम्ति सङ्घर्षरत दल, सरकार र समर्थकहरूको विरोध गरिरहेका छन्, विकासमा बाधा हाल्न अनेक षड्यन्त्र र चलखेल गरिरहेका छन् भने समाजवादी, देशभक्त र वामपन्थी पक्षधर दल, शक्ति र सरकारहरूले साम्राज्यवादी, पुँजीवादी र प्रतिक्रियावादी शक्ति र सरकारको विरोध गरिरहेका छन् । साम्राज्यवादी र प्रतिक्रियावादीहरूले आफ्नो प्रभुत्व जमाउने उद्देश्यले विश्वका वामपन्थी र प्रगतिशील जनताको स्वाधीनताको निम्ति छेडिरहेका आन्दोलन, सङ्घर्ष र आन्दोलनलाई बाधा पु¥याइरहेको सन्दर्भमा रहेर प्रजग कोरियाका नेता किम जङ इलले १९ जून १९९८ मा ‘क्रान्ति तथा निर्माणको जुछे चरित्र र राष्ट्रिय चरित्र जोगाइराख्ने’ बारे शीर्षकको एउटा कृति रचेका थिए । विश्वमा समाजवाद र साम्राज्यवादको बीचमा तीव्र मुठभेद र द्वन्द्व भइरहेको बेला स्वाधीनता र समाजवाद लक्ष्य प्राप्तिको निम्ति लेखिएको उक्त कृति आज पनि सान्दर्भिक र समसामयिक छ ।
क्रान्ति र राष्ट्र निर्माणको लागि आम जनताले आफ्नो भाग्यको मालिक आफू नै बनेर अघि बढ्नुपर्छ भन्ने सिद्धान्तमा अडिग रहेर लेखिएको उक्त कृतिको सार समाजवादको निम्ति जुछे चरित्र र राष्ट्रिय चरित्रलाई कायम गर्नुपर्छ भन्ने हो । राष्ट्रिय चरित्रलाई दमन गरियो र राष्ट्रहरूको स्वाधीनतालाई कुल्चियो भने मुलुक र राष्ट्रहरूबीच असमानता र बेमेल कायम हुन्छ । पुँजीवादको उदय र विकाससँगै पुँजीवादी व्यवस्थाको उन्मूलन भएर समाजवाद र साम्यवादको निर्माण हुने कुरा भौतिकवादी दृष्टिकोणको मान्यता हो । पुँजीवाद तथा साम्राज्यवादको विरोधमा मजदुर वर्गको अन्तर्राष्ट्रिय एकतालाई सुदृढ पार्ने, समाजवादी देशहरूबीचको सम्बन्ध र सहयोगलाई बलियो पार्नुपर्ने आजको आवश्यकता हो । मजदुर वर्गीय आन्दोलन र समाजवादी आन्दोलन अघि बढाउनुपर्ने समयको माग हो ।
आज साम्राज्यवादी र पुँजीवादी देश तथा शक्तिहरू समाजवादी देशहरू टिक्दैनन्, पतन भइसकेका छन्, अहिलेको युग र आवश्यकता पुँजीवाद हो भनी फुकिरहेका छन् । तर, यो कुरा झूट रहेछ भन्ने कुरा विश्वले बुझ्दै छ र समाजवादी देशहरूले व्यवहारबाट प्रमाणित गरिसकेका छन् । कुनै पनि साम्राज्यवादी र पुँजीवादी शक्तिले कुनै पनि प्रकारको व्यवधान नगरे, विकासको बाटोमा तगारो नहाले, नाकाबन्दी नगरे, हस्तक्षेप र आक्रमण नगरेमा समाजवादी देशहरू पुँजीवादी देशभन्दा धेरै अगाडि बढ्नेछन्, अगाडि बढिरहेका छन् । समाजवादी र वामपन्थी पक्षधरका शक्तिहरू या देशहरू अघि बढिरहेको सहन नसकेर नै आज अमेरिका, बेलायत, फ्रान्स, स्पेनजस्ता पुँजीवादी र साम्राज्यवादी पक्षधर देशहरू एकगठ हुन खोजिरहेका छन् । साम्राज्यवादी देश संरा अमेरिका चीनविरोधी क्रियाकलापमात्र होइन चीनको प्रगतिमा बाधा हाल्दै छ, व्यापार युद्ध गर्दै छ, चीनलाई घेराबन्दी राख्ने जाल बुन्दै छ । यो पनि विश्वले देखिरहेको छ । अमेरिकाले दशकौँदेखि क्युवा र प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा किन नाकाबन्दी गर्नुप¥यो ? किन समाजवादी देशका उत्पादित सामान अन्यत्र लान र अरू देशमा उत्पादित सामान त्यहाँ लान रोक लगाउनुप¥यो ? के संसारका समाजवादी, वामपन्थी शक्ति र देशहरू साम्राज्यवादी देश अमेरिका, बेलायत, फ्रान्स र स्पेनका राज्यहरू हुन् ?
राष्ट्रको विकासमा तगारो हाल्ने देश नै वास्तवमा पुँजीवादी, साम्राज्यवादी र विस्तारवादी देशहरू हुन् । प्रजग कोरियाका नेता किम जङ इलले भनेका थिए, “प्रतिक्रियावादी शोषक वर्गले पैसा कमाउनको लागि आफ्नो मुलुकको इज्जत र आस्थाको ख्यालै नगरी अरू मुलुक तथा राष्ट्रहरूलाई नोक्सान पु¥याउन पछि पर्दैनन् ।” अरू राष्ट्रहरूमाथि प्रभुत्व जमाउने र लुट मच्चाउने साम्राज्यवादी देशमा न समानता हुन्छ, न स्वतन्त्रता नै हुन्छ । त्यस्ता देशका शासकहरू अहङ्कारी हुन्छन्, शक्तिको मातमा चढेर अरू मुलुकमा हमला गर्छन्, दबाब र प्रभावमा पारेर स्वाधीन र सार्वभौम देशका राष्ट्रप्रमुखहरूलाई सत्ताच्युत गराउँछन्, अझ हत्या गराउँछन् र देशमा वितण्डा मच्चाउँछन् । संरा अमेरिकाले गरिरहेको यही हो ।
कोरियाली कम्युनिस्टहरूले आफ्नै कार्यदिशा कायम नराखेका भए, कोरियाली क्रान्तिलाई कोरियाली क्रान्तिकारीहरूले पूरा गर्नुपर्छ भनी विश्वासपूर्वक नलागेका भए आफ्नो देशलाई मुक्त पार्न सक्दैनथे । कोरियाली सरकार, कोरियाली जनता र कोरियाली सेना साम्राज्यवादी देश अगाडि नझुकिकन, नडराइकन निरन्तर लडिरहे । आफ्नो देशका जनतालाई कोरियाली पार्टी र सरकारले एकगठ गरिरहे । विदेशी शक्ति राष्ट्रहरूले विभाजित गरेको प्रजग कोरिया र दक्षिण कोरियालाई फेरि एक बनाउनेतर्फ उनीहरू निरन्तर लागिरहे । हो, जुछे समाजवाद जनतामा केन्द्रित समाजवाद हो । जुछे चरित्र र राष्ट्रिय चरित्रलाई सुदृढ पारेर आम जनतालाई मालिक ठानेर देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउँदै प्रजग कोरिया हिजोमात्र होइन आज पनि मरिमेटी लागिरहेको छ ।
मुलुकको एकीकरण गर्न, आफ्नो कार्य दिशा पूरा गर्न लागिरहेको प्रजग कोरिया आज शिक्षाको देश बनेको छ, सरसफाइको देश बनेको छ, संसारकै शक्तिशाली र सम्पन्न देश संरा अमेरिकाको अगाडि नझुक्ने देश बनेको छ । शक्तिशाली सेनालाई हाँक दिन सकिने देश प्रजग कोरिया शान्ति भए शान्ति र क्रान्ति भए क्रान्तिको निम्ति तयारी अवस्थामा रहेको छ । यसरी प्रगति गरिरहेको देश प्रजग कोरियालाई एमालेका नेताहरू मतलब राख्दैनन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले त्यहाँको शासन प्रणालीको विरोध गरे । एमालेका अध्यक्ष केपी ओलीले पनि प्रजग कोरियाको शासन प्रणालीप्रति असहमति जनाउँदै नेपाल प्रजग कोरियाजस्तो होइन भने ।
हो, प्रजग कोरिया नेपाल होइन, नेपाल प्रजग कोरिया पनि होइन । प्रजग कोरिया र नेपाल स्वाधीन र सार्वभौम सम्पन्न देश हुन् । प्रजग कोरियामा समाजवादी व्यवस्था छ । नेपालमा पनि एमाले (कम्युनिस्ट भन्ने दल) को सरकार छ । तर, यहाँ कम्युनिस्टको सिद्धान्त र विचारसित भिजेको या समाजवादी आचरणको कुनै बन्दोबस्त छैन । प्रजग कोरियामा लामो समयदेखि नाकाबन्दी छ । त्यस्तै नाकाबन्दी नेपालमा भएको भए नेपालको दुर्गति कति हुँदो हो ? अनुमानसमेत गर्न सकिँदैन । नेपाल सोमालियाभन्दा पनि धेरै पछि पर्नेछ । नेपाललाई आत्मनिर्भर बनाउन हालसम्मको कुनै पनि सरकारले दीर्घकालीन सोच राखेर काम गरिरहेको देखिँदैन । आफ्नो देशको निम्ति केही गर्न नसक्ने, विदेशको भरमा चल्ने नेपालका शासकहरूले नेपाल प्रजग कोरियाजस्तो होइन भनेर खिसी उडाउने ? अरू देशले गरेको प्रगतिबाट नेपालले शिक्षा लिनुपर्छ । तर, त्यो लिएको देखिँदैन ।
क्रान्ति र निर्माणमा नेतृत्व दिने दल र सरकारले मुलुक र जनतालाई महत्व या प्राथमिकता दिन्छन् । मुलुक र जनताकेन्द्रित सरकार र सत्तारूढ दलले छिट्टै देशको विकास गरेका हुन्छन् । चीन, क्युवा र प्रजग कोरिया यसका दृष्टान्त हुन् । समाजवादी देश या सरकारहरूले विकासमा जोड दिएका हुन्छन् भने साम्राज्यवादी र पुँजीवादी देशहरू लुट, आक्रमण, अतिक्रमणमा जुटेका हुन्छन् । अब साम्राज्यवादी देशसँग डराएर होइन, झुकेर होइन एकगठ भएर लड्ने बेला आएको छ । अरू देशमा हमला, आक्रमण, नाकाबन्दी र अतिक्रमण गर्ने देशहरूविरूद्ध एकजुट भएर संयुक्त अपिल जारी गरेर संसारसामु उदाङ्ग्याउने काम गर्नुपर्ने आएको छ । स्वतन्त्र देश र सार्वभौम देशलाई समाजवादी र वामपन्थी दलहरूका नेतृत्वमा रहेका देशहरूलाई नामेट पार्ने, देशभित्र र देशबाहिर आतङ्कित पार्ने, भिडाउने, लडाउने, शक्ति राष्ट्रहरूविरूद्ध सबै एकजुट हुनुपर्छ । त्यस्ता नीति र कार्यको सदा विरोध गरिरहनुपर्छ र एक्लो पार्नुपर्छ ।
Leave a Reply