भर्खरै :

निर्वाचन नै समाधान

कुनै बेला केपी शर्मा ओली राष्ट्रवादी अडान लिने नेताका रूपमा चिनिन्थे । अलि पछि गफाडी नेताका रूपमा चिनिन थाले । माओवादी पार्टीको अस्तित्व बचाउने गरी दुईवटा कम्युनिस्ट पार्टीको एकता गराउन राजी भएका बेला ‘मिलनसार र उद्धारक नेता’ का रूपमा पनि चिनिए । पछिल्लो आम चुनावको परिणामस्वरूप उनको नेतृत्वमा सरकार चलेको पनि साढे तीन वर्ष भयो । दुईतिहाइ नजिकको सरकार हुँदा पनि यो सरकारले जनअपेक्षाअनुरूप काम गर्न सकेन । बरू, बिस्तारै भ्रष्टाचार र स्वेच्छाचारितालाई दैनिकी बनाउन थाल्यो । सुरुसुरुमा भ्रष्टाचारका एकदुईवटा काण्ड हुँदासम्म त पार्टी सदस्य वा कार्यकर्ताका नाताले केपी शर्मा ओलीलाई उनका प्रशंसकहरू, ‘सपना देख्ने दह्रा र आँटिला नेता’ भनेर स्तुति गाउँदै थिए । काण्डहरू क्रमशः बोलीमै र वाक्यैपिच्छे अति हुँदै गएपछि भने उनीहरू पनि मौन देखिन थालेका छन् । भनाइमा आफूलाई ‘भ्रष्टाचार नसहने’ र बुद्धकै महान् चेला भएजसरी बताइरहे पनि व्यवहारमा भने उनका पालामा यसबीचमा अनेक काण्ड, अपचलन, भ्रष्टाचार, बार्गेनिङ, सेटिङ इत्यादि छताछुल्ल भइरहे, छ्याङ्ग देखिइरहे । अपसोच दोषीहरूमध्ये कसैमाथि पनि कारबाही नभएर कानुनीराजको उपहास गर्ने काम भइरह्यो । उल्टो, आरोपीलाई जोगाउने र काखी च्याप्ने काम पो भयो ¤ तर पनि, बेलाबखत सदाचार, सुशासनका कुरा गर्न छाडिएन । यसो भएपछि त भक्तिभावका साथ एमालेमा लागेकाहरूलाई पनि दिक्क लाग्न थालेको हुनुपर्छ । खासगरी सत्ता टिकाउने उपायका रूपमा ल्याइएका बगे्रल्ती अध्यादेशहरू विवादित र राष्ट्रघाती देखिए । सत्ताको भाग नमिलेपछि सत्ताधारी पार्टीभित्रै भएको गालीगलौज, शक्ति प्रदर्शन, आरोपप्रत्यारोपको शृङ्खला पनि घीनलाग्दो गरी निकै लम्बियो । लेख्नेले धेरैपटक लेखेर नङ्ग्याए । बोल्नेले विभिन्न मञ्चमा सकेसम्म बोले तर थेत्तरा र नकच्चरासँग कसैको केही लाग्दोरहेनछ । खासमा त नेपाल–खनाल पक्षको ढुलमुले प्रवृत्तिले पनि संस्थापन पक्षलाई फाइदै पु¥यायो ।
पछिल्लो समयमा बीस मन्त्रीको पद गुम्ने गरी भएको फैसलासहित सरकारले अध्यादेशमार्फत गरेका सातवटा निर्णयलाई सर्वोच्चले उल्ट्याइदियो र पनि प्रधानमन्त्रीले मन्त्रीहरूलाई तत्काल ‘निवास नछाड्न र झन्डा छोपेर गाडीको प्रयोग गर्न’ सल्लाह दिन भ्याइहाले । संसद् विघटनविरुद्धको मुद्दामा बहस भइरहेको छ । त्यो भोलि गएर सदर होस् या बदर–नेतृत्वमा आउने पात्र परिचितै हुनेछन् र प्रवृत्ति पुरानै हुनेछ । लोककथामा दुई राक्षसले एक बालकलाई बीचमा सुताएर, ‘बाजेले टोकेछन् यता आऊ’, ‘बज्यैले टोकिछिन्, यता आऊ’ भन्दै दुवैले पालैपालो बालकको शरीरको मासु चोक्टाचोक्टा टोकेर दुःख दिईदिई खाइसिध्याएका थिए रे ! यहाँ हाम्रो देशमा पनि काङ्ग्रेस–‘कम्युनिस्ट’ को पारा त्यही भइरहेको छ । अहिले ओलीको पालामा बढ्ता भएको मात्र हो । त्यसैले भोलिका दिनमा ओलीको ठाउँमा देउवा, प्रचण्ड, माधव वा अर्को कोही आए पनि परिणाम उही हो ।
खासमा भन्नुपर्दा, यो सरकार र शासकहरूको बहुलट्ठीपूर्ण र संविधानविरोधी क्रियाकलापका कारणले गर्दा देशमा दलीय व्यवस्थाकै बदनाम भयो । बिस्तारै देशै ‘असफल राष्ट्र’ को चरणतर्फ गएको यो बेलामा विदेशी तत्वहरूले आँखा उठाउन थालेका छन् । त्यसैले, दलीय लोकप्रियता हराएको यो बेलामा चुनावी सरकारको नेतृत्व गर्न जुन दलले पाउँछ उसले जित्नका लागि अनेक हत्कण्डा प्रयोग गरेर झन भाँडभैलो हुन बेर छैन । त्यसैले गर्नैपर्ने चुनावका लागि अब सर्वदलीय सहमति बनाएर यथाशीघ्र चुनावी सरकार बनाएर चुनाव सम्पन्न गराउनेतर्फ नागरिक समाजको दबाब आउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *