राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
दार्चुला, १३ असार । भारतले सीमावर्ती क्षेत्रमा बलमिची बनाइरहेको सडक र एक सातासम्मको अविरल वर्षाका कारण अहिले दार्चुलादेखि व्यास गाउँपालिकाको छाङ्गरुसम्मको सम्पर्क टुटेको छ । व्यास गाउँपालिका–२ कल्जुदेखि वडा नं १ को बुदीसम्म दर्जन बढी ठाउँमा पहिरो गएर गोरेटो बाटो अवरूद्ध बनेपछि सम्पर्क टुटेको हो ।
यस क्षेत्रमा अहिलेकै अवस्थामा बाटो खुलाउन सकिने अवस्था छैन । अधिकांश ठाउँमा भारतले निर्माण गरेको सडकका कारण पहिरो गएको छ भने केही ठाउँमा महाकालीमा नदीको बहाब बढेपछि बाटो अवरूद्ध भएको छ । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–टिङ्कर सडक खण्डको व्यास गाउँपालिका—२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका टिङ्करसम्मको ८७ किमि सडक नेपाली सेनाले बनाउने जिम्मेवारी पाएको छ । यही क्षेत्रमा गत वर्ष सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा गोरेटो बाटो निर्माण तथा मर्मतसम्भार गरिएको थियो ।
भारतले चट्टान फोर्ने क्रममा आएको पहिरो तथा महाकाली नदीमा फालिएको ढुङ्गाका कारण अधिकांश क्षेत्रमा नेपालतिर पहिरो गएको छ । वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागीबगर, कल्जुलगायतका ठाउँमा बढी अवरूद्ध भएको छ । सानातिना पहिरो र नेपालतिरको गोरेटो बाटोमा दर्जनौँ बढी ठाउँमा अवरूद्ध भएको व्यास गाउँपालिका—१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ठाउँठाउँमा गोरेटो बाटोमा सयौँ मिटर बढी भाग नदीले कटान गरेको छ । कतिपय ठाउँमा बाटोको नाम निसाना नै मेटिएको छ ।”
पञ्चायतकालमै नेपालतिर बाटो निर्माण गरिएको थियो । महाकाली नदी किनारैकिनार छाङ्गरुसम्म गोरेटो बाटो बनेको थियो । नदी किनारैकिनार बाटो निर्माण गरिएको कारण भारतीय सडकबाट नदीमा ढुङ्गा थुप्रिएपछि नेपालतिरको भूगोल बढी कटानमा परेको हो । अधिकांश ठाउँमा भारतीय सडकको कारणभन्दा पनि अहिले महाकाली नदी उर्लिएर आएकाले बढी क्षति भएको बोहरा बताउनुहुन्छ । “सबै ठाउँमा भारतीय सडकको कारणले नै बाटो भत्किएको हैन”, उहाँले भन्नुभयो ।
सेनाले गत वर्ष बनाएकै घोरेटो बाटोसमेत महाकाली नदीको कटानले जोखिममा परेको छ । अध्यक्ष बोहराले भन्नुभयो, “छाङ्गरुमा नेपाल—भारत जोड्ने सीता पुलसमेत महाकाली नदी कटानको जोखिममा छ ।” महाकाली नदीले सीता पुल नजिकै रहेको भारतीय एसएसबीको चेकपोष्ट भत्काएको छ । पुलको आधा भूभाग कटान गरेको छ । सीता पुल बगायो भने, व्यासका नागरिक व्यासमै ठप्प हुने अवस्था रहेको उहाँको भनाइ छ ।
वडाध्यक्ष बोहराले भन्नुभयो, “अहिले महाकालीले भत्काउने अवस्थामा पुगेको छ । व्यासीहरूले भारतको बाटो भएर अहिले खलङ्गा आउनुपरेको छ । त्यही पुल पनि बगायो भने खलङ्गासम्म व्यासीले पुग्नसक्ने अवस्था छैन ।” अहिले पनि भारतका विभिन्न ठाउँमा सडक अवरूद्ध छ । पैदल हिडडुल गरे पनि भारतीयसँगै अनुरोध गरेर सदरमुकाम खलङ्गा र व्यासको छाङ्गरु टिङ्कर आउजाउ गर्नु परेको छ ।
भारतले घाटीबगरमा सडक चौडा बनाउने क्रममा पहाड भत्काउँदा व्यासको कल्जु क्षेत्रमा २५० मिटर बढी क्षेत्रमा क्षति पु¥याएको छ । यो क्षेत्रमा नदी किनार भएर बनाइएको पूरै घोरेटो बाटो भत्किएको छ, वडा नम्बर २ का अध्यक्ष धीरेन्द्र बुढाथोकीले बताउनुभयोे । यो ठाउँमा थोरै बजेटले बाटो खुलाउन सकिने अवस्था पनि छैन । त्यो भन्दा माथिल्लो तम्बाकु भिरलगायतका क्षेत्रमा पूरै बाटो भत्किएको उहाँको भनाइ छ ।
भारतले व्यासको दुम्लीङभन्दा माथिल्लो क्षेत्रमा विगतमा सडक निर्माणको लागि नदीको प्राकृतिक धार परिवर्तन गराउँदै आएको थियो । कैयौँ पटक डोजर, स्काभेटर महाकाली नदीमार्फत नेपाल प्रवेश गराउँदै आफ्नो भूमिमा सडक निर्माण गरेको हो । विगतदेखि नै महाकाली नदीको बहाब अवरूद्ध पार्दा नेपालतिर सडक अवरूद्ध हुने गरेको थियो ।
माल्पाभन्दा तल्लो क्षेत्रमा सडक निर्माणको क्रममा महाकाली नदी थुनिएको थियो । त्यही क्षेत्रको नदी फुटेर पनि बढी पहिरो गएको दुम्लीङस्थित सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले केही दिनअघि मात्रै नेपालको बाटो भएर माल्पासम्मको बाटोको अवस्थाबारे निरीक्षण गरेको थियो । सो क्रममा अधिकांश क्षेत्रमा भारतीय सडक निर्माणको क्रममा सीधै ठूलाठूला चट्टानहरू नदीमा फालिएकोले नदीको बहाब नेपालतिर सोझिन गएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस क्षेत्रमा नेपाली सेनाले आगामी आर्थिक वर्षबाट सडक निर्माण कार्य सुरू गर्ने तयारी गरेको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सडक निर्माणको लागि व्यास गाउँपालिकाको दुम्लीङ र सुनसेरामा नेपाली सेनाको विकास दलका दुई वटा क्याम्प राखिएको जानकारी दिनुभयो । उहाँले सडकको डीपीआर निर्माण सकिने बित्तिकै निर्माण कार्य अघि बढ्ने जनाउनुभयो ।
विसं २०७७ वैशाख १४ को मन्त्रिपरिषद् बैठकले व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ८७ किमि सडकको ट्रयाक खोल्न सेनालाई जिम्मा दिएको थियो । कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा बैतडी हुँदै दार्चुला–खलङ्गा हुँदै टिङ्कर जोड्ने महाकाली राजमार्गको ४२५ किमि लम्बाइ छ । यसमध्ये खलङ्गाबाट कोठेधारसम्म सडक महाकाली लोकमार्ग दार्चुला टिङ्कर सडकले नै निर्माण गर्ने आयोजना प्रमुख अच्युतविलास पन्तले बताउनुभयो । पन्तले भन्नुभयो, “अहिलेसम्म ४३ किमि सडकको ट्रयाक खुलाएका छौँ ।” रासस
Leave a Reply